detail-img

माओवादी केन्द्र लगायत पार्टीमा आबद्ध ७६ जना कलाकार नेकपा (एमाले) मा प्रवेश 

काठमाडौं । नेकपा माओवादीको नाट्यकर्मी संघका बरिष्ठ उपाध्यक्ष जीवन थापा (क्षितिज), महासचिव कृष्णजीत राईका साथै कला, संस्कृति र रङ्गमञ्चको क्षेत्रमा संलग्न ७६ जना कलाकार नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 
अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल लगायत नेताहरूले आज पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रम उहाँहरूलाई खादा र अबीर लगाई पार्टीमा स्वागत गर्नुभयो ।

 
नेकपा (एमाले) प्रवेश गर्नेहरूमा नाट्यकर्मी संघका कोषाध्यक्ष सविन न्यौपाने, कोशी प्रदेशका अध्यक्ष ज्ञानेन्द्र कोइराला, मधेश प्रदेशका अध्यक्ष मुनाराज दिवना, बाग्मती प्रदेशका अध्यक्ष केदार केसी, कर्णाली प्रदेशका अध्यक्ष गणेश उपाध्याय र पूर्व उपाध्यक्ष लता कार्की हुनुहुन्छ । 
त्यसैगरी सो संघका २४ जना केन्द्रीय सदस्यहरू र कला क्षेत्रमा सक्रिय अन्य ४४ जना कलाकर्मी पनि आजै नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 
नेकपा (एमाले) को जनसंगठनका रूपमा रहेको राष्ट्रिय जनसाँस्कृतिक महासंघको संयोजनमा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशी कलाकारहरूलाई पार्टीले दुरूपयोग नगर्ने वताउँदै तपाईंहरूको प्रतिभा सुन्दर देश बनाउनका लागि सदुपयोग हुने र हुनुपर्छ भन्नुभयो । 
नवप्रवेशीहरूका तर्फबाट आफ्नो भनाइ राख्दै नाट्यकर्मी संघका बरिष्ठ उपाध्यक्ष जीवन थापा (क्षितिज) ले  माओवादी केन्द्रमा कलाकारलाई हेर्ने दृष्टिकोण सङ्कुचित रहेको, हिंसाको धङधङी बाँकी रहेको र लोकतान्त्रिक प्रणाली स्वीकारेर आइसकेपछि पनि लोकतान्त्रिक विधिमाथि कुठाराघात गर्ने गरेको र त्यहाँ नीतिगत र वैचारिक बहस, छलफलको कुनै सम्भावना नरहेकाले माओवादी पार्टी परित्याग गर्नुपरेको वताउनुभयो । 
उहाँले नेकपा (एमाले) को नीति र विचार बोकेर जस्तोसुकै योगदान गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै देशैभरि एमालेमा प्रवेशको लहर ल्याउने अठोट व्यक्त गर्नुभयो । कार्यक्रम राष्ट्रिय जनसाँस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्यहरू भानुभक्त ढकाल,  शेरधन राई र शिवमाया तुम्वाहाम्फे लगायत नेताहरू उपस्थित हुनुहुन्थ्यो ।