detail-img

‘नयाँ पुस्तालाई पार्टीमा जोड्ने कामलाई प्राथमिकता दिनुपर्छ’

धनगढी । नेकपा (एमाले) को मिसन ग्रासरुट कार्यक्रमको सुदूरपश्चिम प्रदेशस्तरीय समीक्षा बैठक सोमबार  सम्पन्न भएको छ । 
समीक्षा बैठकमा प्रदेशका नौ वटै जिल्लाका अध्यक्ष र ८८ वटै स्थानीय तहमा खटिएका केन्द्रीय प्रतिनिधिहरूले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
जिल्ला अध्यक्ष र केन्द्रीय प्रतिनिधिहरूबाट प्रतिवेदन पेश भएपछि प्रदेशको मिसन ग्रासरुट कार्यक्रमका अनुगमनकर्ता स्थायी समिति सदस्यद्वय बिन्दा पाण्डे र कर्ण थापाले अनुगमन प्रतिवेदन पेश गर्नुभएको थियो । 
समीक्षा बैठकलाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष बिष्णु प्रसाद पौडेलले जनस्तरमै पार्टीलाई बलियो बनाउन र पार्टीको सबैभन्दा आधारभूत तहलाई परिचालित गर्न पार्टीले मिसन ग्रासरुट सुरु गरेको बताउनुभयो ।

उहाँले मिसन ग्रासरुटबाट पार्टीका लागि केही महत्वपूर्ण उपलब्धि पनि प्राप्त भएको बताउनुभयो । 
मिसन ग्रासरुटले पार्टीलाई लयमा फर्काउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै उपाध्यक्ष पौडेलले अभियानमा खट्नुभएका सबैलाई धन्यवाद दिनुभयो । 
नेकपा (एमाले) लाई एउटा जीवन्त पार्टी बनाउन पार्टीको निर्णय मान्ने कार्यकर्ता भएको पार्टी बनाउन आवश्यक रहेको र पार्टीको काममा नखट्ने, निर्वाचनका बेला असहयोग गर्ने प्रवृतिलाई समाप्त पार्नका लागि पनि मिसन ग्रासरुट अभियान चालिएको उहाँले बताउनुभयो । 
विशेष परिस्थितिमा मिसन ग्रासरुट चलेकाले अब नियमित रूपमा पार्टीका काममा कार्यकर्ता र नेताले फर्किनुपर्ने र सबै तहका कमिटीहरूले योजना बनाएर पार्टीका कामहरू अगाडि बढाउनुपर्ने उपाध्यक्ष पौडेलको भनाइ छ । 
उहाँले समीक्षा बैठकमा सहभागी केन्द्रीय, प्रदेश र जिल्ला कमिटीमा रहेका नेताहरूलाई मिसन ग्रासरुट जस्तै सक्रिय भएर नियमित रूपमा पार्टीका काममा लाग्न निर्देशन दिनुभयो । 
समीक्षा बैठकमा बोल्दै पार्टी महासचिव शंकर पोखरेलले नयाँ पुस्तालाई पार्टीमा जोड्ने गरी कार्यक्रम बनाएर जान निर्देशन दिनुभयो । आउँदो निर्वाचनमा पार्टीलाई बलियो बनाउन पार्टी भित्रको अन्तर विरोध समाधान गरेर एकताबद्ध रूपमा अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । 
उहाँले हरेक बर्ष ३० लाख नयाँ मतदाता थपिने र ती सबै नयाँ पुस्ताका हुने भएकाले नयाँ पुस्तालाई पार्टीमा नजोड्दासम्म मतसङ्ख्या बढ्न नसक्ने भएकाले यो बिषयलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो । 
नयाँ पुस्तालाई पार्टीका बिभिन्न जन संगठनहरूमा समेटेर पार्टीसँग जोड्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो ।  नयाँ पुस्तामा सम्भावना भएको नेतृत्वको पहिचान गर्दै त्यसलाई प्रशिक्षित गरेर पार्टीमा आवद्ध गराउने उद्देश्यले मिसन ग्रासरुटको एक महत्वपूर्ण कामको रूपमा नयाँ पुस्तालाई पार्टीमा जोड्ने कुरा राखिएको उहाँले प्रष्ट पार्नुभयो । 
नवीकरण भएका संगठित सदस्यहरूको सम्पूर्ण विवरण मिसन ग्रासरुटमा खटिएका केन्द्रीय प्रतिनिधिहरूको प्रतिवेदनमै उल्लेख भएर आउनुपर्ने उहाँले बताउनुभयो । 
पार्टीमा प्रष्ट रूपमा वैचारिक प्रशिक्षण अनिवार्य रहेको कुरालाई बुझेर अगाडि बढ्न आवश्यक रहेको बताउँदै महासचिव पोखरेलले वैचारिक प्रष्टता बिना दक्षिणपन्थी अवसरवादलाई पराजित गर्न नसकिने बताउनुभयो । 
नेपालमा राष्ट्रवादी शक्तिलाई कमजोर नबनाई आफ्नो स्वार्थ सिद्ध गर्न नसकिने भएकाले एमाले कमजोर बनाउन शक्तिकेन्द्रहरू लागिपरेको उहाँले बताउनुभयो । 
समीक्षा बैठकमा नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले आफ्नो जिल्लामा मात्रै खटिनुभएका केन्द्रीय कमिटीका सदस्यहरूलाई अर्को जिल्लामा खटाएर त्यहाँका पार्टी गतिबिधिहरूबारे बुझ्ने र कार्यकर्ता माझ आफूलाई चिनाउने अवसरका रूपमा पनि मिसन ग्रासरुटलाई लिनुपर्ने बताउनुभयो । 
उहाँले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्दा सुदूरपश्चिम प्रदेशमा एमालेले एक बर्षभित्रमै संगठन परिचालन गर्दै आफूलाई बलियो बनाउनसक्ने आधार रहेको मिसन ग्रासरुटबाट पनि पुष्टि भएको बताउनुभयो । 
समीक्षा बैठक प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको थियो ।