जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्
यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो ।
१४ कात्तिक (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नुभएका सबै नेता–कार्यकर्तालाई आफ्नै घर फर्कन आह्वान गर्नुभएको छ ।
अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत पार्टीभन्दा बाहिर रहनुभएका कमरेडहरूलाई आफ्नो पसिना र रगतले बनेको घरमा फर्कन र एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणमा सरिक हुन आग्रह गर्नुभएको छ ।
अध्यक्ष ओलीले देशमा महाविनाश निम्त्याएर सार्वभौम अस्तित्व माथि चुनौति खडा गर्दै लोकतान्त्रिक संविधान माथि आक्रमण भइरहेको उल्लेख गर्दै यस्तो बेला एकताबद्ध एमालेले मात्र देशको हित र सार्वभौमिकताको रक्षा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले देशमा निरङ्कुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने सङ्घर्षमा एमाले सधैं अग्रपङ्क्तिमा रहेको, स्वाधीनता जोगाउने बलियो कवच बनेको, देशभक्तिको भावना र विकास निर्माण गर्ने कामको नेतृत्व गरेको, सामाजिक सुरक्षा जस्ता लोकप्रिय कार्यक्रममार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने काममा एमालेको महत्वपूर्ण योगदान रहेको स्मरण गराउनुभएको छ ।
अध्यक्ष ओलीले लेख्नुभएको छ– एमाले केवल एउटा संगठन होइन, यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो । यो पार्टीको जग बसाउन तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षणहरू समपर्ण गरेका छन् । कसैले जेल यातना भोगे । कतिले जीवन बलिदान गरे । कसैले युवा अवस्था आन्दोलनमा अर्पण गरे । धेरैले सानो सानो योगदान गरेर यो घर अड्याए ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको पूर्ण पाठः
दिदीबहिनी तथा दाजुभाइहरु,
कमरेडहरु
निरङ्कुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने सङ्घर्षमा नेकपा (एमाले)ले सधैं अग्रपङ्क्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्यो । अनेकौं प्रहार खेपेर राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी बन्यो । देशभक्तिको भावना जगाउने र विकासका संरचना निर्माण गर्ने कामको नेतृत्व यही पार्टीले गर्यो । सामाजिक सुरक्षाका कार्यक्रम ल्याउने लोक कल्याणकारी राज्यको आरम्भ यही पार्टीले गरेको हो । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न हामीले गरेका यी कामका सयौं उदाहरण छन् ।
एमाले केवल एउटा राजनीतिक संगठन होइन — यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो । यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन् । कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे र धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए ।
आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ । यस्तो बेला हामी मौन रहन सक्दैनौं । राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ ।
त्यसैले, विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नुभएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु —
जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्
यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो ।
फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं — देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं ।
हामी एउटै परिवार हौं —
हाम्रो लक्ष्य स्पष्ट छ —
समृद्ध नेपाल, सुखी नेपाली ।
म सबैमा आह्वान गर्न चाहन्छु
कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा —
हाम्रो साझा सपना साकार पार्न ।
निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं ।