–भदौ २४ गतेको आगजनीले प्रा.डा. भरत पहारीको होटेल सरोबर, पार्टी केन्द्रीय सदस्य राजीव पहारीको निजी निवास, गणेश गुरुङको होटेल गुडविल, नेपाली कांग्रेसका नेता बिन्दु थापाको होटेल बगैँचा र वासु त्रिपाठीको होटेल एडम जस्ता व्यावसायिक सम्पत्तिहरू पूर्णरूपमा ध्वस्त भएका थिए
१३ कात्तिक (२०८२), पोखरा । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते पोखरामा भएका आगजनी घटनाबाट अकल्पनीय क्षति पुगेको भन्दै प्रभावित उद्यमीहरू दृढतापूर्वक पुनः उठ्न लागेका देखेर खुसी लागेको बताउनुभएको छ ।
पोखरास्थित आगजनी प्रभावित व्यावसायिक स्थलहरूको स्थलगत अवलोकनपछि उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
उपमहासचिव ज्ञवालीले भन्नुभयो– भदौ २४ गतेको आगजनीले प्रा.डा. भरत पहारीको होटेल सरोबर, पार्टी केन्द्रीय सदस्य राजीव पहारीको निजी निवास, गणेश गुरुङको होटेल गुडविल, नेपाली कांग्रेसका नेता बिन्दु थापाको होटेल बगैँचा र वासु त्रिपाठीको होटेल एडम जस्ता व्यावसायिक सम्पत्तिहरू पूर्णरूपमा ध्वस्त भएका थिए, त्यस्तो अकल्पनीय क्षति बेहोरेर पनि उहाँहरू सम्हालिँदै पुनः उठ्नु भएको देख्दा हर्ष लागेको छ ।
उहाँले उक्त घटनाबाट प्रभावित व्यवसायीहरूको साहस र पुनर्निर्माणका प्रयासलाई ‘प्रेरणादायी उदाहरण’ भन्नुभयो ।
स्थलगत अवलोकनका क्रममा उहाँसँग पार्टीका सचिव योगेश भट्टराई, पार्टीका स्थायी कमिटी सदस्य किरण गुरुङसहितका नेता तथा कार्यकर्ताहरू पनि सहभागी हुनुहुन्थ्यो । टोलीले आगजनी प्रभावित क्षेत्रका व्यवसायी तथा नेताहरूसँग भेटघाट गर्दै क्षतिको अवस्था र स्थानीय प्रशासनका पहलबारे जानकारी लिएको थियो ।
उपमहासचिव ज्ञवालीले आन्दोलनको नाममा निजी सम्पत्तिमा क्षति पुर्याउनु निन्दनीय भएको भन्दै शान्तिपूर्ण विरोध आन्दोलन नै लोकतान्त्रिक पद्धतिको आत्मा भएको बताउनुभयो । कुनै पनि असन्तोषको अभिव्यक्ति हिंसामा रूपान्तरण हुनु लोकतन्त्रका लागि खतरा भएको उहाँको धारणा छ । राज्यका संयन्त्रहरूले अपराधी पहिचान गरी कानुनी कारबाही अगाडि बढाउनुपर्ने उपमहासचिव ज्ञवालीले बताउनुभयो ।
उहाँले देशका पर्यटन र लगानी क्षेत्रहरूमा नकारात्मक प्रभाव पर्न नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
उपमहासचिव ज्ञवालीले आगजनी र तोडफोडबाट क्षतिग्रस्त नेकपा (एमाले) कास्की जिल्ला पार्टी कार्यालयको पनि अवलोकन गर्नुभएको थियो ।