ऐतिहासिक दोस्रो विधान महाधिवेशन सुरु
२० भदौ (२०८२), ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ऐतिहासिक दोस्रो विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भयो । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष समारोहबीच विधान महाधिवेशनको उद्घाटन गर्नुभयो ।
विधान महाधिवेशनको उद्घाटन सम्बोधन गर्नुहुँदै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेकपा (एमाले) नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान, बलिदान सबै हिसावले सर्वाधिक पुरानो धार भएको बताउनुभयो । उहाँले देश समृद्ध बनाउने र जनतालाई खुशी बनाउने भन्दा ठूलो गन्तव्य अरु नभएको हुँदा पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई आफ्नो गन्तव्य बनाएको स्पष्ट गर्नुभयो ।
नेकपा (एमाले) समाज परिवर्तन, सामाजिक न्याय, समानता, देशको विकास सबै क्षेत्रको अग्रभागको अभियन्ता भएको बताउँदै अध्यक्ष ओलीले यतिबेला पार्टीे मिसन–२०८४ का साथ उज्ज्वल भविष्यतर्फ अगाडि बढिरहेको बताउनुभयो ।
पार्टी सुशासन, विकास, स्थायित्व, राष्ट्रिय अखण्डता र स्वाधीनताका पक्षमा उभिएकाले एमालेप्रति जनताको विश्वास बढेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– अहिले हामी सरकारमा छौँ, जनताका बीचमा पुगी अझ विश्वास जित्न सक्यौँ भने २०८४ सालमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्नबाट एमालेलाई कसैले पनि रोक्न सक्दैन । जनतामाझ गई सक्रिय भएर काम गरौँ ।
प्रधानमन्त्री ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसँग आपत्ति दर्ज गरिएको बताउनुभयो ।
यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा आफूले असहमति राखेको स्पष्ट गर्नुभयो । खासमा लिपुलेक सीमाका बारेमा भारतसँग वार्ता गरेर समाधान खोजिने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले चीनको ग्लोबल सेक्युरिटी इनिसियिटभ (जिएसआई)मा कुनै समर्थन नगरिएको पनि स्पष्ट गर्नुभयो ।
अध्यक्ष ओलीको अध्यक्षतामा तीनदिन (भदौ २०–२२) सम्म चल्ने विधान महाधिवेशनको पहिलो दिन आज अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन उपमहासचिव प्रदीप ज्ञवालीले वाचन गर्नुभएको थियो ।
त्यसैगरी चारवटा निकायहरू केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगका प्रतिवेदनहरू प्रस्तुत गरिने विधान अधिवेशनमा आज केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले परिषद्को प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
उद्घाटन सत्रमा मंगलधुन, राष्ट्रिय गान, अन्तर्राष्ट्रिय गानका धुनहरू बजाइएको थियो । त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र जननिर्वाचित पहिलो कम्युनिष्ट प्रधानमन्त्री पार्टीका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीका साथै नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा योगदान गर्नुहुने अग्रज तथा शहादत प्राप्त गर्नुभएका ज्ञात अज्ञात सहिदहरूप्रति सम्मान प्रकट गरिएको थियो ।
विधान महाधिवेशन सञ्चालन गर्दै महासचिव शंकर पोखरेलले महाधिवेशनको तीनदिनको कार्यतालिका र आचारसंहिताका बारेमा जानकारी गराउनुभएको थियो ।
महाधिवेशनको दोस्रो दिन भोलि केन्द्रीय निकायका बाँकी दस्तावेजहरू प्रस्तुत भइसकेपछि दिनभर समूहगत छलफल हुने छ । त्यसका लागि दशवटा समूह बनाइएको छ । विधान महाधिवेशनको तेस्रो तथा अन्तिम दिन भदौ २२ गते समूहगत प्रस्तुति, प्रतिनिधिबाट राखिने जिज्ञासाको प्रत्युत्तर र त्यसपछि दस्तावेजहरू पारितका लागि प्रस्तुत गरिने छ । सोही दिन केन्द्रीय निर्वाचन आयोगको निर्वाचन हुने छ भने समसामयिक प्रस्तावहरू पारित गरी विधान महाधिवेशन समापन गरिने छ ।