भोटेकोशी बाढीपीडितका लागि अगम्य र अप्राप्य बन्यो सङ्घीय सरकार, बागमती प्रदेश सरकारको काम प्रशंसनीय
१४ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपत्तिको समयमा तत्काल उद्धार, राहत र पुनर्स्थापनामा राज्यका सबै संयन्त्र परिचालन हुनुपर्नेमा सङ्घीय सरकारले अपेक्षित समन्वय र नेतृत्व दिन नसकेको बताउनुभएको छ ।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट सहितका क्षेत्रमा भएको क्षति असाधारण र भयावह रहेको उहाँले बताउनुभयो ।
पार्टीका महासचिव शंकर पोखरेलको नेतृत्वको टोलीद्वारा बाढीग्रस्त नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमनपछि तयार पारिएको प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले विपत्तिको समयमा सङ्घीय सरकारको भूमिका प्रभावकारी हुन नसकेको बताउनुभयो ।
उहाँले सङ्घीय सरकार ‘राज्यको सामथ्र्य कब्जा गरेर बसेको’ तर पीडित जनताका लागि ‘अगम्य र अप्राप्त’ देखिएको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– सरकारले राज्यको सामथ्र्य कब्जा गरेर बस्यो । सरकार अगम्य, अप्राप्त, त्यस्तो स्थिति बन्यो ।
भोटेकोशीको बाढीले त्रिशूली क्षेत्रमा अहिलेसम्म नदेखिएको स्तरको क्षति पुर्याएको उल्लेख गर्दै उहाँले यसलाई राष्ट्रिय शोक र पीडाको विषयका रूपमा लिनुपर्ने बताउनुभयो । मानवीय क्षति अत्यन्तै गम्भीर रहेको भन्दै अध्यक्ष ओलीले धनसम्पत्तिको क्षति समयसँगै पुनपूर्ति गर्न सकिएला, गुमेको मानव जीवनको क्षति अपूरणीय हुने बताउनुभयो ।
उहाँले विपत्तिमाथि राजनीतिक लाभ लिने प्रयास नगर्न सबै पक्षलाई आग्रह गर्दै यस्तो सङ्कट साझा पीडा र साझा जिम्मेवारी भएको बताउनुभयो । तर, सरकारको दायित्व अरूभन्दा बढी हुने भएकाले सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारसँग प्रभावकारी समन्वय गरी नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले उद्धारमा दक्षता हासिल गरेका विभिन्न संस्था तथा जनशक्तिलाई परिचालन गर्न नदिएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाउनुभयो । हेलिकप्टरलगायतका स्रोतसाधनसमेत प्रभावकारी रूपमा परिचालन हुन नसकेको उल्लेख गर्दै उहाँले उपलब्ध दक्षता र स्रोतलाई उपयोग गर्नबाट रोक्नु विपद् व्यवस्थापनका दृष्टिले उचित नभएको बताउनुभयो ।
सङ्घीय सरकारको तुलनामा बाग्मती प्रदेश सरकारले आफ्नै पहलमा उद्धार, राहतसँगै पुनःनिर्माणका कामसमेत तदारुकताका साथ अघि बढाएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले बग्मती प्रदेश सरकारले बाढीपहिरोबाट अवरुद्ध बाटाघाटा सञ्चालनमा ल्याउने, प्रभावित क्षेत्रसँग सम्पर्क पुनःस्थापित गर्ने तथा समस्याग्रस्त क्षेत्रमा पुग्ने प्रयास गरेको भन्दै धन्यवाद दिनुभयो ।
उहाँले केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग मिलेर काम गर्नुपर्नेमा त्यसो नगरेको र विपत्तिको विषयमा प्रभावकारी सर्वदलीय समन्वयको पहलसमेत गर्न नसकेको बताउनुभयो ।
अध्यक्ष ओलीले विपत्तिमा श्रेय लिने होडबाजी नगरी सबै राजनीतिक दल, सरकारका तह तथा सामाजिक संस्थाहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । एकल प्रयासबाट यस्तो ठूलो विपत्तिको समाधान सम्भव नहुने भन्दै उहाँले अझै पनि सरकारले आफ्नो भूमिका र दृष्टिकोण सुधार्नुपर्ने र विपत्तिलाई राजनीतिक विषय बनाउन नहुने स्पष्ट पार्नुभयो ।
उहाँले अब बागमती प्रदेश कमिटीले प्रभावित जिल्लाबीच समन्वय गरेर पार्टीका तर्फबाट राहत, उद्धार र पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउनु पर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले बाग्मती प्रदेश कमिटीलाई पार्टीका सचिव तथा बाग्मती प्रदेश इञ्चार्ज महेश बस्नेतको नेतृत्वमा पार्टीको केन्द्रीय कार्यालयमा सम्पर्क केन्द्र स्थापना गरी पार्टीका तर्फबाट राहत तथा पुनर्स्थापनाका काममा समन्वय गर्न सुझाउनुभयो ।
अध्यक्ष ओलीले विपद्को वास्तविक क्षति प्रारम्भिक अनुमानभन्दा अझ ठूलो रहेको बताउँदै विस्थापित नागरिकको घर पुनःनिर्माणदेखि भौतिक पूर्वाधार पुनःस्थापनासम्म दीर्घकालीन योजना आवश्यक रहेको भनाइ राख्नुभयो । बाढीपहिरोमा दक्ष प्राविधिक तथा युवा जनशक्ति गुमाउनु राष्ट्र निर्माणकै दृष्टिले ठूलो क्षति भएको उहाँले उल्लेख गर्नुभयो ।
प्रभावित क्षेत्रमा तत्काल महामारी फैलिन सक्ने जोखिम रहेको र बाढीपहिरोमा हराएका तथा पुरिएका शवको खोजी, पहिचान र व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने भन्दै अध्यक्ष ओलीले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
राहत वितरण गर्दा एउटै ठाउँमा पटक–पटक पुग्ने तर कतिपय प्रभावितसम्म राहत नै नपुग्ने अवस्था आउन नदिन ध्यान दिनुपर्ने उहाँको सुझाव छ । नियमित औषधि सेवन गर्ने तथा उपचार आवश्यक पर्ने नागरिकलाई पहिचान गरी औषधि तथा स्वास्थ्य सेवा उनीहरूको पहुँचमा पुर्याउनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।
अबको प्राथमिकता राजनीतिक श्रेय होइन, पीडितको उद्धार, राहत र पुनर्स्थापना हुनुपर्ने स्पष्ट पार्दै उहाँले सङ्घीय सरकारलाई प्रदेश र स्थानीय सरकारसँग हातेमालो गरेर प्रभावकारी रूपमा अघि बढ्न आग्रह गर्नुभयो ।
भोटेकोशी र त्रिशुली नदीको बाढीले क्षतिग्रस्त नुवाकोटको अवस्थाको स्थलगत अध्ययन प्रतिवेदन बुझाउँदै महासचिव शंकर पोखरेलले त्रिशुली पारी शव उठाउने काम समेत अझै हुन नसकेको, विद्युत, यातायात र सञ्चार सम्पर्क विच्छेदको अवस्था रहेको, उद्धार र राहतको काममा पार्टीका जनसङ्गठनहरु राष्ट्रिय युवा संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र भोलेण्टियस फोर्स पहिलो दिनदेखि परिचालित रहेको, सरकारले उद्धारका लागि हेलिकोप्टर प्रयोग गरे पनि त्यो प्रयाप्त नभएका कारण बाग्मती प्रदेशलाई वैकल्पिक सडक प्रयोग गरी निःशुल्क बस सेवा सञ्चालन गर्न लगाइएको र त्यसबाट धेरै अलपत्र मानिसहरु गन्तव्यमा पुग्न पाएको जानकारी गराउनुभयो ।
उद्धार र राहतकाmे काममा संयोजनको अभाव देखिएकाले पार्टीका तर्फबाट सङ्घीय सरकारलाई यसमा ध्यानाकर्षण गराउनुपर्ने उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले शव व्यवस्थापनमा बेठीक काम भइरहेको बताउनुभयो । उहाँले यस विपदबाट देशले ठूलो मानवीय क्षति व्यहोर्नु परेको बताउँदै बाग्मती प्रदेश सरकारलाई बाढीबाट ज्यान गुमाउनेहरुको सम्झनामा ‘स्मृति पार्क’ बनाउन आग्रह गरिएको बताउनुभयो ।
बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्को कठिन घडीमा बाग्मती प्रदेश सरकार प्रभावित नागरिकको साथमा निरन्तर खटिरहेको बताउनुभयो ।
बाढी आएको दिन नै आफू आर्थिक मामिला मन्त्री, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री र मुख्यसचिवसहित प्रभावित क्षेत्रमा पुगेको जानकारी दिँदै मुख्यमन्त्री थापाले नुवाकोटको बट्टारमा तत्काल तीनवटा स्वास्थ्य शिविर सञ्चालन गरी घाइतेको उपचार र गम्भीर घाइतेलाई काठमाडौं पठाउने व्यवस्था मिलाइएको बताउनुभयो ।
उहाँका अनुसार बाढीपहिरोबाट प्रभावित भएर ज्यान जोगाउन सफल नागरिकका लागि नुवाकोटमा चारवटा अस्थायी सेल्टर निर्माण गरी खाना र बसोबासको व्यवस्था गरिएको थियो । जो अहिले पनि सञ्चालनमा रहेको छ ।
प्रधानमन्त्री बालेन्द्र साह नुवाकोट पुगेका बेला आफूले अघिल्लो दिनदेखि भएका उद्धार, राहत तथा व्यवस्थापनका सबै गतिविधिबारे जानकारी गराएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले आवश्यक समन्वय र थप सहयोगको अपेक्षा रहे पनि त्यसतर्फ पर्याप्त पहल नभएको बताउनुभयो ।
रसुवामा सबैभन्दा बढी क्षति भएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले आफू छहरे–चौघडा हुँदै रसुवा पुगेर प्रदेशअन्तर्गतका भौतिक पूर्वाधार कार्यालयलाई तत्काल सडक सञ्चालनमा ल्याउन निर्देशन दिएको जानकारी दिनुभयो । प्रदेश सरकारको पहलमा सडक मर्मत गरी अहिले काठमाडौं–धुन्चे यात्रा करिब साढे पाँच घण्टामा गर्न सकिने अवस्था बनेको उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा केन्द्रीय लेखा आयोगका अध्यक्ष तथा सांसद डा. पुष्प कँडेल र केन्द्रीय सदस्य एवं नुवाकोट इन्चार्ज केशव पाण्डेले पनि धादिङ र नुवाकोटको स्थलगत अवस्थाको जानकारी गराउनुभएको थियो ।
