detail-img

समाज परिवर्तनका लागि कला, सङ्गीत र नाट्यक्षेत्र ज्यादै बलशालीः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजको गुणात्मक परिवर्तनका लागि कलाक्षेत्रको भूमिका प्रभावकारी हुने वताउनुभएको छ । 
अध्यक्ष ओलीले आज पार्टी कार्यालय, च्यासल, ललितपुरमा आयोजित कलाकारहरूको पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली समाज साँस्कृतिक अराजकतातिर धकेलिँदै गरेको र त्यसलाई रोक्नुपर्ने वताउनुभयो ।  
देशको राजनीति विग्रिए केही बर्षमा सुधार्न सकिने, अर्थतन्त्र विग्रँदा पनि केही बर्षमा सुधार्न सकिने तर सामाजिक मूल्य मान्यता र सँस्कृति विग्रँदै गयो, पतन भयो भने पुस्तौ पुस्तासम्म पनि उठाउन गाह्रो हुने चर्चा गर्दै उहाँले साँस्कृतिक अराजकताको दुःखलाग्दो स्थितिबाट, सामाजिक मूल्यमान्यताको अधोगति र अधोपतनबाट फर्काएर समाजलाई सही बाटोमा ल्याउनुपर्ने वताउनुभयो ।  
अध्यक्ष ओलीले सभ्यता, सँस्कृति र ज्ञानको प्रादुर्भाव भएको यस धर्तीमा अहिले दुनियाँमा सबैभन्दा बढी छाडापन र साँस्कृतिक विकृति देखिनु र त्यस कार्यमा चेतनशील र शिक्षित वर्ग लाग्नु दुःखलाग्दो भएको वताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– युटुव खोलेर हेर्न डराउनुपर्ने अवस्था छ । अर्कालाई दुःख दिएर, अर्काको अनुहारमा पीडा हेरेर रमाउने प्रवृत्ति बढ्दो छ । सत्य छोप्न र झुट फैलाउन सूचना प्रविधिको दुरूपयोग भइरहेको छ । 
समाजलाई सकारात्मक सोंच, आदर्श र गन्तव्यतर्फ धक्का दिनु परेको छ भन्नुहुँदै अध्यक्ष ओलीले अब  शैक्षिक संस्थाहरूमा देशभक्ति, शान्ति, मानवता र पारस्परिक सहयोगको भावना विकास गर्ने शिक्षा दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले समाजको अन्धविश्वास, भेदभाव र कुरीति भत्काउन अनौपचारिक शिक्षाका रूपमा रहेको सङ्गीत, कला र नाट्यक्षेत्र ज्यादै बलशाली भएको वताउनुभयो । 
अध्यक्ष ओलीले देश र जनताका लागि समर्पित पार्टी नेकपा (एमाले) मा रहेर राष्ट्रहित, जनहित र समग्रमा मानवजातिको पक्षमा आफ्नो प्रतिभा समर्पित गर्न कलाकारहरूलाई आग्रह गर्नुभयो ।  राष्ट्रिय जनसाँस्कृतिक महासंघद्वारा आयोजित कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्यहरू भानुभक्त ढकाल, शेरधन राई, शिवमाया तुम्वाहाम्फे लगायत नेताहरूको उपस्थिति रहेको थियो ।