३२ असार (२०८२), काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई शपथ दिलाउनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रियसभा सदस्य न्यौपानेलाई राष्ट्रपति पौडेलले मङ्गलबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गर्नुभएको थियो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत सरिक हुनुहुन्थ्यो ।
यसअघि न्यौपाने नेकपा (एमाले)का तर्फबाट राष्ट्रियसभामा सचेतकको भूमिकामा हुनुहुन्थ्यो ।
एमालेको केन्द्रीय सदस्यसमेत रहनुभएकी नवनियुक्त मन्त्री न्यौपानेले आजै सिंहदरबार पुगेर पद वहाली गर्नुभयो ।
पदबहाली गरेपछि उहाँले सङ्घ, प्रदेश र स्थानीय तहमा हुने सङ्गठन तथा व्यवस्थापन सर्भेक्षणलाई निश्चित मापदण्डमा आधारित तुल्याउन मस्यौदा तयार गरी तीन महिनाभित्र पेस गर्न सङ्घीय मामिला महाशाखा प्रमुखको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहने समिति गठन गर्ने निर्णयसम्बन्धी फाइल सदर गर्नुभयो ।
नेपाल सरकारको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा सङ्घ, प्रदेश र स्थानीय तहका सङ्गठन तथा व्यवस्थापनको राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ ।