detail-img

प्रतिनिधि परिषद् बैठकः पार्टी र मुलुक अगाडि बढाउने सन्दर्भमा दिशा निर्देश गर्ने विश्वास

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा दिशा निर्देश गर्ने बताउनुभएको छ । 
भोलिदेखि शुरु हुने परिषद् बैठकको तयारीबारे जानकारी गराउन आज पार्टी कार्यालय, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले बैठक मुलुकको राष्ट्रिय राजनीतिलाई सही दिशामा अघि बढाउने सन्दर्भमा पनि महत्वपूर्ण हुने बताउनुभयो । 
मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गर्ने विश्वास महासचिव पोखरेलले व्यक्त गर्नुभयो । 
उहाँले बैठकमा मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशा दिने प्रयत्नको संश्लेषण र पार्टीको दशौं राष्ट्रिय महाधिवेशन यताको समग्र कामको समीक्षा गरिने बताउनुभयो । 
बैठकमा मिसन ग्रासरुट, झुलाघाट–चिवाभञ्याङः समृद्धिका लागि सङ्कल्प यात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकालिने महासचिव पोखरेलले बताउनुभयो । 
परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ । यसैगरी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का प्रतिवेदन पनि बैठकमा प्रस्तुत हुने छन् । बैठकमा २०८१ साललाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्य योजना प्रस्तुत गरिने छ । प्रस्तुत प्रतिवेदन र कार्ययोजनामाथि बैठकमा सहभागीहरूले पूर्ण लोकतान्त्रिक विधिबाट आ–आफ्नो राय, सुझाव र टिप्पणी राख्ने छन् । 
शनिबार र आइतबार दुई दिन हुने परिषद् बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू २०७३ जना, केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् सदस्य बाहेकका ३८१ जना आयोजक गरी २४५४ जना सहभागी हुने छन् । 
पत्रकारहरूको जिज्ञासामा महासचिव पोखरेलले नेकपा (एमाले) आगामी चुनावसम्म यही सरकारलाई निरन्तरता दिन चाहन्छ भन्नुभयो । 
उहाँले अहिलेको सरकारले जनतामा छाएको निराशा चिरेर मुलुकलाई सही ढङ्गबाट अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । 
महासचिव पोखरेलले मुलुकको बृहत्तर हितमा राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्र्छ भन्ने मान्यतामा एमाले प्रष्ट रहेको बताउनुभयो । 
पत्रकार सम्मेलनमा पार्टीका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबै तयारी पूरा भएको जानकारी गराउनुभयो । 
परिषद् बैठक ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा हुनेछ । एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पूरा भएको अवसरमा पार्टीले वैशाख १० गते गोदावरीमै हीरक महोत्वस विशेष समारोहको आयोजना गरिएको छ । 
महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरिएको छ ।
उक्त हीरक महोत्सवमा गणतन्त्र गौरव सम्मानबाट एकजना विशिष्ट व्यक्तिलाई सम्मान गरिने पत्रकार सम्मेलनमा बताइयो ।