एमाले संसदीय दलको बैठक
२० वैशाख (२०८२), काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सङ्घीय संसद्मा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका लागि सही नीतिका साथ आएकाले ढुक्कका साथ दृढतापूर्वक समर्थन गर्न सांसद्हरूलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको नेकपा (एमाले) को संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीब्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको स्पष्ट गर्नुभयो ।
‘हाम्रा नीतिहरू सही छन्, यसमा साथीहरू ढुक्कले लागे हुन्छ । संसदीय प्रक्रियामा विपक्षीले विरोधका लागि विरोध पनि गर्ने भएकाले तिनका कुरामा सत्यता छ कि भनेर लाग्नु पर्दैन । हामीले सही कुराको पक्ष दृढतापूर्वक लिनुपर्छ । हामीले विपक्षमा रहँदा सही कुराको विरोध गरेका थिएनौं, पार्टी अध्यक्ष ओलीले भन्नुभयो– हाम्रो दलमा वैचारिक एकता रहेको छ । स्पष्टता र दृढता हामीसँग छ, यो स्पष्टता र दृढतालाई संसद्का गतिविधिमा अझ प्रभावकारीरूपमा प्रकट गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।
प्रधानमन्त्री ओलीले पछाडि परेको तप्कालाई माथि उठाउने गरी सरकारले काम गरिरहेको जनाउँदै समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिकरूपमा सहकार्य, शान्ति सुव्यवस्थाप्रति जिम्मेवार र आम जनताप्रति जवाफदेही भएर नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो ।
समाजमा वञ्चितहरूको पहुँच वृद्धि हुनुपर्छ भन्नेमा स्पष्टताका साथ सरकार अघि बढेको बताउँदै उहाँले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा राखेर छिमेक तथा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै आएको स्मरण गर्नुभयो ।