detail-img

अर्घाखाँची पुग्दा मन आनन्दित भएको छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अर्घाखाँचीको अर्घा मसुरीपाटा पुगेर त्यहाँका बासिन्दा, पार्टीका सदस्य तथा शुभेच्छुक, सानासाना नानीबाबुसँग तस्वीर खिचाउनुभएको छ । 
अध्यक्ष ओलीले अर्घाखाँचीका सुन्दर पहाड, खोलानाला, मानिस र वनस्पतिसँग आफ्नो गहिरो सम्बन्ध रहेको र अर्घाखाँचीमा पार्टीका नेताकार्यकर्ता र प्यारा नानीबाबुहरूसँगको भेटले मन आनन्दित बनाएको वताउनुभएको छ । 
पत्नी राधिका शाक्यलाई साथै लिएर जानुभएका अध्यक्ष ओलीले सन्धिखर्क नगरपालिका वडा नं.९ अर्घाको मसुरीपाटामा सेल्फी खिच्नुभएको छ ।

 
निरङ्कुश पञ्चायत कालमा १४ बर्ष कष्टपूर्ण जेल जीवन विताउनुभएका अध्यक्ष ओली जेलबाट निस्केपछि पार्टी कामका लागि लुम्बिनी अञ्चल र अन्तर्गतका विभिन्न जिल्लामा खटिनुभएको थियो । त्यसबेला पार्टीको जिम्मेवारीका साथ अर्घाखाँची जानुभएका अध्यक्ष ओली करिव साढे तीन दशकपछि सडकमार्गबाट आफ्ना अतित स्मरण गर्दै २०७९ चैत १२ गते अर्घाखाँचीको मसुरीपाटा पुगेर त्यहाँका बासिन्दासँग भलाकुसारी गर्नुका साथै तस्वीर खिचाउनु भएको हो । 
अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत चैत ११ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्ला भ्रमण गरी अभियानमा खटिरहनुभएका नेताकार्यकर्तालाई प्रशिक्षणसँगै पार्टी काममा हौसला प्रदान गरिरहनु भएको छ । यस क्रममा अध्यक्ष ओलीले चैत ११ गते कपिलवस्तु, १२ गते अर्घाखाँची र १३ गते गुल्मी र आज पाल्पामा आयोजना गरिएका जिल्लास्तरीय भेलालाई सम्बोधन गर्नुभएको छ । 
अध्यक्ष ओलीको सम्बोधन राष्ट्रिय राजनीतिमा मात्र केन्द्रित छैन, स्थानीय तहमा जनताका समस्यामा पार्टीको चासो र पार्टीका नेताहरूको व्यवहार, असल चरित्र, अनुशासन लगायतका विषयमा केन्द्रित हुने गरेको छ । 
अध्यक्ष ओलीले आफ्नो यस भ्रमणलाई पार्टीको संगठन सुदृढीकरण र विस्तारमा मात्र सीमित राख्नुभएको छैन । पूर्वीय दर्शन, ज्ञान, अन्वेषण, धार्मिक तथा साँस्कृतिक सम्पदाको ज्ञान, विकास र सम्वद्र्धनप्रति विशेष रुचि राख्नुहुने अध्यक्ष ओलीले विभिन्न जिल्ला र ठाउँहरूको भ्रमण गर्दा त्यहाँका ऐतिहासिक, पर्यटकीय र साँस्कृतिक धरोहरहरूको रुचिपूर्वक अवलोकन गरिरहनुभएको छ । 
अध्यक्ष ओलीले चैत ११ गते कपिलवस्तुको तौलिहवामा पार्टी कार्यकर्तालाई प्रशिक्षण तथा नेताकार्यकर्तासँगको भेटघाटका अतिरिक्त लुम्बिनीमा मायादेवी मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्नुभएको थियो । 
लुम्बिनीमा उहाँले मायादेवी मन्दिरसँगै अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्तिदीपको समेत अवलोकन गर्नुभयो ।  उहाँलाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराईएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । 
अध्यक्ष ओलीले लुम्बिनी भ्रमणका क्रममा उहाँ प्रधानमन्त्री र महासचिव शंकर पोखरेल लुम्बिनीको मुख्यमन्त्री रहेको समयमा सुरु गरी निर्माण सम्पन्न भएको सभाभवनको समेत निरीक्षण गर्नुभएको छ । उक्त सभा भवन पाँचहजार जनासम्मको सहभागितमा कार्यक्रम गर्नसक्ने क्षमताको रहेको छ । 
कपिलधाममा प्रवचन
अध्यक्ष ओली सोही दिन कपिलवस्तुको वाणगङ्गा नगरपालिकास्थित कपिलधाम पुग्नुभयो । कपिल ऋषिले तपस्या गरेको र ज्ञान बाँडेको ठाउँका रूपमा लिइने कपिलधाम पुग्दा अध्यक्ष ओलीलाई बटुकहरूले स्वागत गरेका थिए । कपिलमुनि वैदिक संस्कृति विद्यापीठ गुरुकुलमा करिव २० मिनेट उहाँले प्रवचन दिनुभयो । अध्यक्ष ओलीले मानव जातिको इतिहासमा महर्षी शिव र बेद तथा मन्त्रहरूको पनि महामन्त्र अर्थात गायत्री मन्त्रका रचयिता विश्वामित्रपछिका महान विद्वान कपिल ऋषि भएको सुनाउनुभयो । त्रेता युगको अन्त्यतिर जन्मिएका कपिल ऋषि असाधारण दार्शनिक रहेको भन्दै ओलीले साङ्ख्य दर्शन र योग उहाँले व्यवस्थित गरेको बताउनुभयो । कपिल ऋषि कपिलवस्तुमै जन्मिएको र ज्ञान आर्जन तथा दर्शनको प्रादुर्भाव पनि यहीँबाट गरेको भन्दै अध्यक्ष ओलीले कपिलधामको विकासमा सक्दो सहयोग गर्ने बताउनुभयो ।

 
उहाँले आश्रमको व्यवस्थापन र गुरुकुलमा पढ्ने बटुकहरूको पोशाकका लागि सहयोग भन्दै पाँचलाखको अक्षयकोष स्थापना समेत गर्नुभयो ।
सुपादेउरालीमा दर्शन
अध्यक्ष ओलीले अर्घाखाँची, गुल्मी र पाल्पाको भ्रमण सडकमार्गबाट गरिरहनुभएको  छ । चैत १२ गते विहान अर्घाखाँची जाने क्रममा शीतगङ्गा नगरपालिका–३ मा पर्ने ठाडादहमा स्थानीय नेताकार्यकर्तासँग भेटघाट गर्नुभयो । त्यहाँको भव्य स्वागतपछि अध्यक्ष ओलीले सुपा देउराली पुगेर मन्दिरमा दर्शन गर्नुभयो ।

 

पछिल्लो समय सुपादेउराली मन्दिरको महत्व र यस मन्दिरको आम्दानीबाट विद्यालय सञ्चालन लगायत सामाजिक काम भएका विषयले देशभर चर्चा पाएको छ भने देशका विभिन्न जिल्ला र काठमाडौंबाट समेत हजारौं तीर्थयात्री सुपादेउरालीको दर्शनका लागि जाने गरेका छन् । 
अर्घा भगवती मन्दिरको अवलोकन 
अध्यक्ष ओलीले अर्घाखाँचीमा रहँदा चैत १२ गते ऐतिहासिक तथा सांस्कृतिक महत्वको अर्घा भगवती मन्दिरको अवलोकन गर्नुभयो । विशेष गरी वडादशैं तथा चैतेदशैंमा पूजा पाठ हुने अर्घा भगवती मन्दिरमा वडादशैंमा ठूलो मेला लाग्नुका साथै सराय नाच हुने गर्छ । 
त्यसैगरी उहाँले अर्घाखाँचीमा निर्माणाधीन विमानस्थलको पनि निरीक्षण गर्नुभयो । सन्धिखर्क नगरपालिका– १० मा निर्माणाधीन उक्त विमानस्थलको निर्माण आरम्भ अध्यक्ष ओली प्रधानमन्त्री रहनुभएको समयमा भएको हो । 
अध्यक्ष ओलीले अर्घाखाँचीको बसाईमा चर्चित बर्रे सङ्घर्षका योद्धाहरू नेत्र ढुङ्गाना, लिलामणि ढुङ्गाना, बुद्धि रायमाझीसँग भेट गरी जेल जीवनसङ्गै विताउँदाका क्षणहरूको स्मरण गर्नुभयो । त्यस्तै, बर्रे घटनाका अर्का योद्धा हेमनाथ भुसालका छोरा र गत फागुनमा महाधिवेशनमा भाग लिन विराटनगर जानुभएको समयमा सडक दुर्घटनामा ज्यान गुमाउनुभएका राष्ट्रिय युवा संघ, नेपालका जिल्ला नेता प्रकाश महतका परिवारलाई पनि भेट्नु भएको नेकपा (एमाले) अर्घाखाँचीका अध्यक्ष पिताम्वर भुसालले वताउनुभयो । 
मालारानीमा भव्य स्वागत, सुपो र डाली उपहार
उहाँ चैत १३ गते अर्घाखाँचीको मालारानी गाउँपालिकाको खन, खनदह, डाँडाकटरी, छेडाका ठाँटी हुँदै गुल्मीको सदरमुकाम तम्घास पुग्नुभएको थियो । अध्यक्ष ओलीलाई मालारानी–४ को लुटिपोखरी, गाउँपालिका कार्यालय, खनदहमा मिसन ग्रासरुटका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका पोलिटव्यूरो सदस्य सूर्य थापा, पालिका अध्यक्ष दलबहादुर भट्टराई, पुराना कम्युनिष्ट नेता गंगाराम खनाल, पार्टी कमिटीका पदाधिकारी लगायत स्थानीय बासिन्दाबाट भव्य स्वागत गरिएको थियो ।

खन लुटिपोखरीमा अध्यक्ष ओलीलाई बाजागाजासहित भव्य र भावविभोर रूपमा स्वागत गरेका स्थानीय वासिन्दाले आफ्नै उत्पादन बाँसको चोयाबाट बनाइएका डाली र सुप्पो (नाङ्लो) उपहार दिइएको थियो ।  मालारानीमा अध्यक्ष ओलीले निर्माणाधीन अस्पतालको पनि निरीक्षण गर्नुभयो । करिव निर्माण सम्पन्न अवस्थामा पुगेको उक्त अस्पताल अध्यक्ष ओली प्रधानमन्त्री रहनुभएको समयमा देशभर एकसाथ शिलान्यास गरिएका ३९६ अस्पतालमध्ये एक हो ।

 

यसैगरी अध्यक्ष ओलीले गुल्मीमा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्वोधनपछि ऐतिहासिक तथा पर्यटकीय महत्व रहेको रेसुङ्गाको अवलोकन गर्नुभयो ।

चैत १४ गते पाल्पा आउने क्रममा अध्यक्ष ओली गुल्मी, श्रृङ्गाको भ्रमण गर्नुभयो भने रिडीमा कालीगण्डकी नदीमाथि तीन जिल्ला (गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने गरी बनाइएको तीनमुखे झोलुङ्गे पुल निरीक्षण गर्नुका साथ पैदल हिडेर वारपार गर्नुभयो ।