detail-img

पार्टीको विधान महाधिवेशनका सन्दर्भमा केन्द्रीय विभागहरूको संयुक्त भेला सम्पन्न 

‘स्थगित ७० बर्षे उमेर हदको विषय विधान महाधिवेशनमा प्रस्तुत गर्नु केन्द्रीय कमिटीको नैतिक दायित्व र कर्तव्य’ 

२९ असार (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा ७० बर्षे उमेर हदसम्बन्धी हाल स्थगित रहेको व्यवस्था अनुमोदनका लागि आगामी विधान महाधिवेशनमा विधान संशोधन प्रस्तावका रूपमा प्रस्तुत गरिने बताउनुभयो ।
पार्टीको विधान महाधिवेशनका सन्दर्भमा पार्टीका केन्द्रीय विभागहरूको संयुक्त भेलालाई केन्द्रीय कार्यालय, च्यासलमा  आज सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० बर्षे उमेर हद विधान महाधिवेशनबाट अनुमोदन गराउनु केन्द्रीय कमिटीको नैतिक दायित्व र कर्तव्य भएको स्पष्ट गर्नुभयो । 
महासचिव पोखरेलले विधानका कतिपय प्रावधानका सन्दर्भमा अहिले केही विवाद र भ्रम सिर्जना गर्ने काम भइरहेको  बताउँदै ती बिषयमा पनि प्रष्ट पार्नुभयो । 
२०७८ मङ्सिर १० गते साँझ सौराहामा भएको केन्द्रीय कमिटीको अन्तिम बैठकमा तत्कालीन उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधनका लागि चारवटा प्रस्ताव प्रस्तुत गर्नुभएको र ती प्रस्ताव सर्वसम्मतिले पास गरी राष्ट्रिय महाधिवेशनमा लगिएको उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– ललितपुरको गोदावरीमा भएको पहिलो विधान महाधिवेशनले पार्टीको २२५ सदस्यीय केन्द्रीय कमिटी, १५ सदस्यीय पदाधिकारी र १५ सदस्यीय केन्द्रीय निकाय रहने व्यवस्था विधानमा गरेकोमा पार्टीमा देखिएको तत्कालीन सङ्कटलाई व्यवस्थापन गर्न चितवनमा सम्पन्न राष्ट्रिय महाधिवेशनले त्यसलाई संशोधन गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी, १९ पदाधिकारी र केन्द्रीय निकायको सङ्ख्या २५ सदस्यीय व्यवस्था गरेको थियो ।  
विधान महाधिवेशनबाट पारित विधानमा पार्टीको अध्यक्षमा दुईपटक मात्र उम्मेदवार हुन पाउने प्रावधान राखिएकोमा त्यसलाई सच्याइएको उहाँले बताउनुभयो ।
‘विधान महाधिवेशनमा विधानमा दुई कार्यकाल मात्र उम्मेदवार हुन पाउने प्रावधान राखिएछ’ महासचिव पोखरेलले भन्नुभयो– हामी जसको नेतृत्वमा पार्टीलाई हाँक्न चाहन्थ्यौं उहाँ आठौं महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । नवौंमा विजयी हुनुभयो । विधानको प्रावधानले उहाँलाई दशौं महाधिवेशनमा उम्मेदवार बन्न रोक्ने देखेर दुईपटक उम्मेदवार वा दुई कार्यकाल भन्ने प्रावधान संशोधन गरिएको हो । 
विधानको यसै प्रावधानलाई टेकेर डा.पुष्प कँडेल पार्टीको दशौं महाधिवेशनबाट तेस्रोपटक केन्द्रीय लेखा आयोगको अध्यक्ष चयन हुनु भएको उहाँले स्मरण गराउनुभयो ।
७० बर्षे उमेर हद स्थगनका सम्बन्धमा स्पष्ट गर्दै महासचिव पोखरेलले नेकपा एकीकृत समाजवादीबाट नेता मुकुन्द न्यौपानेलाई पार्टी प्रवेश गराउँदा ७० बर्षे कार्यकाल स्थगन गरिएको बताउनुभयो । 
विधानका सम्बन्धमा पार्टीको प्रतिष्ठामा आँच आउने गरी नेताकार्यकर्ताहरूबाट वहस हुनुहुँदैन भन्नुहुँदै उहाँले आगामी साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकबाट विधान संशोधन प्रस्ताव एकमहिना छलफलका लागि मातहतका कमिटीमा जाने हुँदा पार्टीका कमिटी र विभागहरूमा छलफल गरी सुझाव दिन सकिने स्पष्ट गर्नुभयो । 
महासचिव पोखरेलले विभागले गरेका कामहरू र आगामी दिनमा विभागको कामलाई कसरी व्यवस्थित गर्ने भन्ने सन्दर्भमा साउन पहिलो साताभित्र सुझावसहितको प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो । 
उहाँले विभागहरूको मुख्य काम नीति निर्माण भएकाले पार्टीको राजनीतिक कार्यदिशालाई अझ समृद्ध बनाउने गरी सुझाव दिन आग्रह गर्नुभयो । 
यतिबेला पार्टी र पार्टीको नेतृत्वविरूद्ध अत्यन्त सङ्गठित, योजनाबद्ध र आक्रामक ढङ्गले आक्रमण भइरहेको र पार्टी एकताबद्ध भएर प्रतिवाद गर्नुपर्ने अवस्था रहेको औल्याउँदै महासचिव पोखरेलले नेतृत्वको रक्षा गर्नु कार्यकर्ताको कर्तव्य भएको बताउनुभयो । 
भेलामा पार्टीका सचिव तथा संसदीय विभाग प्रमुख योगेश भट्टराई, विभाग प्रमुखको जिम्मेवारीमा रहनुभएका स्थायी कमिटी सदस्यहरू काशीनाथ अधिकारी, राजेन्द्र गौतम, भीम आचार्य, खगराज अधिकारी, शेरबहादुर तामाङ, भानुभक्त ढकाल, कर्णबहादुर थापा, पोलिटव्यूरो तथा केन्द्रीय कमिटीका सदस्यहरू, विभागका सचिवहरू र सदस्यहरूको उपस्थिति रहेको थियो ।