detail-img

स्थानीय तहका जनप्रतिनिधिहरूका लागि आयोजित दुई दिने अनुशिक्षण सम्पन्न

काठमाडौं । नेकपा (एमाले) बाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूका लागि आयोजित दुई दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा जेठ १२ गते शुक्रबार सुरु भएको अनुशिक्षणमा अध्यक्ष ओलीले उद्घाटन मन्तव्यका साथै दिशानिर्देश गर्नुभएको थियो भने आज समापन कार्यक्रममा महासचिव शंकर पोखरेलले समसामायिक राजनीतिक परिवेश र स्थानीय तहका जनप्रतिनिधिहरूबाट पार्टीको भूमिका विषयमा धारणा राख्नुभयो । 
पार्टी केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागको संयुक्त आयोजनामा तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासल, ललितपुरमा भएको अनुशिक्षणमा पार्टीका नेताहरूका साथै  विभिन्न विषयविज्ञबाट प्रशिक्षण दिइएको छ । 
नेकपा (एमाले) बाट निर्वाचित महानगर, उपमहानगर, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकामा निर्वाचित अध्यक्ष र उपाध्यक्षहरूको अनुशिक्षणमा सहभागिता रहेको थियो ।


अनुशिक्षणको समापन सत्रलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले मुलुकमा व्यवस्था परिवर्तन भए पनि समाज परिवर्तनको अभिभारा बाँकी रहेकाले स्थानीय तहमा गरिने हरेक काम समाजवादको आधार तयार गर्ने उद्देश्यसँग जोडिनुपर्ने वताउनुभयो । 
नेकपा (एमाले) सरकारबाट बाहिरिएको दुईबर्षमै देश आर्थिकरुपमा अत्यन्त कमजोर भएको वताउँदै उहाँले देश यस्तो अवस्थामा आइपुग्नुुमा गठबन्धन सरकारको अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति प्रमुख कारण हो भन्नुभयो । 
महासचिव पोखरेलले सङ्घीय सरकारको गलत नीतिका कारण अर्थतन्त्र साधारण खर्च धान्ने अवस्थामा समेत नरहेको र यसै कारण विकास वजेट कटौती भई स्थानीय तहले पनि पीडा भोग्नुपर्ने भएको भनाइ राख्नुभयो । 
उहाँले नेकपा (एमाले) सरकारमा रहेको समयमा हरेक क्षेत्रका सूचकाङ्क सकारात्मक दिशामा रहेको यथार्थ जनप्रतिनिधिहरूले समाजलाई बुझाउन सक्नुपर्ने भनाइ राख्नुभयो । 
अनुशिक्षणमा उपमहासचिव तथा केन्द्रीय स्कुल विभागका प्रमुख प्रदीप ज्ञवालीले ‘सेवामार्फत् सुशासन र सुशासनमार्फत् विकास र समृद्धि’ विषयमा प्रशिक्षण दिनुभएको छ भने ‘योजना र बजेट निर्माणका प्राथमिकताका क्षेत्र’ विषयमा स्थायी कमिटी सदस्य डाक्टर विन्दा पाण्डे र ‘स्थानीय तह सञ्चालन निर्देशिका–२०७९, अन्तरवस्तु तथा कार्यान्वयन’ विषयमा पोलिटव्युरो सदस्य तथा स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहालले प्रशिक्षण दिनुभयो ।  
त्यसैगरी, अनुशिक्षणमा ‘स्थानीय तहको कार्यक्षेत्र, कार्यक्रमहरूको प्राथमिकीकरण र बजेट तर्जुमा’ विषयमा नेपाल सरकारका पूर्व सचिव शिशिरकुमार ढुङ्गाना, ‘स्थानीय तहको स्रोत परिचालन, वैकल्पिक लगानी र विकास व्यवस्थापन’ विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ज्ञवाली र ‘स्थानीय तहमा सुशासन, सेवा प्रवाह र जनशक्ति व्यवस्थापन’ विषयमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका पूर्व कार्यकारी निर्देशक विमल पोखरेलले प्रशिक्षण दिनुभयो ।
त्यस्तै, स्थानीय तहमा सूचना प्रविधिको प्रयोग र प्रचार प्रसार विषयमा अस्गर अलि र उहाँको टिमको प्रस्तुति रहेको थियो ।
नेकपा (एमाले) का उपमहासचिव तथा केन्द्रीय स्कुल विभागका प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा भएको अनुशिक्षणको उद्घाटन सत्रमा सहभागीहरूमध्येबाट प्रतिनिधिमूलक ढङ्गले नगरपालिका प्रमुखहरूमध्येबाट दाङको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, गाउँपालिका अध्यक्षहरूमध्येबाट कालिगण्डकी गाउँपालिका, स्याङ्जाका अध्यक्ष खिमबहादुर थापाले स्थानीय तहमा सम्पादित विगत एकबर्षका काम र देखापरेका चुनौतीका विषयमा आ–आफ्ना अनुभव प्रस्तुत गर्नुभएको थियो भने गाउँपालिका/नगरपालिकाका उपप्रमुख/उपाध्यक्षको तर्फबाट काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले स्थानीय तहमा उपप्रमुख/उपाध्यक्षको अवस्था, भूमिका र अपेक्षा विषयमा अनुभवसहितको प्रस्तुति राख्नुभएको थियो । 
अनुशिक्षणको पहिलो दिनको सञ्चालन पार्टीका केन्द्रीय सदस्य तथा स्कुल विभाग सचिव पेम्वा लामा र दोस्रो दिनको सञ्चालन स्थानीय विकास विभागका सचिव हर्क राईले गर्नुभएको थियो ।