detail-img

अध्यक्ष ओलीद्वारा सबै बामपन्थी, कम्युनिष्टहरूलाई एमालेमा समाहित हुन  आह्वान

२४ बैशाख (२०८१), काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै वामपन्थी पार्टीबीच एकताको आवश्यकता रहेको बताउनुभएको छ । 
आज च्यासल, ललितपुरमा आयोजित ‘वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचनपछि सम्वोधन गर्दै अध्यक्ष ओलीले सबै बामपन्थी र कम्युनिष्टलाई एमालेमा समाहित हुन आह्वान गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– आफूलाई वामपन्थी र कम्युनिष्ट भन्ने सबैलाई एमालेको सही धारमा समाहित हुन म आग्रह गर्न चाहन्छु । सबै आउनुहोस्, सबै एकजुट हौँ ।
उहाँले आफूहरू एमालेलाई निर्णायक तहमा विकास गर्न चाहेको र त्यसका लागि एकता अभियान सञ्चालन गर्ने बताउँदै यो स्वार्थका लागि नभई सफलताका लागि भएको स्पष्ट गर्नुभयो ।
अध्यक्ष ओलीले इलाम र बझाङमा सम्पन्न उपनिर्वाचन परिमाण मिसन–२०८४ को सफलताको सुरुआत रहेको बताउनुभयो । 
उहाँले भन्नुभयो– हाम्रो पक्षमा उपनिर्वाचनको नतिजा आयो । यो हाम्रो मिसन–८४ तर्फको सफलताको सुरुआत हो । मिसन–८४ लाई हामी सफल पारेर छाड्छाँै । यस अभियानमा सही ढङ्गले समाहित हुन साथीहरूलाई आग्रह गर्न चाहन्छु ।
उहाँले बामदेव गौतमले आफू एमालेमा फर्कन चाहेको भनि राखेको एकताको भावना निक्कै सकारात्मक भएको बताउनुभयो । अध्यक्ष ओलीले अहिले देशमा एउटा भुईँफुट्टा वर्ग जन्मिएको बताउँदै त्याग, बलिदान र योगदान बिर्सने मात्र होइन, योगदानको समेत अवमूल्यन गर्ने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । 
नेकपा (एमाले) यी सबै कुरालाई चिरेर अघि बढेको उहाँले  बताउनुभयो । नेकपा (एमाले)लाई सिध्याउन देशी विदेशी शक्तिहरू लागेपछि यो राष्ट्रिय शक्तिका रूपमा स्थापित भएको र अहिले देश एमालेमय भएको अध्यक्ष ओलीले बताउनुभयो । 
उहाँले सिद्धिनाथ ज्ञवाली देश, जनता, पार्टी र आन्दोलनप्रति निष्ठा भएको राजनीतिज्ञ र परिवर्तन साकार पार्नका लागि साच्चै समर्पित भएर रात दिन काम गर्ने व्यक्ति रहेको बताउनुभयो । 
कार्यक्रममा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले एमालेमा प्रवेश गर्न आफू तयार रहेको जानकारी दिनुभयो । उहाँले पार्टीले दिएको जिम्मेवार अहिले पनि आफूले पूरा गर्न सक्ने जनाउँदै गल्ती कमजोरीप्रति आत्मालोचना गरेर पुनः पार्टीमा फर्कन तयार रहेको स्पष्ट गर्नुभयो । 
कार्यक्रममा नेकपा (एमाले) उपाध्यक्ष युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल लगायत नेताहरूको पनि उपस्थिति रहेको थियो ।