१७ असार (२०८२), सेभिया (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता अनुमान गर्न सकिने र विकासशील देशको आवश्यकतासँग अनुकूल हुनुपर्नेमा जोड दिनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री ओलीले ‘थिम आधारित राउण्ड टेबल–अन्तरराष्ट्रिय विकास सहयोगको पुनर्जीवन’ मा सहअध्यक्षतासहित सम्बोधन गर्दै साझा विश्वव्यापी समृद्धिको मार्गलाई पछ्याउँदै आवश्यकताभन्दा कम र असन्तुलित रूपमा प्रवाह भइरहेको विकास सहायतामा रूपान्तरण हुनुपर्ने बताउनुभयो । विकसित देशले आफ्ना प्रतिबद्धतालाई बोलीमा नभई व्यवहारमा उतार्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी हतियारमा होइन, मानिसहरूमा लगानी गरौँ । जलवायु वित्तलाई मापन गरी सन्तुलित लगानी बढाऔँ । अन्तरराष्ट्रिय विकास सहयोगको वास्तविक उद्देश्य निर्भरता होइन, सम्मान र मर्यादा पनि हो ।”
उहाँले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित देशहरूमा अनुकूलन र न्यूनीकरणको लागि छुट्याइएको नयाँ र थप स्रोतहरूको सुनिश्चिताताका लागि पनि आह्वान गर्नुभयो ।
प्रधानमन्त्री ओलीले स्थानीय स्वामित्व केन्द्रित, पारस्परिक विश्वासलाई बढावा दिने र पारदर्शिता र साझेदारीलाई कायम राख्नेगरी लगानी बढाउन आग्रह गर्दै सेभिया (सेभिल्ला) प्रतिबद्धताले विश्वव्यापी विकास सहयोगलाई पुनः रूपान्तरण र पुनर्जीवित गर्ने एउटा महत्त्वपूर्ण अवसर प्रदान गरेको बताउनुभयो ।
“यो एउटा ऐतिहासिक उपलब्धि हो, तर यसको सफलता हाम्रो सामूहिक सङ्कल्पमा निर्भर रहन्छ”, उहाँले भन्नुभयो, “दाताहरूको विभाजन, समन्वयको अभाव, प्राथमिकताहरूमा परिवर्तन र राष्ट्रिय प्रणालीहरूलाई बाइपास गर्नेजस्ता कार्यहरूले सहायताको प्रभावकारितालाई निरन्तर कमजोर बनाइरहेका छन् । यस्ता कमजोरीहरूलाई सुधार गरेर जानुपर्छ भन्ने हामी सबैको चाहना हो ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिएको राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको पहलमा पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाहसम्बन्धी उच्चस्तरीय साइड इभेन्टमा सहभागी हुनुभएको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खानेपानी र सरसफाइ आधारभूत मानव अधिकारको विषय भएकाले यसलाई विकासको लक्ष्य मात्र नभइ मानवीय सम्मान र सभ्यतासँग जोडेर हेर्न आह्वान गर्नुभयो ।
विश्वका अबौँ मानिस खानेपानी र सरसफाइको अभावमा जनस्वास्थ्यका समस्या भोगिरहेको उल्लेख गर्दै उहाँले साझा प्रयासबाट यसको समाधान गर्न सकिने बताउनुभयो । “विश्वलाई स्वच्छ खानेपानी र सरसफाइपूर्ण बनाउन सकिन्छ । यसका लागि नेपाल पूर्ण प्रतिबद्ध छ ।
हामीले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँचलाई संविधानको मौलिक हकका राखेका छौँ । यो हकको कार्यान्वयन चुनौतीपूर्ण भए पनि समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ हामीले यसलाई प्रमुख प्राथमिकतामा साथ पूरा गर्ने छौँ ।”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपालको अनुभवका आधारमा पानी र सरसफाइ अभियान (वास) लाई राष्ट्रिय सफलताको विषय बनाउने बलियो आधार तय भएको पनि उल्लेख गर्नुभयो ।