२३ जेठ (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय हित अनुसारको विचार निर्माणमा सक्रिय रहन बौद्धिक बर्गलाई आग्रह गर्नुभएको छ ।
नेपाल बौद्धिक परिषद्का नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै उहाँले पार्टीको उद्देश्य अनुरुप विचार निर्माणमा भूमिका बहन गर्न आग्रह गर्नुभएको हो । बाहिरी अनुसन्धानलाई मात्रै बौद्धिक सम्पत्ति ठान्ने प्रवृत्ति अन्त्य गर्दै मौलिक अध्ययन, अनुसन्धान र विश्लेषणमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
गलत विचार र प्रायोजित कुराहरूको सम्प्रेषणले समाजमा नकारात्मक प्रभाव परिरहेको चर्चा गर्दै महासचिव पोखरेलले कतिपय नेपाली पाठ्य पुस्तक र ऐन कानुन समेत निर्देशित हुने गरेकोप्रति सजग र सचेत हुन आवश्यक रहेको बताउनुभयो ।
उहाँले सूचना प्रविधिको सदुुपयोगबाट तथ्य लिन र मौलिक विश्लेषण गर्न बौद्धिक बर्ग अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
महासचिव पोखरेलले मसिनो गृहकार्य गरी अघि बढ्न र बौद्धिक कर्म गर्नेहरूको सङ्गठनका रूपमा स्थापित गर्न नवनिर्वाचित नेतृत्वलाई शुभकामना दिनुभयो ।
सो अवसरमा परिषदका नवनिर्वाचित अध्यक्ष गजेन्द्र प्रसाद थपलियाले नयाँ नेतृत्व चयन भए लगत्तै भएका गतिविधिहरूबारे अवगत गराउँदै बौद्धिकता प्रदर्शन गर्ने योजनासहित सङ्गठनलाई थप सशक्त र राम्रो बनाउने प्रतिवद्धता जनाउनुभयो ।
काठमाडौंमा सम्पन्न परिषद्को ११औं राष्ट्रिय महाधिवेशनले थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।