detail-img

अब विकासको कामले गति लिनेछः अध्यक्ष ओली 

बुढानीलकण्ठ नगर अस्पताल उद्घाटन 
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुढानीलकण्ठ नगर अस्पतालको उद्घाटन गर्नुभएको छ । 
आज बुढानीलकण्ठमा आयोजित अस्पताल उद्घाटन तथा नयाँबर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा एमालेसहितको सरकार बनेकाले अब विकासको कामले गति लिने बताउनुभयो । 
अहिले नेपालमा केही हुँदैन भन्दै गलत प्रचार भइरहेको तर  धेरै काम भइरहेका र गर्न सकिने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले अब देशको ओरालो लागेको यात्रा पनि रोकिने छ भन्नुभयो । 
उहाँले संविधान र परिवर्तन नमान्ने समूह विकास र देश विरोधी भएको बताउनुभयो ।   
राजा चाहियो भन्नेहरूलाई घरमा राजा थापना गर्न सुझाव दिँदै अध्यक्ष ओलीले भन्नुभयो– मलाई एउटा मालिक चाहियो भनेर कुद्नेहरूले त्यो मालिकको थापना घरमा गर्दै गर्नू, देशले व्यक्तिलाई मालिक थापना गर्दैन, नागरिक सर्वोच्चतालाई मान्छ, जनतामा रहेको सार्वभौमसत्तालाई मान्छ । 
उहाँले अहिले संवैधानिक प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट नै कुनै पनि समस्या सम्बोधन हुने स्पष्ट पार्नुभयो । 
अध्यक्ष ओलीले कोभिडले स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्छ भन्ने आँखा खोलिदिएको र मुलुकको स्वास्थ्यको स्थिति विगतको भन्दा केही सुध्रिएको बताउनुभयो । 
यातायात र स्वास्थ्य एक आपसमा जोडिएका विषय भएको बताउँदै यातायात समयमा नपुग्दा मानिसको ज्यान जाने अवस्था हुने भएकाले आफू प्रधानमन्त्री हुँदा अस्पताल र सडकका काम एकैसाथ सुरु गरेको उहाँले स्मरण गराउनुभयो ।
कोभिडको बेलामा स्वास्थ्य क्षेत्र सुधारको लागि आफूले धेरै काम गरेको र नागरिकमा विश्वास जगाउने काम गरेको उहाँले स्मरण गराउनुभयो ।  
अध्यक्ष ओलीले अब नेपालका कुनै पनि जिल्लालाई दुर्गम हुन नदिने बताउँदै पक्की सडकले जोड्न बाँकी हुम्ला जिल्लाको सदरमुकामसम्म अविलम्ब सडक जोडिने छ भन्नुभयो ।