detail-img

सत्ता सहयात्रा ढुक्कले चुनावसम्मै जान्छः प्रधानमन्त्री 

कनकाइमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण 
२८ असार (२०८२), झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्नुभएको छ ।
भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा सो पालिकाका दुई सय जनालाई जग्गा धनीपूर्जा वितरण भएको हो ।
प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै अहिलेको सरकारले  मुलुकमा स्थिरता कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताउनुभयो । 
प्रधानमन्त्री ओलीले जमिन खेर जान नदिई ठुला ठुला चाक्ला बनाएर  व्यावसायिक खेती गरेर आर्थिक समृद्धिमा लाग्न आग्रह गर्नुभयो । उहाँले देश विकासको गतिमा अग्रसर भएकाले निराशा र कुनै हल्लाको पछि लाग्नुनपर्ने बताउँदै शिक्षा र स्वास्थ्य आदिका क्षेत्रमा ठुलो परिवर्तन भएको जनताले अनुभव गरेका र अझै ठुलो परिवर्तनका लागि सरकारले काम गरिरहेको स्पष्ट गर्नुभयो । 
प्रधानमन्त्रीले भन्नुभयो– यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरू कराउन् । सरकारको एक वर्ष बित्यो । अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ।  त्यसपछि हाम्रो सहमति बमोजिम नेपाली काङ्ग्रेसका सभापति एवं मेरो लामो लोकतान्त्रिक आन्दोलनका सहयात्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिनेछ । चुनावसम्म यो यात्रा जारी रहन्छ । म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छु ।
कार्यक्रममा भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्म भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई क्रमशः जग्गा धनीपूर्जा वितरण गरिने जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले इलाममा पनि माइ नगर अस्पतालको उद्घाटन कार्यक्रममा सो पालिकाका १७६ अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्नुभयो ।