१ भदौ (२०८२), काठमाडौं । यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा दुई हजार ३९२ जनाको सहभागिता हुने भएको छ ।
दोस्रो विधान महाधिवेशन मुल व्यवस्थापन समितिको शनिबार (साउन ३१ गते) बसेको बैठकमा संगठन विभागले पेश गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।
पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागीमध्ये दुईहजार १२८ जना प्रतिनिधि र २६४ जना आयोजकको रूपमा सहभागी हुनेछन् । २०७८ सालमा चितवनमा भएको १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकाले पछि मनोनीत केन्द्रीय सदस्यहरू आयोजकको हैसियतमा रहनेछन् । प्रतिनिधिहरूलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ ।
बैठकमा महाधिवेशनलाई भव्य बनाउनका लागि सातदोबाटोदेखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने निर्णय भएको छ । पार्टीको बाग्मती प्रदेश कमिटी, ललितपुर जिल्ला कमिटी, स्थानीय कमिटी र जनसंगठनहरूका तर्फबाट स्वागतद्वार राखिने भएको छ । यसैगरी महाधिवेशन स्थलमा कम्तीमा तीनसय जना स्वयंसेवक परिचालन गर्ने तयारी छ । स्वयंसेवक परिचालनको जिम्मेवारी स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाललाई दिइएको छ । स्वयंसेवकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठन, अनेरास्ववियु, युवा संघ, खेलकुद महासंघ लगायतका जनसंगठनबाट खटाइने भएको छ । बैठकमा महाधिवेशन स्थलमा सञ्चार माध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित न्यूज डेस्क स्थापना गर्ने निर्णय भएको छ । यसैगरी मिडियालाई महाधिवेशनको रिपोर्टिङका लागि पासको पनि व्यवस्था गरिने भएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई कुनै शुल्क नलिइने र आवासको प्रबन्ध प्रतिनिधि आफैंले गर्नुपर्ने निर्णय गरिएको छ । सातदोबाटोबाट गोदावरीसम्म जानका लागि सार्वजनिक यातायातको प्रबन्ध गरिने छ । महाधिवेशन स्थलमा तीन सिफ्टमा चिकित्सकसहितको स्वास्थ्य जाँच डेस्क स्थापना गरिने छ ।
पार्टीले भदौ १० गतेसम्ममा मातहतका कमिटीलाई विधानका बारेमा सुझाव दिन समय दिएको छ । सबै प्रदेशहरूले सुझाव पठाएपछि तिनीहरूलाई समेत समेटेर राजनीतिक प्रतिवेदन तयार गर्ने गृहकार्य भइरहेको छ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, विधान संशोधन सम्बन्धी प्रस्ताव उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले र सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेले पेश गर्नुुहुनेछ ।
विधान महाधिवेशन सफल पार्नका लागि पार्टीले यस अघि नै विभिन्न कमिटीहरू बनाएर नेताहरूलाई जिम्मेवारी तोकिसकेको छ ।
व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले विधान महाधिवेशनले एमालेलाई एकमना एकताका साथ अघि बढाउने र एमालेले लिने नीति र विधि तय गर्ने भएकाले यो एउटा महत्वपूर्ण उत्सव भएको बताउनुभयो । महासचिव पोखरेलले सबैलाई गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले व्यवस्थापनको जिम्मा पाएका सबै समितिहरूलाई तिब्रताका साथ काम गर्न पनि निर्देशन दिनुभयो ।