detail-img

‘गठबन्धन अन्तैबाट चल्ने कठपुतली हो’ 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पार्टीले ५० लाख लोकप्रिय मतका साथ एक्लै शानदार बहुमत ल्याउने वताउनुभएको छ । 
शनिबार तुल्सीलाल स्मृति सभा भवन , च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रम तथा सुदूर पश्चिम प्रदेश सम्पर्क कमिटीको प्रशिक्षणका सहभागीहरूलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले सत्तामा रहेका दलहरूले गठबन्धन बनाएर जनतामा मनोवैज्ञानिक प्रभाव र भ्रम पार्न खोजे पनि एमालेले वहुमत ल्याउने विश्वास व्यक्त गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो–‘गठबन्धनमा रहेकाहरू अन्तैबाट रिमोटले चलिरहेका कठपुतली हुन्, उच्च आत्मविश्वासका साथ निर्वाचनमा जानुपर्छ, यिनलाई निर्वाचनमा पराजित गर्नैपर्छ ।  एमालेले हारे, देशले हार्छ, लोकतन्त्रले हार्छ, विकास, सुशासनले हार्छ, भ्रष्टाचारले जित्छ, छाडातन्त्रले जित्छ ।’
‘मैले मंसिर ४ गते हुने संसदको निर्वाचनको परिणाम नआएसम्म एमाले निदाउँदैन भनेको छु, तपाईंहरू त्यसरी नै वडो जिम्मेवारीका साथ लाग्नुस् । कसैले जनता अल्मलाउन नपाओस् ।’ 
वर्तमान गठबन्धनवालाको नीति र गतिविधि अलोकतान्त्रिक, तानाशाही र अधिनायकवादी भएको चर्चा गर्दै अध्यक्ष ओलीले लोकतन्त्रमा प्रतिस्पर्धाको राजनीति हुन्छ तर गठबन्धनवालाहरूले दुश्मनीको राजनीति अँगालेको वताउनुभयो । 
उहाँले भन्नुभयो– ‘एमालेसँग प्रतिस्पर्धा गर्ने नीति, विचार केही छैन काँग्रेससँग, अभ्यास र आचरणले प्रतिस्पर्धा गर्न सक्दैन, त्यसैले घृणा, द्वन्द्व र लडाञीको सहारा लिइरहेको छ ।’ 
‘काँग्रेस, माओवादीहरू लोकतन्त्र होइन, लुटतन्त्रका पक्षपाती हुन्, लुटतन्त्र हामीलाई स्वीकार्य छैन, त्यसैले लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि लुटतन्त्रवादीलाई पराजित गर्नुपर्छ ।’
पार्टीका कार्यकर्तालाई मत वृद्धि र मत रक्षामा लाग्न निर्देशन दिँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘पार्टीभित्र आत्मीय एकता कायम हुनुपर्छ । पार्टीको निर्णय कार्यान्वयनबाट अगाडि बढ्नुपर्छ, म होइन पार्टी, व्यक्ति होइन संस्था भन्ने भावनाका साथ जित्ने र जिताउने अभियानमा लागौं किनकि हामीले सामुहिक लडाञी लडिरहेका छौं, एकजनाले हारे पनि त्यो व्यक्तिले होइन, पार्टीले हार्ने हो ।  साझा गन्तव्य, साझा यात्रामा अगाडि बढौं, हामी जित्छौं ।’ 
पद नपाउने वित्तिकै माधव नेपाल बुरूक्क उफ्रेर प्रतिक्रियावादी कित्तामा पुुगेको र उनको उद्देश्य नेकपा (एमाले) लाई हराउने बाहेक अरू केही नभएको चर्चा गर्दै उहाँले एमालेबाट अरू कोही मान्छे नबाहिरिएको बरू दिनहुँ पार्टी प्रवेश भइरहेका र पार्टी एकताबद्ध रहेकाले हरेस खानुपर्ने कुनै कारण नभएको वताउनुभयो ।  
अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डको चाहना र भनाईप्रति लक्षित गर्दै भन्नुभयो– ‘काँग्रेसलाई पहिलो बनाउने र आफू दोस्रो बन्ने लक्ष्य कम्युनिष्ट आन्दोलन सिध्याउने बाटो हो ।’
गठबन्धनमा रहेकाहरू बामपन्थी नभई प्रतिक्रियावादी हुन् भन्दै अध्यक्ष ओलीले आफूलाई कम्युनिष्ट र वामपन्थी हुँ भन्नेहरूलाई एमालेसँग सहकार्य गर्न, एमालेमा आउन पुनः आह्वान गर्नुभयो । उहाँले भन्नुभयो– हामी कसैसँग मिल्दैनौं भन्ने होइन, बेग्लै उद्देश्य र अरूका आदेशमा काँग्रेसका पछि लाग्नेसँग के लाग्छ ?
अध्यक्ष ओलीले पार्टीमा नवप्रवेशीलाई स्वागत गर्नुहुँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सही नीति, कार्यक्रम र योजनाका साथ लागेको पार्टीमा प्रवेश गर्ने सही निर्णय गरेकोमा बधाई दिनुभयो । 
कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतको बूढानीलकण्ठ नगरपालिकामा बसोवास रहेका माओवादी केन्द्र, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (विप्लव समूह) का कार्यकर्ताका साथै सामाजिक सेवामा सक्रिय व्यक्तिहरू एमालेमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरूमा माओवादी केन्द्रका नेत्र साङपाङ, केदार लामिछाने, राप्रपाका आशबहादुर भुजेल लगायत  ७४ जना रहेका छन् । पार्टी प्रवेश कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईको उपस्थिति रहेको थियो । 
यस अघि आजै अध्यक्ष ओलीले लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्नुभएको थियो ।