detail-img

उपाध्यक्ष पौडेलको गिरफ्तारीको घोर निन्दा र भर्त्सना

८ असार (२०८३), काठमाडौं । नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला गैरकानुनी ढङ्गले अपहरणको शैलीमा गिरफ्तार गरेकोप्रति घोर निन्दा र भर्त्सना गरेको छ । 
अध्यक्ष केपी शर्मा ओलीले आज प्रेस वक्तव्य जारी गरी वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा भएको जनाउनुभएको छ । ।
‘यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले)माथि लगातार भइरहेका श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षडयन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ’, वक्तव्यमा अध्यक्ष ओलीले भन्नुभएकोछ–सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ ।
वर्तमान सरकार अलोकतान्त्रिक‚ सर्वसत्तावाद र अधिनायकवादको  बाटोतर्फ उन्मुख छ । हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ । विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस् । 
वक्तव्यमा सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापका  विरुद्ध   सामूहिक प्रतिवाद गर्न सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरिएको छ ।