detail-img

एमाले जनताको तागतमा बाँचेको पार्टीः बरिष्ठ उपाध्यक्ष पोखरेल 

धनुषामा विभिन्न दल परित्याग गरी एकहजारभन्दा बढी एमालेमा प्रवेश 
१६ वैशाख (२०८१) । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले जनताको तागतमा बाँचेको पार्टी भएकाले पार्टी विरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण हुँदा पनि अहिलेको अवस्थामा रहेको वताउनुभएको छ । 
नेकपा (एमाले) धनुषा क्षेत्र नंं. २ (क) मुडिवा टोलमा शनिबार आयोजित पार्टी प्रवेश तथा वृहत््सभालाई सम्वोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनु भएको हो । 
कार्यक्रममा कांग्रेस, माओवादी, नेकपा समाजवादी लगायत दल परित्याग गरी एकहजार भन्दा बढी एमालेमा प्रवेश गरेका थिए ।
जनताको हितमा काम गर्ने एकमात्र पार्टी नेकपा (एमाले) भएकाले यसलाई जनताले पनि माया र विश्वास गर्ने गरेको स्मरण गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ को निर्वाचनमा बहुमतसहितको निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो । 
नेकपा (एमाले) सबै भूगोल, क्षेत्र, जातीय तथा धार्मिक समुदायको पार्टी भएको र जनताको तागतमा बाँचेको पार्टी भएकैले यसलाई सकाउन चौतर्फी हमला हुँदा पनि नसकेको उहाँले बताउनुभयो । 
नेकपा (एमाले) गौरवपूर्ण इतिहासमा मधेशको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेलाई आगामी निर्वाचनमा स्थानीय तह, प्रदेश र केन्द्रमा बहुमतसहितको ठूलो पार्टी बनाउन पनि मधेशका जनताको योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।  
अहिले एमाले ठूलो पार्टी भए पनि तीनवटै तहको एकल नेतृत्व गर्ने अवस्थामा नरहेको भन्दै एमालेले एकल बहुमतसहित सरकार चलाएको अवस्थामा देश विकासको अभियान ठीक ढङ्गले अघि बढ्न सक्ने उहाँले बताउनुभयो ।   
बरिष्ठ उपाध्यक्ष पोखरेलले विगतमा पार्टी सरकारमा रहेको समयमा गरिएका विकासका कामको चर्चा गर्दै भन्नुभयो– हुलाकी राजमार्ग होस् या तराई–मधेशमा सिँचाइका लागि सुनकोशी–मरिन डाइभर्सन, तराई मधेशमा गरेको जनता आवास कार्यक्रम होस् या रेलमार्ग यी सबै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला भएका हुन् । 
उहाँले पार्टी निर्माणको विगत स्मरण गराउँदै कोअर्डिनेश केन्द्र, माले हुँदै नेकपा (एमाले)को स्थापनामा धनुषावासीको अतुलनीय योगदान रहेको बताउनुभयो । 
धनुषा जिल्ला र मुडिवा क्षेत्रका जनताको योगदान नभएको भए नेकपा (एमाले) यति शक्तिशाली हुने थिएन’ चर्चा गर्दै उहाँले अहिलेको नेकपा (एमाले) यहाँका जनताको विश्वास, पार्टीप्रतिको समर्पणका आधारमा बनेको हो भन्नुभयो । 
पार्टी संगठन निर्माणको सुरुवाती दिनमा आफूले यही क्षेत्रमा भूमिगत बसेर काम गरेको स्मरण गराउँदै बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो – त्यतिबेला हामीलाई आश्रय, सुरक्षा दिने र पार्टी बचाउने खम्वाहरू जगदेव गोइवार, सोखीलाल मण्डल, रामअवतार मण्डल, जितन दासहरू हुनुहुन्थ्यो । यहाँका जनताको एमालेप्रतिको माया र उत्साहबाट हामी खुशी छौँ ।
२०८४को निर्वाचनपछि मधेशको मुख्यमन्त्री एमालेको हुने सन्देशका साथ काम गर्नुपर्ने 
पार्टीका सचिव एवं मधेस प्रदेशका इञ्चार्ज योगेश भट्राईले सबैको सुदृढ एकताबाट देशलाई गरिवी, अशिक्षा, पछौटेपनबाट मुक्त गराउनुपर्ने बताउँदै एमालेको यही उद्देश्य रहेको स्पष्ट गर्नुभयो । 
‘खाडीको धूपमा पसिना बगाउने दाजुभाइलाई स्वदेशमै पसिना बगाउने, देशभित्रै श्रम गर्ने, आत्मसम्मानका साथ नेपाली हुँ भनेर गर्व गर्ने अभियानमा हामी सबै एकतावद्ध भएर लाग्नुपर्ने छ,’ चर्चा गर्दै सचिव भट्टराईले भन्नुभयो– अहिले पनि नेकपा (एमाले) सरकारमा छ । तर, हामीले सरकारको नेतृत्व गर्न पाएका छैनौँ । मधेसको सरकारमा हामी छौँ । तर, मुख्यमन्त्री हामीसँग छैन । त्यसैले हामीले जनताले चाहेको जस्तो काम गर्न पाएका छैनौँ । २०८४ को निर्वाचनका सन्दर्भमा नेकपा (एमाले)को एउटै सङ्कल्प छ, यो देशको प्रधानमन्त्री नेकपा (एमाले)को हुने छ । मधेसको मुख्यमन्त्री नेकपा (एमाले)को हुने छ । हामीले त्यो सन्देश गाउँगाउँमा लैजानुपर्ने छ । त्यस लक्ष्यका साथ काम गर्नुपर्ने छ । 
कार्यक्रममा पोलिटव्युरो सदस्य लिलानाथ श्रेष्ठ र जुलीकुमारी महतोले पनि आगामी निर्वाचनमा केन्द्र र प्रदेशमा बहुमतसहित नेतृत्व गर्ने र  स्थानीय तहमा शक्तिशाली हुने गरी काम गर्ने मिशनसहित एमाले लागेको बताउनुभयो ।