१८ भदौ (२०८२), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ ।
उहाँ चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते चीनको तियाञ्जिन प्रस्थान गर्नुभएको थियो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले स्वागत गर्नुभयो ।
प्रधानमन्त्रीको स्वागतका लागि नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि विमानस्थल पुग्नुभएको थियो ।
त्यसक्रममा नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो ।
स्वदेश फर्कनुअघि प्रधानमन्त्री ओलीले आजै बेइजिङमा आयोजित ८०औँ वार्षिकोत्सव तथ विशेष सैनिक परेड कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भदौ १६ गते चीनको तियाञ्जिनमा आयोजना भएको शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।
त्यस्तै उहाँले भ्रमणका दौरान चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनलगायत विश्व नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।
सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् ।
त्यस्तै अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् । प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहनुभएको थियो ।
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू जनवादी गणतन्त्र चीनको भ्रमण समापन गरी स्वदेश फर्कनुहुँदा परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको प्रेस नोट
शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल-चीन सम्बन्ध समस्या रहित रहेको उल्लेख गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालको विकास प्रयासमा पुर्याउँदै आएको निरन्तर सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । साङ्घाई सहयोग संगठनको शिखर सम्मेलनको सफलताको कामना गदै सो संस्थामा नेपालको पूर्ण सदस्यताको समर्थनका लागि चिनियाँ राष्ट्रपतिसँग अनुरोध गर्नुभयो ।
बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सहमति भएका लगायत विभिन्न परियोजनाहरूको शीघ्र कार्यान्वयन हुनेमा आशा व्यक्त गर्दै उहाँले रासायनिक मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु परिवर्तनको प्रभावसँग जुध्ने क्षमता अभिवृद्धि तथा जनस्तरको सम्बन्ध सुदृढीकरण जस्ता क्षेत्रहरूमा सहयोगका लागि अनुरोध गर्नुभयो ।
नेपालको भूभाग लिपुलेक नाका मार्फत् सीमा व्यापार गर्ने सम्बन्धी भारत र चीनबीच हालै भएको समझदारीप्रति सम्माननीय प्रधानमन्त्रीज्यूले आपत्ति जनाउँदै उक्त समझदारी कार्यान्वयन नगर्न चीनका राष्ट्रपतिलाई अनुरोध गर्नुभयो।
चीनका महामहिम राष्ट्रपति श्री सी चिनफिङले “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्ने कार्यमा चीनको सहयोग रहने अभिव्यक्ति राख्नुभयो। उहाँले चीनले संयुक्त राष्ट्रसंघ र साङ्घाई सहयोग संगठन लगायतका बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने पनि उल्लेख गर्नुभयो।
साथै चीनका महामहिम राष्ट्रपतिले एक चीन सिद्धान्त प्रति नेपालको दृढ प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गर्दै दुई देशबीच सहमति भएका उच्च-गुणस्तरीय बीआरआई परियोजनाहरूको कार्यान्वयनमार्फत् नेपालको विकासमा चीनको निरन्तर सहयोग रहने कुरा दोहोर्याउनुभयो।
साङ्घाई सहयोग संगठनका सदस्य राष्ट्रहरू, पर्यवेक्षक राष्ट्र, संवाद साझेदारहरू तथा अन्य अतिथि समेत गरी २४ मुलुकका राष्ट्र/सरकार प्रमुखहरू उपस्थित शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीज्यूले बहुपक्षीयताको सुदृढीकरण, क्षेत्रीय सहयोग प्रवर्द्धन तथा दिगो विकास हासिल गर्ने लगायतका विषयमा विचारहरू प्रस्तुत गर्नुभयो। साङ्घाई सहयोग संगठनमा नेपालको आकांक्षा संवाद साझेदार मात्र नभई पूर्ण सदस्यको रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले नियममा आधारित बहुपक्षीयताको भविष्य – विस्तारित सम्पर्क सञ्जाल, परामर्श र सहकार्यमा आधारित हुनुपर्ने मार्ग चित्र प्रस्तुत गर्नुभयो । (उक्त सम्बोधनको पूर्णपाठ परराष्ट्र मन्त्रालयको वेबसाइटमा राखिएको छ ।)
रूसी महासंघका राष्ट्रपति H. E. Mr. Vladimir Putin सँगको भेटवार्तामा दुवै नेताहरूले नेपाल–रूस सम्बन्धलाई अझ सुदृढ तुल्याउने र व्यापार, लगानी, शिक्षा तथा संस्कृतिका साथै हवाई सम्पर्कका क्षेत्रमा परस्पर लाभदायक सहयोग प्रवर्द्धन गर्ने विषयमा छलफल गर्नुभयो। साथै, सम्माननीय प्रधानमन्त्रीज्यूले रुसी महासंघका महामहिम राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभयो।
लाओ जनवादी प्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति H. E. Dr. Thongloun Sisoulith सँग भएको भेटमा दुवै नेताहरूले संस्कृति, कृषि र जनस्तरको सम्बन्धका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने बारेमा विचार विमर्श गर्नुभयो। साथै, भूपरिवेष्ठित विकासोन्मुख मुलुकहरू (LLDCs) तथा अतिकम विकसित मुलुकहरू (LDCs) का हित प्रवर्द्धनका निमित्त अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्ने बारेमा समेत सहमति भयो।
त्यसैगरी, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति H. E. Dr. Mohamed Muizzu सँग भएको भेटमा दुवै नेताहरूले कृषि, पर्यटन, शिक्षा तथा जनस्तरको सम्बन्धका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल गर्नुभयो। साथै, उहाँहरुले पर्वतीय तथा सामुद्रिक मुलुकहरूको विशेष चासोलाई समेट्दै जलवायु परिवर्तनका गम्भीर चुनौतीको सामना गर्न विभिन्न तहमा सहकार्य गर्नुपर्ने आवश्यकताका बारेमा विचार विमर्श गर्नुभयो।
समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री H. E. Mr. Pham Minh Chinh सँगको भेटघाटमा नेपाल–भियतनाम मैत्री सम्बन्धलाई अझ सुदृढ तुल्याउने एवं व्यापार तथा लगानी, विज्ञान र प्रविधि, नवप्रवर्तन, डिजिटलाइजेशन, जलवायु परिवर्तन, खेलकुद, शिक्षा, संस्कृतिका साथै हवाई सम्पर्क जस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भयो।
कम्बोडिया अधिराज्यका प्रधानमन्त्री H. E. Dr. Samdech Moha Borvor Thipadei Hun Manet सँग भेटघाट हुँदा दुई मुलुकबीच व्यापार, लगानी, पर्यटन, सांस्कृतिक सहयोग प्रबर्द्धन गर्ने विषयमा छलफल भएको थियो। साथै, संयुक्त राष्ट्रसंघ लगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्ने सहमति भयो।
यसअघि, प्रधानमन्त्री ओलीलाई स्वदेश फर्कनुहुँदा बेइजिङस्थित अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ उच्च अधिकारीहरू, नेपालका लागि चीनका राजदूत र चीनका लागि नेपाली राजदूतलगायतले बिदाइ गर्नुभएको थियो ।