एमाले आज

महत्वपूर्ण निर्णय गर्दै केन्द्रीय कमिटीको तेस्रो बैठक सम्पन्न

सेयर गर्नुहोस्

-पूर्व उपाध्यक्ष एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बरिष्ठ नेता मनोनित
-पूर्व बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायत सातजना स्थायी कमिटीमा
-केन्द्रीय कमिटी सदस्यमा ३३ जना मनोनित, राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

असोज (२०८३), ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक केन्द्रीय कमिटी सदस्य मनोनयन, स्थायी कमिटी गठन तथा पार्टीमा बरिष्ठ नेताको व्यवस्था र मनोनयन लगायत महत्वपूर्ण निर्णय गर्दै आज सम्पन्न भएको छ । 
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा (यही असोज ५–८, २०८३) ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा चारदिनसम्म बसेको बैठकले पार्टीका पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको दोस्रो वरियतामा रहने गरी बरिष्ठ नेतामा मनोनित गरेको महासचिव शंकर पोखरेलले जारी गर्नुभएको प्रेस वक्तव्यमा जनाइएको छ ।  
बैठकले अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । 
बैठकले सातजना नेताहरुलाई स्थायी कमिटी सदस्य चयन गरेको छ । स्थायी कमिटी सदस्यहरूमा– ईश्वर पोखरेल–काठमाडौं, प्रदीप ज्ञवाली–गुल्मी, काशीनाथ अधिकारी–चितवन, देवराज घिमिरे–झापा, शिवमाया तुम्वाहाम्फे–मोरङ, लालबाबु पण्डित–मोरङ, थममाया थापा–म्याग्दी रहनु भएको छ ।
बैठकले ११औं महाधिवेशनपछि विधानतः केन्द्रीय कमिटीमा मनोनित गर्न बाँकी केन्द्रीय सदस्यहरू मनोनित गरेको छ । 
मनोनित हुने केन्द्रीय कमिटी सदस्यहरूः काशीनाथ अधिकारी–चितवन, देवराज घिमिरे–झापा, हरि रिजाल–प्यूठान, पासाङ शेर्पा–ताप्लेजुङ, नरेन्द्र भट्टराई–ईलाम, नन्दराम देवकोटा–खोटाङ, धर्म गिरी–प्यूठान, नारायण घर्ती–जाजरकोट, विद्यासुन्दर शाक्य–काठमाडौं, शान्तिलाल महत–जुम्ला, पोल्तेन छेपाङ गुरूङ–मनाङ, प्रेम दङ्गाल–काठमाडौं, सुरेन्द्र उदास–भोजपुर, विनोद पाण्डे–काठमाडौं, पुष्पराज श्रेष्ठ–सिन्धुली, विमला घिमिरे–कपिलवस्तु, शिवमाया तुम्वाहाम्फे–मोरङ, कौशिला खत्री–जाजरकोट, जानुका सिम्खडा–धादिङ, बिना बास्तोला–भक्तपुर रहनुभएको छ ।
त्यसैगरी पार्टीमा समायोजन हुनुभएकाहरु मध्येबाट केन्द्रीय सदस्य मनोनित हुनेहरुमा मोहम्मद इस्तियाक राई–बाँके, प्रदीप यादव–पर्सा, अब्दुल हुसैन अन्सारी–सुनसरी, डिबी कार्की–स्यांङ्जा, भवानी खापुङ–तेह्रथुम, दीपक साउद–अछाम, जय गोले (तामाङ)–काठमाडौँ, धर्मराज निरौला–सुनसरी, रवि चाम्लिङ–खोटाङ, विनोद पहाडी–रुपन्देही, श्रीप्रसाद शर्मा–बागलुङ, रामप्रित राम–सिरहा, ध्रुव विष्ट–भक्तपुर हुनुहुन्छ ।   
केन्द्रीय कमिटीको बैठक समापन गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले) उन्नतस्तरको समझदारी र सुदृढ एकता भएको पार्टी हो भन्ने कुरा तेस्रो केन्द्रीय कमिटीमा पनि प्रकट भएको औंल्याउँदै सबै केन्द्रीय कमिटी सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो । 
बैठकमा प्रस्तुत बाँकी एजेन्डाहरुमध्ये स्थायी कमिटीको पूर्णता, पोलिटव्युरो गठन, सल्लाहकार परिषद् गठन, विभागहरुको गठन, जेष्ठ कम्युनिष्ट मञ्च गठनको कामलाई सचिवालय बैठकबाट निर्णय लिन केन्द्रीय कमिटी बैठकले अधिकार प्रत्यायोजन गरेको छ । केन्द्रीय कमिटीको आजको बैठक बस्नु अघि केन्द्रीय सचिवालयको बैठक बसेको थियो ।
बैठकले २२ बुँदामा समसामयिक प्रस्तावहरू पनि पारित गरेको छ । 

 

हामीसँग जोडिनुहोस्