१४ असार (२०८२), काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थी तत्वहरूलाई महाधिवेशन लागेको बताउनुभएको छ ।
जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घ नेपालद्वारा चन्द्रागिरी नगरपालिका वडा– १३, कङ्कालीमा आज आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका अवसरमा अध्यक्ष ओलीले उक्त कुरा बताउनुभएको हो । आफूहरूको लक्ष्य पार्टीलाई एकल बहुमत दिलाउने मिसन–२०८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिने उहाँले स्पष्ट गर्नुुभयो ।
‘हामी अर्जुनदृष्टिका साथ मिसन–२०८४ को अभियानमा छौँ । हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो । यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन’, अध्यक्ष ओलीले भन्नुभयो– हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन । केही स्वार्थीहरूलाई महाधिवेशन लागेको मात्रै हो । त्यस्ताका पछाडि लाग्नु हुँदैन ।
प्रधानमन्त्री ओलीले शिक्षक, विद्यार्थी र सबैको मेहनतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा गत वर्षको भन्दा १४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको उल्लेख गर्दै आगामी वर्ष थप सुधार ल्याउने गरी काम गरिने बताउनुभयो । प्रधानमन्त्री ओलीले मौका परीक्षामा सहभागी हुने र आउने एसइइका लागि पनि देशभर महत्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने जानकारी गराउनुभयो ।