detail-img

वंशवाद एमालेले कहिल्यै स्वीकार्दैनः वरिष्ठ उपाध्यक्ष 

२१ वैशाख(२०८२), जनकपुर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालमा गणतन्त्रको विरुद्धमा भइरहेका प्रयत्नहरूको कडा आलोचना गर्दै वंशवाद र अनिर्वाचित सत्ताको अभ्यासलाई एमालेले कहिल्यै स्वीकार नगर्ने बताउनुभएको छ ।
शनिबार जनकपुरधाममा आयोजित एमालेको धनुषा आठौं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– श्री ५ बा र श्री ५ नातीको व्यवस्था एमालेको दृष्टिमा अस्वीकार्य छ । हामी त्यस्तो सत्ताविरुद्ध एक्लै भए पनि लड्छौँ र पराजित गर्छौँ ।
उहाँले पूर्वराजाको नाममा पुनःसत्तामा फर्कने चाहना बोकेका तत्वहरूले संविधान र जनमतको अपमान गरिरहेको बताउँदै त्यो प्रयास सफल नहुने बताउनुभयोे ।
‘पूर्वराजा नागरिक हुन् । यदी उनलाई सत्ता चाहिएको हो भने निर्वाचनको बाटो रोजुन्’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो । 
उहाँले नेपाली कांग्रेससँग सहकार्य र प्रतिस्पर्धा दुबैलाई सन्तुलनमा राख्दै संविधानको मूल मर्मलाई अघि बढाउनुपर्ने बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले विगत निरङ्कुश पञ्चायती शासन र वर्तमान लोकतान्त्रिक प्रणालीबीचको विकासबारे चर्चा गर्दै लोकतान्त्रिक प्रणालीमा आएपछिको हरेक क्षेत्रमा भएको व्यापक विकास निरङ्कुश पञ्चायती व्यवस्थासँग तुलना हुनै नसक्ने उहाँको भनाइ छ । 
वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– पञ्चायतमा २५ हजार किलोमिटर सडक थियो । अहिले एकलाख १० हजार किलोमिटर पुग्यो । शिक्षा, स्वास्थ्य, सञ्चार र भौतिक पूर्वाधारका क्षेत्रमा अभूतपूर्व परिवर्तन आएको छ । जनतालाई तथ्यका आधारमा बुझाउनु अहिलेको प्रमुख कार्य हो ।
कार्यक्रममा पार्टीका सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज जुलीकुमारी महतो, केन्द्रीय सदस्य उमाशंकर अरगरिया, हरिनारायण महतोलगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । तीन दिनसम्म जारी रहने अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न हुने छ ।