detail-img

विदेशबाट सीप, ज्ञान र सङ्कल्प बोकेर फर्केका युवालाई सहीरूपमा परिचालन गर्नुपर्नेः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किनुभएका युवालाई सहीरूपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था समेत सुधार हुने बताउनुभएको छ । 
अध्यक्ष ओलीले विदेशबाट फर्किएका युवाहरूको संगठन रिटर्नी फेडेरेशन नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको शनिबार राजधानीमा उद्घाटन गर्दै उक्त धारणा राख्नुभएको हो । 
उहाँले विदेशबाट फर्किनुभएका युवालाई सहजरूपमा उत्पादनलगायत क्षेत्रमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्थाका साथै स्थानीय समस्या पनि समाधान हुने बताउनुभएको हो । 
विदेशमा हासिल गरेका अनुभवहरूलाई स्वदेशमा नै परिपक्व ढङ्गले सदुपयोग गर्नुपर्ने उहाँको भनाइ छ ।


नेपालमा साम्प्रदायिकताको नारा लगाएर समस्याको समाधान नहुने धारणा व्यक्त गर्दै अध्यक्ष ओलीले सामुहिक ढङ्गले समस्या बुझ्दै अघि बढ्न फेडेरेशनलाई सुझाव दिनुभएको छ । 
विदेशमा बसेर फर्केकाहरूले केही ज्ञान, केही सीप, केही सङ्कल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउनका लागि रिटर्र्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले नेपाल बसोबासको हिसाबले स्वर्ग भएको उल्लेख गर्दै यहीँ केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरूलाई सिर्जनशील र उत्पादनमूलक काममा प्रोत्साहन गर्नुपर्नेे बताउनुभयो ।कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरू माधव ढुंगेल, रचना खड्का लगायत नेताहरूको उपस्थिति रहेको थियो । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।