detail-img

प्रधानमन्त्रीले भारतलाई नक्शा सच्याउन भन्नुपर्छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोलिदेखि भारतको भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको नयाँ संसदमा राखिएको अखण्ड भारत नक्शामा नेपाली भूभाग कपिलवस्तु र लुम्बिनी समेटिएको देखिएकाले त्यसलाई  सच्याउन भारतसँग कुरा गर्नुपर्ने वताउनुभएको छ । 
राष्ट्रिय महिला अधिकार दिवसका सन्दर्भमा अखिल नेपाल महिला संघद्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा आयोजित राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीले भारतसँग त्यति पनि भन्न नसक्ने हो भने भ्रमणको अर्थ नरहने वताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– त्यति पनि भन्न नसक्ने हो भने भारत भ्रमणमा किन जाने ? 
उहाँले पुरानो, सुदृढ र नमूना लोकतन्त्र भएको मुलुकका रूपमा चिनिने भारतले यस्तो खालको हेपाहा व्यवहार गर्छ भन्ने सोच्न पनि नसकिने वताउनुभयो । 
‘विश्वमा बलियाले हेप्ने भइरहेको छ, संयुक्त राष्ट्र संघ हेरेको हेरै छ’ अध्यक्ष ओलीले भन्नुभयो– हामीले खोजेको समानताको सिद्धान्त र त्यस अनुसारको व्यवहार हो । 
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको समयमा तीनवटा अन्तर्राष्ट्रिय फोरममा सम्बोधन गर्दा परराष्ट्र सम्बन्ध राष्ट्रिय  हितमा र त्यो राष्ट्रिय हित न्यायसङ्गत हुनुपर्छ भनेको स्मरण गर्नुभयो ।

सम्बोधन क्रममा महिला अधिकार र समानताका लागि विश्वमा महिलाले गरेको सङ्घर्ष र नेपालमा महिला आन्दोलन र उपलब्धिको चर्चा गर्दै अध्यक्ष ओलीले नेपालको महिला अधिकार र समानताको आन्दोलनमा नेकपा (एमाले) ले महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेको वताउनुभयो । 
स्थानीय तहमा महिलालाई अनिवार्य प्रतिनिधित्व, संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्वदेखि महिला रक्षा मन्त्री र महिला राष्ट्रपति बनाउनेसम्मको ऐतिहासिक काम नेकपा (एमाले) ले गरेको वताउँर्दै उहाँले वर्तमान गठबन्धनमा रहेका दलहरूले गत स्थानीय तहको निर्वाचनदेखि राष्ट्रपति÷ उपराष्ट्रपति निर्वाचनसम्म आइपुग्दा महिला अधिकार हनन् गरेको भनाइ राख्नुभयो । 
अखिल नेपाल महिला संघकी तत्कालीन अध्यक्ष विद्यादेवी भण्डारीले नै महिला अधिकारका विषयलाई संवैधानिक र कानुनीरूपमा  स्थापित गर्ने कुरामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको अध्यक्ष ओलीले वताउनुभयो । 
महिला आन्दोलन महिला अधिकारमात्र नभई वैचारिक, राजनीतिक र समाज परिवर्तनसँग जोडिएको विषय भएकाले अन्तर पार्टी सञ्जालको काम नभएको विचार व्यक्त गर्दै वर्ग दृष्टिकोणविहीन महिलावादले आन्दोलनलाई कमजोर वनाउने भनाइ अध्यक्ष ओलीले राख्नुभयो ।  
कार्यक्रममा नेकपा (एमाले) कि सचिव पद्मा अर्यालले प्रशिक्षण दिनुभएको थियो । अनेमसंघका कार्यवाहक अध्यक्ष मेनका पोखरेलको अध्यक्षतामा भएको प्रशिक्षण तथा भेलामा उपाध्यक्षहरू सुमित्रा विसीले स्वागत र रुक्मिनी रानाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव पेम्वा लामाले गर्नुभएको थियो । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्यद्वय सीता पौडेल र थममाया थापा अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।