detail-img

सामाजिक सञ्जालको लोकप्रियता राजनीतिको लोकप्रियता होइनः महासचिव पोखरेल

१० जेठ (२०८२), चितवन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको लोकप्रियता राजनीतिको लोकप्रियता नभएको बताउनुभएको छ ।
राष्ट्रिय चिकित्सक संघ, नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रबार भरतपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले कुनै एउटा क्षेत्रमा सफल हुनुको अर्थ हरेक क्षेत्रमा सफल हुनु भन्ने नभएको धारणा राख्नुभयोे ।
उहाँले सामाजिक सञ्जालमा चर्चामा आएका मान्छेले ‘म राजनीतिमा सफल हुन्छु’ भन्ने ठानेर हामफाल्ने गरेको चर्चा गर्दै उहाँले भन्नुभयो– यो राजनीति हो, सामाजिक सञ्जालमा सफल व्यक्ति यसमा सफल हुँदैनन् । 
इतिहास बोकेका राजनीतिक दलहरूलाई उपेक्षा गरेर देश अघि बढ्न नसक्ने उहाँको भनाइ छ ।
अमेरिकामा सयौं वर्षदेखि रिपब्लिकन र डेमोक्य्राट दुई पार्टी आपसमा प्रतिस्पर्धा गरिरहेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– अमेरिकामा दुईवटा पार्टीले आलोपालो विश्व साम्राज्य चलाएकै छन् । अमेरिकी जनताले ती पार्टीको विकल्प नखोजीकन अमेरिका चलेकै छ । नेपालमा ‘पार्टीहरू पुराना भए हामीलाई नयाँ चाहियो’ भनेर नारा लगाइँदै छ ।
बेलायतमा पुराना पार्टीको सान्दर्भिकता सकियो अब नयाँ चाहियो भन्ने सुन्नु नपरेको बताउँदै उहाँले अगाडि थप्नुभयो–नेपालीहरू यति दिग्गज भइसक्यौं, दुनियाँमा जे कुराको चर्चा भयो त्यो चाहिहाल्ने ?
राजनीति आफैमा एउटा विज्ञान भएको र यसका आफ्नै मूल्य मान्यता हुने चर्चा गर्दै महासचिव पोखरेलले नेपालको राजनीतिको कुरा गर्दा नेकपा (एमाले) विचार, सिद्धान्त, सङ्गठन, जीवनशैली र आचरणका हिसाबले अरुभन्दा अब्बल रहेको बताउनुभयो ।
‘एमालेभित्र पनि बेलाबखत विकृति, विसङ्गति देखिन्छन् । त्यो अपवाद हो, त्यो मूल चरित्र होइन’, महासचिव पोखरेलले भन्नुभयो– हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो, जसले व्यक्तिमाथि प्रश्न उठ्यो भने त्यसलाई व्यक्तिगत प्रश्न ठान्छ । कसैमाथि अभियोग लागेर हिरासतमा गयो भने हामी निलम्बन गर्दछौं ।
नेपालका अरु कुनै पार्टीले त्यसप्रकारको आँट नगर्ने उहाँको भनाइ छ । महासचिव पोखरेलले भन्नुभयो– त्यसकारण हामी सुशासन र पारदर्शीका कुरामा नेपालका थुप्रै पार्टीको तुलनामा व्यवस्थित छौं ।
नेकपा (एमाले)को लेखा प्रणाली व्यवस्थित भएकै कारण अरुले धनी पार्टी भन्ने गरेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो–अरु पार्टी अर्बौंको कारोबार गर्छन् तर उनीहरूका आर्थिक क्रियाकलाप अपारदर्शी छन्, सत्य यही हो ।
‘एमालेलाई अब नरोक्ने हो भने त हाम्रो भविष्य बर्बाद हुन्छ’ भनेर एमालेमाथि चौतर्फी आक्रमण भएको भन्दै महासचिव पोखरेलले भन्नुभयो– यो पार्टी सङ्कटपूर्ण अवस्थामा त यसरी माथि उठ्दो रहेछ, अब त यससँग मुकाविला गर्न गाह्रो हुन्छ भनेर घेराबन्दी गर्ने प्रयत्न भएको छ ।
कार्यक्रममा नेकपा (एमाले) स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले मिसन–२०८४ मा स्थानीय तह एमालेमय बनाउन र प्रदेश र सङ्घमा कम्फर्टेबल बहुमत पुग्ने अभियानमा लाग्नुपर्ने बताउनुभयो । 
उहाँले चिकित्सकहरूलाई २०८२ मा हुने नेपाल चिकित्सक संघको निर्वाचनमा जित हासिल गर्ने गरी मिसन–२०८२ लिएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– विगतको समीक्षा गर्दै भावि योजना कार्यान्वयन गर्न सक्ने नेतृत्व चयन गर्नुहोस् ।
सो अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष झलक शर्मा गौतमले नीति निर्माण तहमा स्वास्थ्यकर्मी पुर्याउने राजनीति कमजोर बन्दै गएको बताउनुभयो । उहाँले सुखी नेपाली समृद्ध नेपाल बनाउने हो भने स्वास्थ्यकर्मी नीति निर्माण तहमा पुग्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष डा.सन्तोष पौडेल, डा. कृष्ण अधिकारी, डा. आनन्द सिंह, डा. विकास गौचन, डा. अरुण उप्रेती, डा. विकास गुप्ता, एमाले नेताहरू कपिलदेव पोखरेल, प्रभा बराल, विमला दवाडी, श्याम बिष्ट लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विभिन्न प्रस्तुती दिंदै चिकित्सकहरूले पार्टीले चिकित्सकलाई प्रयोग मात्रै गर्ने गरेको तर चिकित्सकका समस्यामा गम्भीर नबनेको गुनासो गर्नुभएको थियो ।
संघका अध्यक्ष प्रा.डा.जागेश्वर गौतमको अध्यक्षतामा भएको कार्यक्रम चितवन जिल्ला अध्यक्ष डा. प्रतिक न्यौपाने र संघका महासचिव डा. छवि पन्थीले सञ्चालन गर्नुभएको थियो । सम्मेलनमा देशभरका तीन सयभन्दा बढी चिकित्सकहरू सहभागी हुनुहुन्छ ।