एमाले आज

आर्थिक बृद्धि दर ५ प्रतिशतभन्दा माथि जाने अवस्था छैनः डा. खतिवडा 

सेयर गर्नुहोस्

७ भदौ (२०८३), काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले जेनजी घटनाअघिको अर्थतन्त्रमा खासै भिन्नता नआएको बताउनु भएको छ । बहुमत सरकार बनेपछि अर्थतन्त्र सुधार हुने बाचा गरिए पनि वर्तमान सरकारको नीति अनुसार अर्थतन्त्रमा कुनै सुधार नआएको बताउनुभयो ।
नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित ‘इन्स्पायर कनेक्ट’को तेस्रो श्रृङ्खलामा डा. खतिवडाले भन्नुभयो– सरकारले पुँजीगत खर्च समेत गर्न सकेको छैन । जेनजी घटना अघिको अर्थतन्त्र जे थियो, त्योभन्दा माथि सप्रिएको छैन ।
नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले नयाँ युवाहरूबीच श्रृङ्खलाबद्ध रुपमा विषयगत बहस सञ्चालन गर्दै आएको छ । जेनजी घटनापछि स्वदेशी निजी तथा विदेशी लगानीकर्ताहरूमा आत्मविश्वास नदेखिएको डा. खतिवडाले बताउनुभयो । 
डा. खतिवडाले भन्नुभयो– आर्थिक बृद्धि दर ७ प्रतिशतको लक्ष्य लिइएको छ । त्यो आर्थिक बृद्धि कहाँबाट गरिन्छ भन्ने कतै देखिँदैन । त्यसैले अहिलेको अवस्था हेर्दा ५ प्रतिशतसम्म आर्थिक बृद्धि हुने देखिन्छ । 
‘स्वदेशी निजी लगानीकर्ताहरु लगानीको सुरक्षा हुने कि नहुने भन्नेमा चिन्तित छन् । विदेशमा लगानी गर्ने केही बाटो खुला गरिदिएपछि पुँजी पलायनको अवस्था आएको छ । विदेशी लगानीकर्ताले सम्पत्ति सुरक्षा हुन्छ कि हुँदैन भन्नेमा विश्वस्त हुन सकेका छैनन्’, उहाँले भन्नुभयो ।
सत्ता पक्ष दलले गरेको बाचापत्र, १०० दिनको खाका बाचापत्र र अर्थमन्त्रीको स्टाटस पत्रको आधारमा आर्थिक बृद्धि समीक्षा गरिएको डा. खतिवडाले बताउनुभयो ।  वर्तमान अर्थमन्त्रीले आफ्नो स्टाटस पत्रमा अहिलेसम्म भएको आर्थिक बृद्धि र विकासलाई व्यावसायिक ढङ्गबाटै लेखिएको उहाँले बताउनुभयो । ‘अर्थतन्त्रले कस्तो बाटो लियो भन्ने विषय २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेटबाट मूल्याङ्कन गर्ने हो । केही महिना मात्रै हेरेर हुँदैन । ओरियन्टेशन कता भन्ने मुख्य विषय हो ।’ 
उहाँले देशको पैसाले मात्रै हाम्रो देश बन्न नसक्ने बताउनुभयो । ‘विदेशी अनुदान लिने हो वा ऋण लिने हो ? अनुदान लिऔं कहाँ के हुन्छ थाहा छैन । ऋण लिऔं बिनिमयका कारण ब्याजदर कसरी हुने र कसरी तिर्ने भन्ने हो’,   उहाँले भन्नुभयो– यि सबैलाई हेरेरै विदेशी निजी लगानी सेलेक्टिभ भनेका छौैं । लगानीले देशभित्र पुँजी बढाओस् र रोजगारी बढाओस् भन्ने हो । नाफा भएको भन्ने प्रमाणित गरेर स्वतः लान पाउनुपर्छ । रिर्पोटिङ, रेगुलेशनको पालना हुनुपर्छ ।

हामीसँग जोडिनुहोस्