detail-img

एमाले हुँदैनथ्यो भने नेपाल अन्तर्राष्ट्रिय क्रिडास्थल बन्थ्योः महासचिव पोखरेल

१८ जेठ (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली समाजलाई पछाडि फर्काउने कुत्सित मनसाय बोकेर केही शक्तिहरू भ्रमको खेतीमा लागेको बताउनुभएको छ । 
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाली राजनीतिमा जनताको बलिदानबाट स्थापित लोकतन्त्र र गणतन्त्रमाथि नै अनास्था र अविश्वास हुने हिसाबले चर्चा परिचर्चा गर्ने गरेको बताउनुभयो । 
लोकतन्त्रले केही दिएन, बरु यो भन्दा राजतन्त्र नै ठिक थियो भन्ने हिसाबले समेत प्रचार गर्ने प्रयत्न भएको उहाँले सुनाउनुभयो । 
राजावादी र मण्डलेहरूले जे भनिरहेका छन् त्यो सही हो कि होइन भन्ने कुरा व्यावहारिक हिसाबमा हेर्नुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले भन्नुभयो– लोकतन्त्रले नेपाली समाज परिवर्तनको लागि ठुलो सहयोग गरेको छ तर त्यो कुरा हामीले जनताको माझमा जुन हिसाबले पुर्याउनुपर्ने थियो, त्यस हिसाबले पुर्याउन सकेका छैनौँ । 
उहाँले पञ्चायतको अवधिमा निर्माण भएको अर्थतन्त्रको आकार र अहिलेको अर्थतन्त्रको आकार, नेपालीको विगतको र अहिलेको प्रतिव्यक्ति आय, आर्थिक, सामाजिक विकासलाई तुलना गरेर हेर्न आग्रह गर्नुभयो । 
नेपालमा वामपन्थीले सरकारको नेतृत्व गर्दा के कुरा फरक भयो भन्ने कुरा पनि तुलना गरेर हेर्न महासचिव पोखरेलले आग्रह गर्नुभयो । नेपालको आर्थिक, सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य हरेक क्षेत्रमा एमाले नेतृत्वमा हुँदा निक्कै सुधार भएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– नेपाली समाज हिजोको तुलनामा सकारात्मक बाटोमा जाँदै छ । 
नेपालको आर्थिक विकासमा एमालेले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उहाँले जब एमाले सरकारबाट हट्छ तब देश आर्थिक सङ्कटमा पर्ने गरेको बताउनुभयो । 
पार्टी अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्वमा हुँदा नेपालले उच्चतम आर्थिक वृद्धिदर हासिल गरेको बताउँदै महासचिव पोखरेलले कोभिड महामारीको समयमा समेत नेपालको अर्थतन्त्रले तुलनात्मक रूपमा कम क्षति बेहोरेको स्मरण गराउनुभयो । ‘नेकपा (एमाले)ले आर्थिक, सामाजिक विकासमा सदैव सकारात्मक र प्रभावकारी भूमिका खेलेको छ’, उहाँले भन्नुभयो । 
यति हुँदा हुँदै पनि अहिले एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दी र आक्रमणको कारण के हो भन्ने कुरा बुझ्न आवश्यक रहेको महासचिव पोखरेलले बताउनुभयो । 
राजावादी मण्डले, माओवादी, रास्वपा लगायतले एमालेविरुद्ध सुनियोजित रूपमा आक्रमण गरिरहेका उहाँले सुनाउनुभयो । हिजो सत्तामा जानको लागि एमालेका अध्यक्षको निवासमा धाउनेहरू नै आज एमालेविरुद्ध प्रहारमा उत्रिएका महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । 
उहाँले भन्नुभयो– ‘हाम्रो पार्टी र हाम्रो नेतृत्वमाथि सङ्गठित रूपमा आक्रमण भइरहेको छ, एमालेलाई कमजोर पार्दा मात्र आफ्नो भविष्य सुरक्षित हुन्छ भनेर अहिले उनीहरू एमालेलाई कमजोर बनाउने मिसनमा लागेका छन् । 
नेपाललाई आफ्नो क्रिडास्थल बनाउन चाहने अन्तर्राष्ट्रिय शक्तिले पनि एमालेमाथि प्रहार गरिरहेका महासचिव पोखरेलले बताउनुभयो । ‘एमाले जस्तो देशभक्त पार्टी नेपालमा हुँदैन थियो भने नेपाल अन्तर्राष्ट्रिय क्रिडास्थल बन्थ्यो’, उहाँले भन्नुभयो । 
महासचिव पोखरेलले राज्यलाई कमजोर बनाएर देश र नागरिक कहिल्यै पनि बलिया हुन नसक्ने बताउनुभयो । बलियो राज्यले मात्र देश र जनताको सुरक्षा गर्न सक्ने कुरालाई भुल्न नहुने उहाँको धारणा छ । 
बाहिरको कुरा गरिरहँदा पार्टीभित्रै पनि केही समस्या रहेको बताउँदै पार्टीभित्र पनि अराजकतावाद र अवसरवाद मौलाउँदै गएको धारणा महासचिव पोखरेलले राख्नु भयो । म भए ठिक अरू भए छाड्दिन भन्ने धारणा पार्टीका नेता कार्यकर्तामा बढ्दै गएको बताउँदै उहाँले यो पार्टी र देशको लागि घातक हुने बताउनुभयो । 
मिसन–२०८४ नेकपा (एमाले)को अबको लक्ष भएको बताउँदै महासचिव पोखरेलले यसबाट एमालेले एकल बहुमतको सरकार बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । अब धेरै दल होइन बलिया राजनीतिक दल देशलाई आवश्यक परेको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । 
अहिले दुईवटा दल मिलेर सरकार चलाइरहँदा एकल सरकार चलाएजस्तो सहज नभएको उहाँले बताउनुभयो । संयुक्त सरकार चलाउनु पर्दा आफ्ना विचार र दृष्टिकोण पूर्णरूपमा लागु गर्न नसकिने महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । 
प्रचण्डले एमाले र कांग्रेससँग छलछाम गरेको कारण दुई ठुला पार्टी मिलेर सरकार बनाउनु परेको उहाँले बताउनुभयो । यसले साना पार्टीको ठुला पार्टीमाथिको रजाइँ अन्त्य भएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । दुई ठुला दलको सरकार बनेपछि देशको आर्थिक क्षेत्रमा उल्लेख्य सुधार भएको उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले नेपालको सामाजिक विकासका दृष्टिकोणले स्वास्थ्य क्षेत्र अति महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो । सीमित जनशक्ति र साधन स्रोतका बीचमा पनि नेपालको स्वास्थ्य क्षेत्रले सामाजिक विकासमा पुर्याएको योगदान निक्कै महत्वपूर्ण भएको उहाँको धारणा छ ।