detail-img

एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी होः महासचिव पोखरेल 

१ भदौ (२०८१), कञ्चनपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको बताउनुभएको छ । 
आइतबार नेकपा (एमाले) कञ्चनपुरद्वारा आयोजित ९औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको बाटोमा अरूलाई पनि डोर्याउने पार्टी एमाले भएको बताउनुभयो । 
अरूले के गर्दछ भन्दा पनि एमाले के गर्दछ भन्ने कुरा देशको लोकतन्त्रका लागि मानक बन्ने उहाँले स्पष्ट पार्नुभयो । 
पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने विषयमा एमालेले सबै सोचविचार गरेर निर्णय गरेको भन्दै सभामुख र राष्ट्रपति राजनीतिमा आउने विषय फरक फरक भएको महासचिव पोखरेलले बताउनुभयो । 
पार्टीभित्र हुर्कंदै गएको अवसरवाद पार्टीका लागि घातक भएको उहाँले बताउनुभयो । एमालेले मिसन २०८४ घोषणा गरेको बताउँदै त्यसलाई सफल गराउन अवसरवादलाई परास्त गर्नसक्नुपर्ने उहाँको धारणा छ । 
महासचिव पोखरेलले भन्नुभयो– मिसन २०८४ लाई सफल गराउने हो भने पार्टीभित्र रहेको अवसरवादलाई जित्न सक्नु पर्दछ । 
कुनै पनि पार्टीलाई बलियो बनाउन अनुशासन र एकता बलियो बनाउनुपर्ने उहाँले बताउनुभयो । ‘अनुशासन र एकताको अभावमा कुनै पनि पार्टी बलियो बन्न सक्दैन भन्ने कुरा हामीले बुझ्नु पर्दछ, अवसरवाद र अराजकता पार्टी निर्माणका समस्या हुन्’, महासचिव पोखरेलले भन्नुभयो । 
वैचारिक र राजनीतिक काममा नलाग्दा अवसरवाद मौलाउने धारणा राख्दै उहाँले मैले जे बुझेको छु त्यो नै सत्य हो भन्ने भावको विकास हुँदा अवसरवाद जन्मिने उहाँले बताउनुभयो । ‘अवसरवादले मानिसलाई गलत बाटोतर्फ डोर्याउँछ’, महासचिव पोखरेलको भनाइ छ । 
पार्टी सबैभन्दा बढी एकताबद्ध चुनावको बेलामा हुनुपर्ने बताउँदै उहाँले पार्टीमा चुनावको बेलमा धोका दिने प्रवृत्ति मौलाएको बताउनुभयो । ‘अघि पछि एमाले भइरहने, चुनावको बेला एमाले छाड्ने नेता–कार्यकर्ता चाहिँदैन’, उहाँले भन्नुभयो । 
भीम रावललाई पार्टीमा राख्न धेरै प्रयत्न भएको बताउँदै उहाँलाई उपाध्यक्ष बनाउने कुरामा सर्वसम्मति जुटेको भए पनि अध्यक्षमा चुनाव लडेर हारेपछि पार्टी र नेतृत्वविरुद्ध अनेक खालका आक्षेप लगाउँदै हिँडेको महासचिव पोखरेलले बताउनुभयो । पार्टीसँग व्यक्ति टकराउने कुरा मान्य नहुने उहाँले स्पष्ट पार्नुभयो । 
उहाँले पार्टी भनेको सामूहिकताको उपज भएको बताउनुभयो । आफूलाई जे मन लाग्यो त्यही गर्ने कुरा पार्टीमा सम्भव नभएको महासचिव पोखरेलको भनाइ छ । 
सामाजिक सञ्जालमा लोकप्रियता प्राप्त गरेका भरमा पनि पार्टी र देश चलाउन नसकिने उहाँले बताउनुभयो । आज सामाजिक सञ्जालबाट लोकप्रिय हुन चाहनेहरू एमालेको संगठन देखेर जलेका र एमालेविरुद्ध कुप्रचारमा लागेको उहाँको भनाइ छ । 
विगतमा रास्वपालाई जे जे माग्छ एमालेले त्यही त्यही दिँदै गएको तर उनीहरूको एक पछि अर्को अपराध सार्वजनिक हुँदै गएपछि र मुद्दा अघि बढेपछि रास्वपाका नेताहरू प्रतिशोध साँधियो भन्दै हिँडेको भनाइ महासचिव पोखरेलले राख्नुभयो । 
जान्नेलाई छान्नुपर्छ भन्नेहरू नेपालको कानुनमा एकै व्यक्तिले एकभन्दा बढी विवाह गर्नुहुँदैन भन्ने नजान्ने, एउटा व्यक्तिले दुई देशको नागरिकता बनाउनु हुन्न भन्ने पनि नजान्ने, सहकारी ठगी गर्नु हुँदैन भन्ने नजान्ने कस्तो खालका जान्ने हुन् ? भन्दै उहाँले प्रश्न गर्नुभयो । 

मुलुकलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान एमाले नेतृत्वको सकार आवश्यक रहेको महासचिव पोखरेलले बताउनुभयो । एमालेसँग स्पष्ट दृष्टिकोण र दूरगामी सोच भएको नेतृत्व रहेको र एमाले अध्यक्ष केपी शर्मा ओली मात्र विश्वका कुनै पनि नेतासँग आँखा जुधाएर कुरा गर्न सक्ने नेता भएको उहाँको भनाइ छ । 
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय आकाङ्क्षा मात्र होइन, राष्ट्रको गन्तव्य बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।   कार्यक्रममा पार्टीका सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।