detail-img

केन्द्रीय सचिवालयको ३१औं बैठक सम्पन्न

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको ३१औं बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्यो । 
बैठकमा अध्यक्ष ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिको सङ्क्षिप्त विवेचना गर्दै सरकारले गरिरहेका कामका बारेमा महत्वपूर्ण जानकारी गराउनुभयो ।


बैठकले आसन्न महाधिवेशन प्रतिनिधि परिषद् बैठकलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने प्रक्रिया निर्धारण गरेको छ । बैठकमा यही वैशाख ८ र ९ गते ललिलपुरको गोदावरीमा आयोजना हुने परिषद्को बैठकमा पार्टी अध्यक्षद्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, महासचिवद्वारा प्रस्तुत गरिने सांगठानिक प्रतिवेदन, केन्द्रीय निकायहरू क्रमशः अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्बाट प्रस्तुत हुने प्रतिवेदनहरूका सारसङ्क्षेप प्रस्तुत भएका छन् । 
दशौं राष्ट्रिय महाधिवेशन पछिको सबैभन्दा ठूलो मञ्चका रूपमा रहेको यो परिषद्को प्रथम बैठक र यसले लिने निर्णयहरूलाई महत्वका साथ लिइएकोे छ । यस बैठकले पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा विकसित गर्ने छ । 
परिषद् बैठकमा दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू, केन्द्रीय निकाय र सल्लाहकार परिषदका सदस्यहरूका साथै दशौं महाधिवेशनपछि केन्द्रीय कमिटीमा मनोनित हुनुभएका सदस्यहरू गरी करिब २५ सय प्रतिनिधिको सहभागिता रहनेछ ।