detail-img

समाजका हरेक क्षेत्रमा इमान्दारीको सङ्कटः उपमहासचिव रिमाल  

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले नेपालको सबै क्षेत्रमा इमान्दारिताको सङ्कट परेको बताउनुभएको छ । 
नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारण सभालाई बुधबार सम्बोधन गर्दै रिमालले राजनीतिक, सामाजिक, निजी, सामुदायिक सबै क्षेत्रमा इमान्दारिताको खाँचो परेको बताउनुभयो । 
उहाँले भन्नुभयो– इमान्दारिता अहिले हाम्रो समाजमा प्रश्नको घेराभित्र छ, हरेक क्षेत्र अहिले प्रश्नको घेरामा छ, को कति इमान्दार भन्ने प्रश्न उठेको छ, यसले एक किसिमको निराशा बढेको छ, म यति धेरै निराश हुनुपर्छ भन्ने देख्दिन । 
के गर्दा काम गर्ने ठाउँमा एकले अर्कालाई उत्साह भर्न सकिन्छ त्यसतर्फ लाग्नुपर्ने उपमहासचिव रिमालले बताउनुभयो । तर आजको समस्या आपसी विश्वासको समस्या रहेको धारणा उहाँले राख्नु भयो । अहिले विश्वासमा ठुलो खाडल रहेको उहाँले बताउनुभयो । 
मुलुक अहिले समस्यामा रहेकाले यसको समाधानको लागि सिङ्गो नेपाली जनता एक हुनुपर्ने उपमहासचिव रिमालले बताउनुभयो । 
जनताको मनोबल बलियो पार्न सकियो भने सबै खालका समस्या समाधान गरेर अघि बढ्न सकिने उहाँले स्पष्ट पार्नुभयो । 
नेपालका सबै राजनीतिक दलले शासन सञ्चालन गरिसकेकाले कसले कस्तो काम गर्यो भन्ने कुरा व्यवसायी र विद्वत वर्गको बिचमा प्रष्ट रहेको छ भन्दै उपमहासचिव रिमालले म भएको भए यसो गर्थें भनेर कसैले मिठा कुरा गर्न जरुरी नरहेको बताउनुभयो । 
झिल्के कुरा गर्ने मान्छेहरू चाँडै बिक्ने र ओजिलो कुरा बोल्ने मानिसहरू ओझेलमा परेको स्थिति अहिले रहेको उहाँले बताउनुभयो । झिल्के कुराले देशलाई अघि बढाउन नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।