detail-img

गुल्मीको वामीटक्सारमा विशाल सभाको तयारी

काठमाडौं । नेकपा (एमाले)को पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्रा अभियान टोली मङ्सिर २० गते गुल्मी आइपुग्ने र मुसिकोट नगरपालिकाको वामीटक्सारमा हुने सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेकाले गुल्मीको सिङ्गो पार्टी कमिटी सभालाई भव्य बनाउने तयारीमा जुटेको छ ।  
झुलाघाट–चिवाभञ्ज्याङ्ः समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत  मुसिकोट नगरपालिकाको वामीटक्सारमा विशाल सभाको तयारी भइरहेको र सभामा दशहजारभन्दा बढीको सहभागिता हुने नेकपा (एमाले) गुल्मीले जनाएको छ । 
आइतबार पत्रकार सम्मेलनको आयोजना गरी नेकपा (एमाले) गुल्मी जिल्ला कमिटीले आमसभाको तयारीका बारेमा जानकारी गराएको हो ।


पत्रकार सम्मेलनमा पार्टीका पोलिटव्यूरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले वैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म पार्टीले अभियानका रूपमा शुरू गरेको समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरूले जनताका समस्या बुझ्ने, गुनासा सुन्ने, विकास योजनाका बारेमा जानकारी लिने काम भएकाले यात्राबाट पार्टीपङ्ती र जनतामा ठूलो उत्साह पैदा गरेको बताउनुभयो । यात्रा अभियानबाट पार्टीलाई थप सुदृढ बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । 
इन्चार्ज थापाले गुल्मीको वामीटक्सारमा हुने सभालाई भव्य बनाउन जिल्लाको सिङ्गो पार्टी कमिटी बैठकहरू सम्पन्न गरी तयारीमा जुटिरहेको बताउनुभयो । 
नेकपा (एमाले) गुल्मीका अध्यक्ष बालसिंह काउछाले विशाल सभाको तयारीस्वरुप सबै पालिकामा नेता कार्यकर्ताहरूलाई उपस्थित हुन निमन्त्रणा गर्नेदेखि आमसभा हुने स्थानको तयारीमा लागिएको र सो सभामा जिल्लाका अगुवा नेताकार्यकर्ता र शुभेच्छुक जनता गरी १० हजारभन्दा बढीको सहभागिता हुने बताउनुभयो । पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज थापाको उपस्थितिमा विशाल जनसभाको तयारीका रूपमा गुल्मीका गाउँपालिका तथा नगरपालिकाका पार्टी कमिटीहरूका बैठकहरू सम्पन्न भएका छन् भने बाग्लुङबाट गण्डकी प्रदेश कमिटी सदस्य सुनिल शेरचन र गाउँपालिका कमिटी अध्यक्ष कमल आचार्यसमेतको उपस्थितिमा तयारी बैठक सम्पन्न भएको छ ।