detail-img

२२औं सचिवालय बैठकः कार्यविभाजन, जिम्मेवारी हेरफेर र केन्द्रीय कमिटी सदस्यमा १३ जना मनोनीत 

काठमाडौं । नेकपा (एमाले) को सचिवालयको २२औं बैठक कार्यविभाजन तथा जिम्मेवारी हेरफेर, केन्द्रीय कमिटीमा मनोनयन र विभिन्न समसामयिक प्रस्ताव पारित गरी सम्पन्न भएको छ । 
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको बैठकले पार्टीको कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश, जिल्ला र पालिका तहसम्म केन्द्रीय कमिटीका नेताहरूलाई इन्चार्जका रूपमा खटाउने निर्णय गरेको छ । 
सोही अनुसार कार्यविभाजन गर्दै बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको छ । 
गत बैशाख २८ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटीको पाँचौं बैठकले गरेको निर्णय बमोजिम सचिवालय बैठकले कार्यविभाजन गरेको हो ।


बैठकले बरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्षलाई पार्टीका ३३ वटा केन्द्रीय विभागलाई कामको प्रकृतिका आधारमा समूह बनाई ती समूहको संयोजन गर्ने जिम्मेवारी दिएको छ । 
बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलर्ले योजना तथा नीति (अर्थ तथा योजना विभाग, परराष्ट्र मामिला विभाग र राष्ट्रिय हित तथा सुरक्षा विभाग), समूहको संयोजन गर्नुहुने भएको छ । 
उपाध्यक्षहरू युवराज ज्ञवालीले मानवस्रोत विकास ( शिक्षा तथा मावनस्रोत विभाग, विज्ञान तथा प्रविधि विभाग, श्रम तथा रोजगार विभाग, साहित्य, कला तथा संस्कृति विभाग र युवा तथा खेलकुद विभाग) समूह, अष्टलक्ष्मी शाक्यले सामाजिक विकास (सामाजिक सेवा विभाग, सामाजिक सुरक्षा तथा समाज कल्याण विभाग, उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग, विपत् व्यवस्थापन तथा स्वयंसेवा विभाग र स्वास्थ्य तथा जनसङ्ख्या विभाग) समूह, रामबहादुर थापाले कृषि तथा उद्यमशीलता ( कृषि तथा पशुपन्छि विकास विभाग, उद्योग, बाणिज्य तथा आपूर्ति विभाग, भूमि व्यवस्था विभाग, बन तथा वातावरण विभाग र सहकारी तथा गरिबी निवारण विभाग) समूहको संयोजन गर्नुहुने भएको छ ।  
त्यसैगरी विष्णुप्रसाद पौडेलले संगठन, प्रशिक्षण र प्रचार ( संगठन विभाग, पार्टी स्कुल विभाग, केन्द्रीय पुस्तकालय तथा अभिलेख विभाग, प्रचार तथा प्रकाशन विभाग र वित्त तथा कोष व्यवस्थापन विभाग) समूह,.सुवास नेम्बाङले सुशासन तथा सेवा प्रवाह (सङ्घीय मामिला तथा सामान्य प्रशासन विभाग, संसदीय विभाग, स्थानीय विकास विभाग, कानुन विभाग र निर्वाचन विभाग) समूह र सुरेन्द्र पाण्डेले पूर्वाधार निर्माण र विकास ( भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, शहरी विकास विभाग, ऊर्जा, जलस्रोत तथा सिंचाइ विभाग, पर्यटन तथा नागरिक उड्डयन विभाग र खानेपानी तथा सरसफाई विभाग) समूहको संयोजन गर्ने गरी कार्यविभाजन भएको छ । 
त्यसैगरी, सात प्रदेशको इन्चार्जको जिम्मेवारी सचिवहरूलाई तोकिएको छ । सो अनुसार सुदूरपश्चिममा छविलाल विश्वकर्मा,.कर्णालीमा लेखराज भट्ट, लुम्बिनीमा पद्मा अर्याल,.गण्डकीमा गोकर्ण विष्ट, मधेशमा योगेश भट्टराई र कोशी प्रदेशमा रघुवीर महासेठलाई इन्चार्जको जिम्मेवारी दिइएको छ भने बाग्मती प्रदेशको कामको संयोजन केन्द्रीय कार्यालयबाट गरिने भएको छ ।
बैठकले केही विभागको प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । सो अनुसार, संगठन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी र प्रचार तथा प्रकाशन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम रहनुभएको छ । 
बैठकले जिल्ला इन्चार्जको जिम्मेवारी फरक भूगोलमा स्थायी कमिटी सदस्य र पोलिटव्यूरो सदस्यहरूलाई दिएको छ भने केन्द्रीय कमिटी सदस्यहरूलाई पालिकास्तरको इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।
बैठकले विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नुभएका नेताहरू लगायत  १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ । मनोनीत हुनेहरूमा मुकुन्द न्यौपाने (काठमाडौं), प्रेमबहादुर सिंह (कालिकोट), भागवत विश्वासी (दाङ), चुडामणि जङ्गली (कास्की), हेमराज राई (भोजपुर), ठम्मर विष्ट (सुर्खेत), उमाशंकर अरगरिया (धनुषा), अजय गुप्ता (रौतहट), एकवाल मियाँ (बारा), गणेश खनाल (गुल्मी), प्रेम तामाङ (रसुवा), यमबहादुर परियार (चितवन) र सुरेन्द्र मानन्धर (काठमाडौं) हुनुहुन्छ । 
बैठकले पार्टी स्थापना दिवस (हिरकबर्ष) बर्षभरि मनाउने निर्णयसँगै नेताहरूलाई विभिन्न जिम्मेवारी दिएको छ । साथै, बैठकले नागरिकता विधेयक लगायत विभिन्न समसामयिक प्रस्तावहरू पारित गरेको छ ।