१ भदौ (२०८२), ताप्लेजुङ । नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा अहिले कुनै गुट नरहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल, ताप्लेजुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिङ्गो एमाले एकताबद्ध रहेको बताउनुभयो ।
उहाँले देशको आवश्यकताले नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धनसहितको सरकार बनेकाले आगामी निर्वाचनसम्म यही सरकार रहने बताउनुभयो ।
सचिव भट्टराईले भन्नुभयो– देशमा विषम परिस्थिति सिर्जना भएकाले एमालेको नेतृत्वमा सरकार गठन भएको हो । सरकारले देशको आर्थिक स्थिति, अन्तर्राष्ट्रिय सम्बन्ध मजबुद बनाएको छ । कतिपय कानुन संशोधन गरेको छ । विकासका कामलाई तिब्रता दिएको छ ।
उहाँले संविधान संशोधनको समयमा स्थानीय तहको सङ्ख्या घटाएर र वडाको सङ्ख्या बढाउनुपर्ने बताउनुभयो । संविधान संशोधनका क्रममा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष र संवैधानिक आयोगको सङ्ख्या पनि घटाउनुपर्ने उहाँको भनाइ छ ।
वर्तमान सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेको सचिव भट्टराईले बताउनुभयो ।
‘हाम्रो नेतृत्वमा सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छ । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर लगानीका लागि आह्वान गरेको छ’ उहाँले भन्नुभयो– थुप्रै आर्थिक ऐन संशोधन भएका छन् । केही नयाँ बनाइएको छ । विदेशी लगानीलाई निरुत्साहित गर्ने कानुनलाई संशोधन गरिएको छ ।
उहाँले जिल्लामा चालु रहेका र आउन चाहेका विकासका ठूला परियोजनालाई कतैबाट पनि अवरोध गर्नु नहुने बताउनुभएको छ ।