detail-img

अस्थिर मनोविज्ञानले राष्ट्र निर्माणको काम पूरा हुन सक्दैनः महासचिव पोखरेल 

ललितपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अस्थिर मनोविज्ञानले राष्ट्र निर्माणको काम पूरा हुन नसक्ने बताउनुभएको छ । नेकपा (एमाले) ललितपुरको नवनिर्वाचित जिल्ला कमिटीको शपथग्रहण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्र निर्माणको लागि स्थिर र बलियो राजनीतिक शक्ति आवश्यक रहेको बताउनुभयो । 
उहाँले अहिले पुराना असफल भए नयाँलाई रोज्नु पर्दछ भन्ने गलत भाष्य नेपाली समाजमा खडा गर्ने प्रयत्न भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 
चिन्दै नचिनेका, जनताको जीवनसँग नजोडिएका, कुनै त्याग र समर्पण नभएका मानिसहरू रातारात सेलिब्रेटी बनेर गएको निर्वाचनमा निर्वाचित भएको महासचिव पोखरेलले बताउनुभयो । 
यो सबै निराशा र कुण्ठाको परिणाम भएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– निराशा र कुण्ठाले समाजलाई सही बाटो दिन सक्दैन, समाजलाई सही बाटोमा डोर्याउनु जिम्मेवार राजनीतिक दल र तिनका नेता कार्यकर्ताको कर्तव्य हो । 
नेतृत्व र नेताको विकल्प पुराना र जिम्मेवार पार्टीभित्रै खोज्नुपर्ने र त्यसले मात्र राजनीतिक स्थायित्व दिने र देशले प्रगति गर्ने धारणा उहाँले राख्नुभयो । 
मुलुकमा नयाँ र पुराना दलको कुरा गरेर राजनीतिक अस्थिरता कायम गर्ने काम मात्र भएको बताउँदै त्यसैले अब नयाँ होइन बलिया राजनीतिक दल निर्माणको काममा अघि बढ्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो । 
उहाँले भन्नुभयो– देशलाई अस्थिरताको प्रयोगशाला नबनाऊँ, स्थिरतातर्फ लिएर जाऊँ ।  
देशको इतिहासलाई बुझेको, नेपाली समाजलाई विश्लेषण गर्न सक्ने र स्पष्ट राजनीतिक दृष्टिकोण भएको नेता अहिले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बाहेक कोही नभएको महासचिव पोखरेलले बताउनुभयो । समाज बदल्न सक्ने नेतृत्व नेकपा (एमाले)सँग भएकाले जनता अलमलिन नहुने उहाँले स्पष्ट पार्नुभयो । 
महासचिव पोखरेलले पार्टीभित्र लोकतान्त्रिक संस्कृति विकास गर्नुपर्ने र त्यसले मात्र पार्टीलाई जनताको बिचमा स्थापित गराउनसक्ने बताउनुभयो । 
आन्तरिक प्रतिस्पर्धालाई हार र जीतको रूपमा लिन नहुने र  आन्तरिक प्रतिस्पर्धालाई सधैँ जितमा पुर्याएर टुङ्ग्याउनुपर्ने बताउँदै महासचिव पोखरेलले भन्नुभयो– यसलाई निश्चित समयका लागि जिम्मेवारी प्रदान गरेको विषयका रूपमा बुझ्नु पर्दछ, मिलेर पार्टी निर्माणको काममा जुट्नुपर्दछ । 
आन्तरिक लोकतन्त्रको उद्देश्य एकता निर्माण गर्ने नै भएको र यसले उन्नत संस्कार निर्माणमा सहयोग गर्ने उहाँले स्पष्ट पार्नुभयो । 
गठबन्धन सरकारका कारण मुलुक रसातलमा भासिने अवस्था आएपछि एमाले अस्वाभाविक सत्ता गठबन्धन भत्काउने काममा लागेको र त्यसैको परिणाम अहिले नयाँ शक्ति सम्मिलित नयाँ समीकरण बनेको उहाँले बताउनुभयो ।