detail-img

समृद्ध नेपाल निर्माण गरी जनतालाई खुशी बनाउने एमालेको चाहना

गुल्मी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि पार्टी एकल बहुमतका साथ सरकारमा पुग्नु आवश्यक रहेको वताउनुभएको छ । अध्यक्ष ओलीले देशलाई सङ्कटबाट बचाउन पनि एमालेको बहुमत आवश्यक रहेको वताउनुभयो । 
मिसन ग्रासरुट अन्तर्गत गुल्मीको तम्घासमा सोमबार (२०७९ चैत १३ गते) भएको बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माण गरी नेपाली जनतालाई खुशी बनाउन चाहेको वताउनुभयो । 
उहाँले भन्नुभयो– नेपाली जनतालाई अधिकार सम्पन्न बनाउनका लागि एमालेले एकल बहुमत प्राप्त गर्न आवश्यक रहेको छ ।


अहिले देशलाई समृद्ध बनाउन नदिनका लागि सबै शक्ति एकजुट भएको उहाँको भनाई छ । 
अध्यक्ष ओलीले नेकपा (एमाले) सरकारमा हुँदा शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा गरिएका भौतिक संरचना निर्माण लगायत विकासका कामको चर्चा गर्नुभयो । 
अध्यक्ष ओलीले पार्टीका विरुद्धमा चौतर्फी घेराबन्दी र षडयन्त्र भएको वताउँदै अब मिसन ग्रासरुट मार्फत पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउन आवश्यक छ भन्नुभयो ।
नेकपा (एमाले) सँग ठूलो संगठन रहेको हुँदा संगठनलाई चुस्तदुरुस्त र अनुशासित, एकताबद्ध बनाउँदै योजनाबद्ध सक्रियताका साथ अगाडि बढाउनुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । 
उहाँले आगामी निर्वाचनहरूमा पार्टीले ५१ प्रतिशत भन्दामाथि एक्लै  जित्न सक्ने अवस्थामा पुर्याउनुुपर्ने हुँदा पार्टीका सबै कमिटीहरू त्यो लक्ष्यका साथ परिचालित हुनुपर्ने  आवश्यकता रहेको वताउनुभयो । अध्यक्ष ओलीले मिसन ग्रासरुटको उद्देश्य यही रहेकाले हरेक टोलमा संगठन, हरेकको घरमा सदस्यलाई अभियानका रूपमा सञ्चालन गर्न सबैलाई लाग्न निर्देशन दिनुभयो । 
अध्यक्ष ओलीले पार्टीका कोही पनि नेताकार्यकर्ता उत्ताउलो नभई शालीन हुनुपर्ने वताउँदै खहरे जस्तो नभई गंगा जस्तो हुनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो– नेकपा (एमाले) का नेताकार्यकर्ताको काम गर्ने शैली, आचरण, व्यवहार अनुकरणीय हुनुपर्छ । 
अध्यक्ष ओलीले नेपाली कांग्रेस इतिहासको कुनै कालखण्डमा इमानदार हुन नसकेको बताउनुभयो । पछिल्लो समय संविधान निर्माणपछि एमालेको नेतृत्वको सरकार बन्ने भनेर कांग्रेससँग सहमति भए पनि कांग्रेसले इमानदारी नदेखाएको उहाँले स्मरण गर्नुभयो । अध्यक्ष ओलीले नेपालको अहिलेको संविधान बनाउन र जारी गर्न नेकपा (एमाले) को महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो । 
जब जब नेकपा (एमाले) को नेतृत्वमा सरकार बन्छ, देश र जनताको हितमा, विकासका काम हुने गरेको र एमालेले गरेका कामबाट आतङ्कित भएर विरोधीहरूले अनेक जालझेल गरी सरकारबाट हटाउने गरेको चर्चा गर्दै अध्यक्ष ओलीले पछिल्लो समय पनि सरकारमा रहँदा नराम्रो काम गरेका कारण हटाइएको नभई आतङ्कित भएर जालझेल गरी हटाइएको स्पष्ट गर्नुभयो । 
कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिवद्वय गोकर्ण विष्ट र छविलाल विश्वकर्माले प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो । नेकपा (एमाले) गुल्मी जिल्ला अध्यक्ष बालकृष्ण काउछाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, पोलिटव्यूरो सदस्य ठाकुर गैरे र विमला घिमिरे, केन्द्रीय सदस्य दिनेश पन्थी लगायत नेताहरू तथा ठूलो सङ्ख्यामा कार्यकर्ताको उपस्थिति रहेको थियो ।