detail-img

असारदेखि नियमित स्कुल सञ्चालन हुने

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले आगामी असारदेखि नियमित स्कुल सञ्चालन गर्ने भएको छ । 
पार्टीका उपमहासचिव तथा विभागका प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा हिजो मङ्गलबार बसेको विभागको बैठकले स्कुल सञ्चालन गर्ने निर्णय गरेको हो । 
बैठकले आधारभूत तहमा वैचारिक प्रशिक्षणका लागि पाठ्य सामग्री तयार गर्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव पेम्वा लामाले वताउनुभयो । 
पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) का क्रममा कार्यकर्तालाई राजनीतिक तथा वैचारिक प्रशिक्षणको आवश्यकता महसुस गरी पार्टीको गत बैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले उच्च, मध्यम र आधारभूत तहको प्रशिक्षण चलाउने र त्यसका लागि स्कुल विभागले पाठ्यक्रम बनाउने निर्णय गरेको थियो । 
स्कुल विभागको बैठकमा यही बैशाख ११ र १२ गते हुने स्थानीय तहका प्रमुख तथा उपप्रमुखको कार्यशालाको तयारीका विषयमा पनि छलफल भएको छ । विभागले उक्त कार्यशालाको सहजीकरण गर्दै छ । 
स्थानीय तहमा बजेट निर्माणको समय भएकाले कार्यशालामा बजेटका प्राथमिकता निर्धारणका विषयमा विज्ञहरूबाट प्रशिक्षण दिइने छ । काठमाडौंमा हुने कार्यशालामा पार्टीबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखको सहभागिता रहने छ । 
स्कुल विभागले गतबर्षदेखि नै स्कुल (प्रशिक्षण) सञ्चालन गर्दै आएको छ । संसदीय निर्वाचन र पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटका कारण रोकिएको स्कुल असारदेखि पुनः सञ्चालन गर्न लागिएको हो ।