cpnuml

दशौँ राष्ट्रिय महाधिवेशनः संक्षिप्त समीक्षा

यही २०७८ मङ्सिर १०–१४ सम्म चितवनमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक दशौं राष्ट्रिय महाधिवेशन भव्यरुपमा र अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ । महाधिवेशनका दूरगामी प्रभावहरू पार्टी जीवन र राष्ट्रिय राजनीतिमा लामो समयसम्म अनुभूत भइरहने छन् । महाधिवेशनका कारवाहीहरूको समग्र विवरणसहित विस्तृत समीक्षा प्रतिवेदन मूल व्यवस्थापन समितिका तर्फबाट तयार गरिने नै छ । यहाँ महाधिवेशनका मुख्य गतिविधि र सन्देशहरू समेटेर सङ्क्षिप्त समीक्षा प्रस्तुत गरिएको छ ।

पृष्ठभूमि

पार्टीको नवौं राष्ट्रिय महाधिवेशन २०७१ असार १९ देखि साउन १ सम्म काठमाडौंमा आयोजना भएको थियो । २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) बीच पार्टी एकीकरण भएपश्चात् हामी पौने तीन वर्षसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रुपमा क्रियाशील रह्यौं । पार्टीको एकता महाधिवेशन २०७७ चैतको अन्तिम साताका लागि तय गरिएको थियो । तर एकीकरणलाई निष्कर्षमा पुग्न नदिएर पार्टीभित्र गम्भीर विग्रह सिर्जना गरिएपछि एकता महाधिवेशन एकप्रकारले अनिश्चित जस्तो भएको थियो । त्यसैबीच सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले पार्टीलाई एकीकरण पूर्वको अवस्थामा फर्काइदिएपछि नयाँ परिस्थिति निर्माण भयो । पार्टीको एकतालाई कायम राख्ने हाम्रो प्रयास पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अनिच्छाका कारण सफल हुनसकेन । तत्पश्चात् हामीले नेकपा (एमाले) का रुपमा सक्रिय हुँदै र पार्टीलाई नेकपाको निरन्तरताका रुपमा विकास गर्दै छोटो समयभित्रै पार्टीको आन्तरिक जीवनलाई संस्थागत, विधिसम्मत र गतिशील बनायौं । नवौं राष्ट्रिय महाधिवेशनले नीति र विधि निर्माण तथा नेतृत्व चयनका लागि अलग–अलग महाधिवेशनको वैधानिक व्यवस्था गरेको थियो । त्यही प्रावधानबमोजिम हामीले २०७८ असोज १५–१७ मा ललितपुरको गोदावरीमा पार्टीको प्रथम विधान महाधिवेशन सफलतापूर्वक आयोजना गरी पार्टीको सिद्धान्त, नीति, कार्यक्रम, कार्यदिशा र विधान संशोधनको काम सम्पन्न गरेका थियौं ।

यसै पृष्ठभूमिमा, एमालेको सुदृढ जनाधार प्रदर्शित गरी नेतृत्व चयनको मुख्य अभिभारासहित पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजना गरिएको थियो ।

अपेक्षा र अभिभारा

दशौं राष्ट्रिय महाधिवेशन आयोजना गरिरहँदा पार्टीका सामू अनेकौं चुनौती विद्यमान थिए । एकीकरण भङ्ग भएको, नेकपा (एमाले) बाट केही व्यक्तिहरू बाहिरिएको, पार्टीविरुद्ध चौतर्फी घेराबन्दी गरिएको र नेकपा (एमाले) लाई सत्ताबाट विस्थापित गर्न संविधानको अपव्याख्या, अदालतको दुरुपयोग र विभिन्न शक्ति केन्द्रहरू सक्रिय भएको अवस्था थियो । नेकपा (एमाले) कमजोर भएको भ्रम छर्ने निरन्तर प्रयास गरिएको थियो । यस्तो अवस्थामा, महाधिवेशनमार्फत् हामीले एकातिर हाम्रो जनाधार सुदृढ रहेको, पार्टी जनतामाझ लोकप्रिय रहेको र यो नै मुलुकको मुख्य शक्ति हो भन्ने विश्वास स्थापित गर्नुपर्ने थियो । अर्कातिर विभिन्न मनोविज्ञानहरूलाई जोड्दै पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपमा अझ एकताबद्ध बनाउनुपर्ने थियो । नेतृत्वमाथि भइरहेका निरन्तरका हमलालाई परास्त गर्नु र मुख्य नेतृत्वका वरिपरि सिङ्गो पार्टीलाई गोलबन्द गर्दै आगामी चुनौतीका लागि पार्टीलाई तयार गर्नुपर्ने थियो । प्रचलित संवैधानिक र कानुनी व्यवस्था तथा समाजको यथार्थलाई प्रतिविम्बित गर्न गुणस्तरलाई अक्षुण्ण राख्दै पार्टीमा समावेशी संरचनालाई सुनिश्चित गर्नु थियो । यिनै अपेक्षाका बीचमा महाधिवेशन आयोजना गरिएको थियो ।

तयारी

महाधिवेशनको तयारीका क्रममा हामीले पार्टी सदस्यता नवीकरण अभियानलाई तीव्रता दियौं । अभियानका क्रममा पार्टी सदस्यहरूको सङ्ख्या अहिले ८ लाख ५५ हजार ४५३ पुगेको छ, जुन नवौं महाधिवेशनले राखेको ५ लाखको लक्ष्यभन्दा ७१ प्रतिशतले बढी हो । महिला पार्टी सदस्यहरूको सङ्ख्या २ लाख ४ हजार ८४ छ । सदस्यता नवीकरण गर्न र नयाँ सदस्यता प्राप्तिका लागि आवेदन भर्न पार्टीपङ्क्तिमा जस्तो सक्रियता देखापरेको छ, यसले पार्टीप्रतिको ठूलो आकर्षणलाई प्रतिविम्बित गरेको छ । हामीले २०७८ कात्तिक ६ गते देशका सबै वडा तथा शाखाहरूमा र ९ गते सबै पालिका तथा इलाकाहरूमा एकैसाथ अधिवेशन सम्पन्न ग¥यौं । यी अधिवेशनहरूमा देखापरेको जनसहभागिता, उत्साह, एकता र उच्चस्तरको समझदारीले हाम्रो पार्टीपङ्क्ति विद्यमान चुनौती र अभिभाराहरूप्रति एकदमै संवेदनशील र जिम्मेवार छ भन्ने पुष्टि ग¥यो ।

स्थान छनोट र संरचनाहरू

पार्टीले दशौं राष्ट्रिय महाधिवेशनका लागि चितवनलाई छनोट ग¥यो । मुलुकको मध्यभागमा पर्ने, सामाजिक–आर्थिक क्षेत्रमा तीव्र विकास गरिरहेको जिल्ला र महत्वपूर्ण पर्यटकीय गन्तव्य हुनुको नाताले चितवनमा महाधिवेशन आयोजना गरेर हामीले सामाजिक–आर्थिक रुपान्तरणको विषय पार्टीको उच्च प्राथमिकतामा रहेको सन्देश दिन चाहेका थियौं । यसका अतिरिक्त चितवन नेपालको वाम–लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण केन्द्र रहेको र पार्टीको तेस्रो महाधिवेशनको स्थल तोकिएर पनि २०१७ सालको तानाशाही कदमका कारण महाधिवेशन आयोजना हुन नपाएको जिल्ला हो । यी सन्दर्भ समेत रहेको पृष्ठभूमिमा चितवनमा महाधिवेशन आयोजना गरेर पार्टीले त्यहाँको पार्टीपङ्क्ति र न्यायप्रेमी जनसमुदायप्रति सम्मानभाव व्यक्त गर्न चाहेको थियो ।

महाधिवेशनका लागि कमरेड रामबहादुर थापाको संयोजकत्वमा २३ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरिएको थियो । यसका साथै प्रतिनिधि व्यवस्थापन, जनपरिचालन, प्रचार, आर्थिक, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, खाद्य, आवास, अतिथि सत्कार, सांस्कृतिक, स्वास्थ्य र यातायात व्यवस्थापन समेत १२ वटा कमिटीहरू समेत गठन गरिएका थिए ।

प्रतिनिधि चयन

प्रतिनिधि चयन महाधिवेशनको सर्वाधिक महत्वपूर्ण विषय थियो । हामीले कात्तिक २७ गते एकै दिन लोकतान्त्रिक विधिका साथ प्रतिनिधिको निर्वाचन सम्पन्न ग¥यौं । यसक्रममा अधिकांश स्थानमा सर्वसम्मति भयो भने केही स्थानमा स्वस्थ प्रतिस्पर्धा भयो । प्रतिनिधि चयनमा पारदर्शिता र लोकतान्त्रिक अभ्यासका दृष्टिले पनि यो महाधिवेशन विशेष महत्वको रह्यो । राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू विधान महाधिवेशनका पदेन प्रतिनिधि र राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदका पनि पदेन प्रतिनिधि रहने व्यवस्था छ । प्रतिनिधिहरूको अभिलेख व्यवस्थित गरिएको छ । सारतः आफ्ना प्रतिनिधिहरूमार्फत् सम्पूर्ण पार्टी सदस्यहरूको महाधिवेशनमा सहभागिता रहेको थियो । प्रतिनिधिहरूको पहिचान र उहाँहरूले मताधिकार लगायतका अधिकार प्रयोग गर्न सजिलो होस् भन्ने हिसाबले क्यूआर कोडसहितको परिचय– पत्रको व्यवस्था गरिएको थियो।

महाधिवेशनमा प्रतिनिधि निर्वाचनका लागि निम्नबमोजिमको व्यवस्था गरिएको थियो–

  • केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीसमेत सदस्यहरू मध्येबाट १५ जना ।
  • हरेक प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तिमा दुई महिलासहित पाँच जना ।
  • प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका १२०० सम्म पार्टी सदस्यबाट कम्तिमा एक महिलासहित तीन जना, सोपछि प्रत्येक ८०० सम्मले थप एक÷एक जना, यीमध्ये हरेक तीन जनामा एकजना महिला अनिवार्य ।
  • देशभित्रका विशेष जिल्ला अन्तर्गतका १२०० सम्म पार्टी सदस्यबाट कम्तिमा एक महिलासहित तीन जना, सोपछि प्रत्येक ८०० सम्मले थप एक÷एक जना प्रतिनिधि निर्वाचन, यसमध्ये हरेक तीन जनामा एकजना महिला अनिवार्य ।
  • भौगोलिक जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्य मध्येबाट एकजना, सोपछि प्रत्येक ५०० सम्मले थप एक÷एकजना, यसमध्ये हरेक तीन जनामा एकजना महिला अनिवार्य ।
  • प्रत्येक भौगोलिक प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा तीन महिलासहित सात जना ।
  • भारत, अमेरिका (क्यानडा समेत), युरोप, एसिया प्यासिफिक, खाडी र ओसियाना अन्तर्गतका पार्टी सदस्यहरूमध्येबाट कम्तिमा दुई महिलासहित पाँच जना ।
  • पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यहरूबाट कम्तिमा दुई महिलासहित पाँचजना ।

महाधिवेशनमा देहायका क्लस्टरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको थियो :

  • केन्द्रीय निकाय÷केन्द्रीय विभाग र कार्यालयबाट : २५९
  • प्रदेशहरूबाट : १,५६२
  • उपत्यका विशेष, सम्पर्क समन्वय : ९२
  • प्रवास : ३५
  • जनसंगठन :१२०
  • मनोनित : १०७
  • जम्मा : २,१७५

प्रतिनिधिहरूमा ६२७ महिला र २०९ दलित हुनुहुन्थ्यो ।
प्रतिनिधि निर्वाचित नहुनुभएका केन्द्रीय सल्लाहकार परिषद्का १२९ सदस्यहरू पर्यवेक्षकका रुपमा सहभागी हुनुहुन्थ्यो ।

उद्घाटन समारोह

पार्टीको जनाधार अत्यन्त सुदृढ र पार्टीप्रति जनताको विश्वास यथावत रहेको पुनर्पुष्टि गर्नेगरी उद्घाटन समारोहमा जुन ऐतिहासिक जनसहभागिता रह्यो, यसले पार्टी अत्यन्त उत्साहित भएको छ । राजमार्गहरूको दुरावस्था र अनेकौं प्रतिकूलताहरूलाई चिर्दै उर्लिएको जनसागर समकालीन नेपाली इतिहासकै सबैभन्दा ठूलो थियो । हाम्रो अपेक्षाभन्दा पनि ठूलो सङ्ख्यामा सहभागी भएर जनताले नेकपा (एमाले) प्रति आफ्नो अपार भरोसा प्रकट गर्नुभएको छ । उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालगायत संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले शुभकामना दिनुभएको थियो । कोरोना महामारीका बीचमा पनि महाधिवेशनमा भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाका आठवटा पार्टीका प्रतिनिधिहरूको भौतिक उपस्थिति थियो भने चिनियाँ कम्युनिष्ट पार्टीलगायत अन्य विभिन्न मुलुकका भाइचारा र मित्र पार्टीहरूले शुभकामना सन्देश सम्प्रेषण गरेका थिए । यस महाधिवेशनमा हामीले रसिया, जर्मनी, टर्की, थाइल्याण्ड, आयरल्याण्डलगायत मुलुकका सत्तारुढ पार्टीहरूसहित दुई दर्जन बढी पार्टीहरूका शुभकामना सन्देशका साथै ३०० भन्दा बढी पार्टीहरू सदस्य रहेको एसियाली राजनीतिक पार्टीहरूको राजनीतिक सम्मेलन (आइक्याप) का तर्फबाट समेत शुभकामना प्राप्त गरेका छौं । यसबाट हाम्रो पार्टीको फराकिलो अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिविम्बित भएको छ ।

उद्घाटन समारोह अत्यन्त प्रभावकारी, व्यवस्थित र उपलब्धिपूर्ण रह्यो । अध्यक्ष कमरेडको सम्बोधनले पार्टीको आगामी दिशालाई स्पष्ट पार्ने काम ग¥यो ।

बन्दसत्र

महाधिवेशनको बन्दसत्र मङ्सिर ११–१४ मा पर्यटकीय नगरी सौराहामा सम्पन्न भयो । ११ गते अपराह्न विभिन्न भाइचारा र मित्र पार्टीका प्रतिनिधिहरूबाट मन्तव्य तथा सम्प्रेषित शुभकामनाहरू प्रस्तुत गरिएसँगै अध्यक्षबाट महाधिवेशनका सामू उपस्थित दायित्व र कार्यभार सम्बन्धमा महत्वपूर्ण सम्बोधन भयो । महाधिवेशन सञ्चालनका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डलको गठन गरियो । कमरेड पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा ७ सदस्यीय माइन्युट कमिटी पनि गठन भयो । महाधिवेशनले केन्द्रीय कमिटीबाट प्रस्तुत विधान संशोधन प्रस्तावलाई पारित ग¥यो ।

नेतृत्व चयन

पार्टीको काँधमा आएको ऐतिहासिक अभिभारा, पार्टीविरुद्ध भइरहेको चौतर्फी घेराबन्दी एवं आक्रमण तथा आम पार्टीपङ्क्तिको चाहना समेतलाई दृष्टिगत गर्दा नेतृत्वको चयन सर्वसम्मतिबाटै होस् भन्ने मनोभावना महाधिवेशन प्रतिनिधिहरूमा देखिन्थ्यो । यही मनोविज्ञानलाई ध्यानमा राखेर सहमतिको नामावली प्रस्तुत गर्ने जिम्मेवारी महाधिवेशनले अध्यक्ष कमरेडलाई प्रदान ग¥यो । महाधिवेशन प्रतिनिधिहरूबाट प्राप्त विश्वासलाई आत्मसात् गर्दै अध्यक्ष कमरेडले मङ्सिर १२ गते साँझ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीको नामावली महाधिवेशनसमक्ष प्रस्तुत गर्नुभयो । महाधिवेशन प्रतिनिधिहरूको अत्यधिक ठूलो सङ्ख्या उक्त प्रस्तावको पक्षमा उभिए पनि कतिपय कमरेडहरूले भने प्रतिस्पर्धाको पक्षमा आफ्नो राय व्यक्त गर्नुभयो ।

फलतः नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया अगाडि बढाइयो ।

केन्द्रीय निर्वाचन आयोगबाट नेतृत्व चयनका लागि निर्धारण गरिएका पदाधिकारीसहित विभिन्न क्लस्टरमध्ये १० क्लस्टरमा निर्वाचन सम्पन्न गरियो । पार्टी महाधिवेशनमा पहिलोपल्ट विद्युतीय मतदान मेशिन प्रयोग गरिएका कारण मतदान र मतगणना छरितो एवं सहज भयो । कुनै पनि मत बदर हुने स्थिति रहेन । निर्वाचनबाट कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन भयो । कमरेड केशव बडालको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र कमरेड पुष्पराज कँडेलको अध्यक्षतामा २४ सदस्यीय केन्द्रीय लेखा आयोगको निर्वाचन समेत सँगसँगै भयो । मतगणना सकिनासाथ निर्वाचन आयोगका अध्यक्षले पार्टी अध्यक्षलाई र अध्यक्षले अन्य पदाधिकारी र सदस्यहरूलाई सपथग्रहण गराउनुभयो । यससँगै निर्वाचन आयोगका अध्यक्षले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष र केन्द्रीय लेखा आयोगका अध्यक्षलाई पनि सपथग्रहण गराउनुभयो । आयोगका अध्यक्षहरूले आफ्ना आयोगका सदस्यहरूलाई सपथग्रहण गराउनुभयो ।

पार्टी अध्यक्षले महाधिवेशन भव्य रुपमा सफल पार्न योगदान गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

समसामयिक विषयमा १७ वटा प्रस्तावहरू पारित गर्दै २०७८ मङ्सिर १४ गते साँझ ८ बजे महाधिवेशन सम्पन्न भयो ।

महाधिवेशनका मुख्य विशेषता, उपलब्धि र सन्देशहरू

  • (क) यस महाधिवेशनपश्चात् नेकपा (एमाले) देशको मुख्य तथा नेतृत्वदायी शक्ति हो भन्ने कुरा पुनर्पुष्टि भएको छ । विधान महाधिवेशनले पार्टीको सङ्गठनात्मक संरचना र कार्यकर्तापङ्क्तिमा विभाजनको असर नरहेको स्पष्ट गरेको थियो भने राष्ट्रिय महाधिवेशनले पार्टीको जनाधार अक्षुण्ण र सुदृढ रहेको पुष्टि गरेको छ । महाधिवेशनपश्चात् पार्टीपङ्क्तिको मनोबल दह«ो र उत्साह उच्च भएको छ ।
  • (ख) महाधिवेशनले पार्टीभित्रका विभिन्न मनोविज्ञानहरू (सुरुदेखि नै नेतृत्वको वरिपरि गोलबन्द, एकता र एकीकरणका क्रममा आबद्ध र दशबुँदे प्रस्तावपश्चात् क्रियाशील) लाई भावनात्मक रुपमा एकताबद्ध गर्दै पार्टीलाई थप सुदृढ बनाएको छ । पार्टी निर्माण, विस्तार, एकता र एकीकरण नै नेकपा (एमाले) को संस्कृति र परम्परा हो भन्ने पुनर्पुष्टि भएको छ । एकताको भावनालाई आम पार्टी पङ्क्तिले हार्दिकताका साथ आत्मसात गर्दछ भन्ने स्पष्ट भएको छ । एकताको निरन्तरताको बिरासतलाई महाधिवेशनले राम्रोसँग स्थापित गरेको छ ।
  • (ग) विधान महाधिवेशनले पार्टीको मार्गदर्शक सिद्धान्त– माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादका आधार तयार गर्ने कार्यक्रम र कार्यदिशा, विभिन्न विषयमा पार्टीका नीतिहरू एवं आगामी महाधिवेशनसम्मका लागि कार्यभार सम्बन्धमा स्पष्ट दिशानिर्देश गरेको थियो । र, यसका लागि पार्टीको सङ्गठनात्मक सिद्धान्त र ढाँचा तय गरेको थियो । राष्ट्रिय महाधिवेशनले यी अभिभारा बहन गर्नसक्ने सक्षम नेतृत्व निर्माण गरेको छ ।
  • (घ) नेकपा (एमाले) संविधान र प्रचलित कानुनको व्यवस्थाअनुरुप केन्द्रीय कमिटीमा न्यूनतम एक तिहाई महिलासहित समावेशी संरचना निर्माण गर्ने मुुलुुकको पहिलो पार्टी बनेको छ ।
  • (ङ) नीतिगत विषय होस् या नेतृत्व चयनको विषय, आमसहमति लोकतन्त्रको उच्चतम् अभिव्यक्ति हो । सहमति हुन नसकेका विषयमा स्वस्थ एवं विधिसम्मत् अभ्यास र प्रतिस्पर्धा पनि लोकतान्त्रिक प्रक्रियाकै अङ्गहरू हुन् । हामीले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा सहमति र प्रतिस्पर्धा दुवै विधिलाई सहज र स्वस्थ ढङ्गले अभ्यास गरेका छौं । सहमतिका नाममा लोकतान्त्रिक अभ्यास खुम्चिने या प्रतिस्पर्धाका नाममा समूहगत प्रतिस्पर्धा तथा भावनात्मक विभाजनको रेखा कोरिनेजस्ता विकृतिहरूबाट पार्टीलाई मुक्त गरेका छौं । नीति र नेतृत्वका प्रश्नमा आमसहमतिले पार्टीको एकता तथा प्रभावकारितालाई सुदृढ बनाएको छ । पार्टीको आन्तरिक एकतामा आँच पुग्छ कि भन्ने आशङ्काहरू दूर गर्दै महाधिवेशनबाट पार्टी थप बलियो बनेर फर्केको छ ।
  • (च) नेकपा (एमाले) ले विचारमा जस्तै सङ्गठनात्मक प्रश्नमा पनि एक किसिमको ‘ट्रेण्ड सेट’ गरेको छ । नीति निर्माण र नेतृत्व निर्माणका लागि अलग–अलग महाधिवेशनको व्यवस्था, एकैदिन एकैसाथ स्थानीय तहका अधिवेशनहरूको आयोजना, आधुनिक प्रविधिको प्रयोगलगायत विषयमा नेकपा (एमाले) ले दृष्टान्त स्थापित गरेको छ, जसलाई विभिन्न दलहरूले पछ्याइरहेका छन् ।
  • (छ) महाधिवेशनमा प्रचार–प्रसारका लागि हामीले सामाजिक सञ्जाललगायतका नयाँ मिडिया, डिजिटल प्रविधि र पार्टी सञ्जालको प्रभावकारी उपयोग ग¥यौं । फलतः मूलधारका सञ्चारमाध्यममा न्यून पहुँचका बाबजुद हाम्रो प्रचार कार्य अत्यन्त प्रभावकारी, मितव्ययी र आकर्षक रह्यो । महाधिवेशनले स्वदेशी र विदेशी सञ्चारमाध्यमहरूमा पर्याप्त कभरेज पायो । विभिन्न समुदायका सांस्कृतिक विविधता र विशेषताको प्रदर्शन प्रभावकारी रह्यो ।
  • (ज) महाधिवेशनका लागि चन्दा सङ्कलन नगर्ने, आमपार्टी सदस्यहरूलाई एक सय रुपियाँ स्वेच्छिक सहयोगका लागि आह्वान गर्ने र खर्चका लागि पार्टीमाथि नै आधारित हुने नीति प्रभावकारी रह्यो । यस विधिमार्फत् महाधिवेशनका लागि भएको खर्चको उल्लेख्य हिस्सामा योगदान मात्र पुगेन, महाधिवेशनप्रति आम पार्टीपङ्क्तिको अपनत्व विकासमा पनि ठूलो सहयोग पुगेको छ । पार्टीको व्यवस्थापकीय क्षमता थप परिस्कृत र परिपक्व बनेको छ ।
  • (झ) महाधिवेशनले चितवनको पहिचानलाई प्रचार–प्रसार गर्न, त्यहाँको पर्यटकीय र व्यावसायिक गतिविधि एवं अर्थतन्त्रलाई चलायमान बनाउन तथा चितवनवासी जनसमुदायमा पार्टीलाई स्थापित गर्न महत्वपूर्ण योगदान पुगेको छ । ठूला कार्यक्रमहरू आयोजना गर्ने स्थानीय व्यावसायीहरूको व्यवस्थापकीय क्षमता विकासमा पनि महाधिवेशनले सहयोग पु¥याएको छ । सँगसँगै महाधिवेशन प्रतिनिधिहरूका असल आचरण र शैलीले चितवनवासीमाझ गहिरो सकारात्मक छाप छाडेको छ भने त्यहाँका व्यवसायीहरू र जनताको न्यानो आतिथ्य अविस्मरणीय रहेको छ ।
  • (ञ) विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनले पार्टीका सिद्धान्त, कार्यदिशा र नीतिलाई स्पष्ट, परिस्कृत र व्यवस्थित बनाएका छन् । नेतृत्वलाई सही ढङ्गले स्थापित गरेका छन् । सही नीति र सक्षम नेतृत्वको मार्गदर्शनमा पार्टीले आगामी दिनमा राष्ट्रिय राजनीतिमा अझ प्रभावकारी र नेतृत्वदायी भूमिका खेल्ने एवं आगामी निर्वाचनमा बहुमतप्राप्त पहिलो शक्तिका रुपमा स्थापित हुने भरपर्दो आधार निर्माण भएको छ ।

कमजोरी तथा शिक्षाहरू

महत्वपूर्ण सफलता, उपलब्धि र विशेषताका बाबजुद महाधिवेशनमा केही कमीहरू पनि रहन गएका छन् र तिनले हामीलाई महत्वपूर्ण शिक्षा पनि दिएका छन् । तिनलाई सङ्क्षिप्तमा यसरी उल्लेख गर्न सकिन्छ–

  • (क) महाधिवेशनको तयारीका लागि हामीसँग असाध्यै कम समय उपलब्ध थियो । दुई महिनाभन्दा कम समय, त्यसबीचमा परेका दशैं, तिहार, नेपाल सम्वत्को नयाँ वर्ष तथा छठजस्ता ठूला सांस्कृतिक पर्वहरू, वडा र पालिका अधिवेशनसमेत सम्पन्न गर्नुपर्ने दायित्वजस्ता जिम्मेवारीका कारण महाधिवेशन तयारीमा समयको ठूलो दवाव सिर्जना भयो । समयको न्यूनताका बीच काम गर्नुपर्दा कतिपय विषयमा कमी रहन गए । यसले हामीलाई महाधिवेशनको तयारीका लागि न्यूनतम चार महिना छुट्याउनै पर्ने शिक्षा प्राप्त भएको छ ।
  • (ख) पार्टीको सङ्गठनात्मक जीवन लामो समयसम्म अस्तव्यस्त जस्तो बन्न पुगेको थियो । सदस्यता नवीकरण र विवरण अद्यावधिक गर्न, एकता– एकीकरणका क्रममा जोडिएको सङ्गठनात्मक विवरणलाई व्यवस्थित गर्न र अन्य अभिलेखलाई अद्यावधिक गर्न अन्तिम समयसम्म पनि ताकेता गरिरहनुपर्ने स्थिति सिर्जना भयो । यसले कतिपय ठाउँमा प्रतिनिधि चयनको कार्यतालिका नै प्रभावित बन्न पुग्यो । आगामी दिनमा यस्तो अवस्था सिर्जना नहोस् भन्नाका लागि हामीले सदस्यता लगायतका विवरणलाई हरबखत अद्यावधिक राखिरहनुपर्छ ।
  • (ग) प्रतिनिधि र सहभागीहरूको विवरण समयमै उपलब्ध हुन नसक्दा प्रतिनिधि परिचय–पत्र बन्न ढिलाइ भयो । यसले गर्दा सौराहामा आवास व्यवस्थापनमा केही समस्या पैदा भयो । कतिपय प्रतिनिधिहरूलाई असुविधा पनि पर्न गयो । आगामी दिनमा हामीले प्रतिनिधिहरूको अन्तिम विवरण कम्तिमा पनि एक साताअगावै सम्बन्धित निकायले प्राप्त गरिसक्ने कुरा सुनिश्चित गर्नुपर्छ ।
  • (घ) नेकपा (एमाले) जस्तो लोकप्रिय, व्यापक जनआधारित तथा ठूलो पार्टीले आयोजना गर्ने राष्ट्रियस्तरका कार्यक्रमका लागि खुल्ला स्पेश र सभागृहहरूको अभाव टड्कारो गरी खड्कियो । सोहीअनुरुपका साउण्ड सिस्टम, डिजिटल डिस्प्ले र सञ्चार सुविधा उपलव्ध गराउने व्यवसायिक क्षमता पनि कमजोर देखियो । महाधिवेशनमा सहभागी हुन आउनुभएका लाखौं सहभागीहरूले वक्ताहरूलाई सुन्नै नपाई फर्किनुपर्ने अवस्था सिर्जना भयो । आगामी दिनमा हामीले मुलुकका प्रमुख सहरी केन्द्रहरूमा तीनै तहका सरकार, स्थानीय समुदाय र व्यवसायीहरूसँग समन्वय गरेर खुल्ला कार्यक्रमस्थल र ठूला सभागृहहरूको निर्माणको प्रबन्धमा ध्यान पु¥याउनुपर्छ ।
  • (ङ) पार्टीको सङ्गठनात्मक संरचना सम्बन्धमा महाधिवेशनअगावै स्पष्टता होस् र महाधिवेशनको चापमा कतिपय सङ्गठनात्मक निर्णयहरू हतारोमा नहोऊन् भन्नाका लागि विधान महाधिवेशनबाट सङ्गठनात्मक संरचनाको निक्र्यौल गर्ने वैधानिक व्यवस्था गरिएको हो । आगामी दिनमा यसको कार्यान्वयन प्रभावकारी ढङ्गले गरिनुपर्छ । विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनबीच समयको अन्तर पनि बढाउनुपर्ने अनुभव भएको छ ।
    यसका साथै निर्वाचन प्रक्रिया सुरु भइसकेपछि निर्वाचन आयोगसँगको भूमिका र उससँगको समन्वयलाई बढाउनु आवश्यक देखिएको छ ।
  • (च) हाम्रो पार्टीपङ्क्ति आधुनिक प्रविधिको प्रयोगमा क्रमशः अभ्यस्त बन्दै गएको छ । तर अझै पनि कतिपय कमरेडहरूमा आधुनिक प्रविधिको पहुँच विस्तार गर्न एवं यससम्बन्धी ज्ञान र अभ्यासलाई बढाउँदै लैजान आवश्यक देखिएको छ ।
  • (छ) सहमति र प्रतिस्पर्धा दुवै लोकतन्त्रका पक्षहरू हुन् । यिनीहरूको प्रयोग, प्रभावकारिता र सान्दर्भिकता समय र स्थिति सापेक्ष हुन्छ । पार्टीमाथि गरिएको चौतर्फी घेराउ, आक्रमण र मोर्चाबन्दीको परिप्रेक्ष्यमा यसपटक आम पार्टीपङ्क्तिको चाहना पार्टीको नेतृत्व सहमतिबाटै चयन होस् भन्ने थियो । वडा र पालिका अधिवेशनका क्रममा तथा प्रतिनिधि चयनका सिलसिलामा अभिव्यक्त उच्चस्तरको समझदारी र एकताको भावनाले आम पार्टीपङ्क्तिको मनोभावनालाई प्रतिविम्बित गरिसकेकै थियो । पार्टीभित्रका विभिन्न मनोविज्ञानलाई भावनात्मक र सङ्गठनात्मक रुपमा एकताबद्ध बनाउन पनि यसपटक सहमतिको प्रयास गरिनु स्वाभाविक र उपयुक्त थियो । तर यस प्रयासलाई अनावश्यक रुपमा विवादित बनाउने काम भयो । नेकपा (एमाले)को महाधिवेशन विग्रहयुक्त बनोस् र पार्टीको आन्तरिक एकतामा आँच पुगोस् भन्ने चाहना गर्ने विपक्षीहरूले सहमतिको प्रयासलाई आलोचना गर्नु र यसमाथि आक्रमण गर्नु त स्वाभाविकै भयो । तर पार्टीकै कतिपय कमरेडहरूबाट पनि यस प्रयासलाई अन्यथा रुपमा व्याख्या, विश्लेषण र आलोचना गरियो, जुन उचित थिएन ।
    यद्यपि, हामीले नेतृत्व चयनको विधिलाई सहमतिमै निक्र्यौल ग¥यौं र स्वस्थ एवं मर्यादित ढङ्गले टुङ्गो लगायौं ।
  • (ज) ठूला कार्यक्रमहरू व्यवस्थित बनाउन स्वयंसेवकहरूको भूमिका महत्वपूर्ण हुन्छ । स्वयंसेवक परिचालनमा पार्टी अब्बल देखिँदै आएको पनि छ । यति हुँदाहुँदै पनि स्वयंसेवकहरूको छनोट, उनीहरूको भूमिका र कार्यशैलीजस्ता विषयमा अझ सुधारको खाँचो छ ।

निष्कर्ष

केही कमी र सीमाहरूका बाबजुद पार्टीको दशौं राष्ट्रिय महाधिवेशन अत्यन्त भव्य, ऐतिहासिक र सफल रहेको छ । महाधिवेशनपश्चात् पार्टी नीतिगत रुपमा थप स्पष्ट र सही ढङ्गले दिशानिर्देशित भएको छ । सङ्गठनात्मक रुपमा थप सुदृढ र व्यवस्थित भएको छ । कमरेडली भावनाले अझ एकताबद्ध भएको छ । विधान महाधिवेशनले पारित गरेको कार्यदिशा तथा राष्ट्रिय महाधिवेशनले निर्माण गरेको नेतृत्वको मार्गदर्शनमा सिङ्गो पार्टीलाई परिचालित गर्नु अबको हाम्रो दायित्व हो । महाधिवेशनमा हामीले ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गरौं’ भन्ने मूल नारा तय गरेका छौं । मूल नाराले पहिलो अंशले पार्टी निर्माणका सम्बन्धमा स्पष्ट दिशानिर्देश गर्छ भन्ने दोस्रो अंशले राष्ट्र निर्माणको बाटोबारे स्पष्ट पार्छ । यही मूल नाराको मर्म र महाधिवेशनको स्पिरिटका आधारमा सिङ्गो पार्टीलाई चलायमान बनाउनु र महाधिवेशनका सन्देशहरूलाई आम जनसमुदायमाझ सम्प्रेषित गर्नु हाम्रो अभिभारा हो ।