detail-img

जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गरिने

५ बैशाख (२०८१), काठमाडौं । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको बैठकले जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज बसेको संयन्त्रको बैठकले आगामी जेठ १६ र १७ गते जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको संयन्त्रका संयोजक, पार्टी स्थायी कमिटीका सदस्य भानुभक्त ढकालले जानकारी दिनुभयो ।
संयोजक ढकालले दिनुभएको जानकारीअनुसार समग्र महिला आन्दोलनको इतिहास, नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन २३ वटै जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरिएको हो । सो भेलामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गर्ने   निर्णय गरिएको छ । 
उहाँका अनुसार अध्यक्ष केपी शर्मा ओलीले महिला राष्ट्रिय भेलाकोे समापन गर्ने गरीे कार्यक्रम तय गरिएको छ । 
बैठकले महिला राष्ट्रिय भेलाको ब्यवस्थापनका लागि अनेमसंघका अध्यक्ष टुका हमालको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।
समितिको सचिवमा पार्टीका केद्रीय सदस्य तथा बाग्मती प्रदेश जनसंगठन समन्वय संयन्त्र संयोजक रचना खड्का रहनुभएको छ । यसैगरी नेपाल बुद्धिजीवी परिषदका इञ्चार्ज विद्या भट्टराईसहित पेम्बा लामा, जमुना बर्षा शर्मा, सरिता भुसाल, सीता लामा, मन्दिरा श्रेष्ठ, भवानी बजगाई, नन्दा बस्याल र शारदा खनाल सदस्य रहनुभएको छ ।
राष्ट्रिय महिला भेलामा सबै जनसंगठनमा रहेका महिला पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला तहसम्मका महिला विभाग प्रमुखलाई सहभागी गराउने मापदण्ड तय गरिएको छ । 
अनेमसंघको हकमा भने जिल्ला अध्यक्षसम्म मात्रै सहभागी गराउने मापदण्ड पारित गरेको संयोजक ढकालले बताउनुभयो । भेलामा जनसंगठनमा आवद्ध रहेका निर्वाचित महिला जनप्रतिनिधिहरूलाई पनि सहभागी गराउने निर्णय गरेको छ । 
यसैगरी बैठकले पार्टीको महाधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठकका लागि आवश्यक सबै तयारीका काममा सघाउने निर्णय गरेको छ । यही बैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा महाधिवेन प्रतिनिधि परिषदको पहिलो बैठक आयोजना गरिएको छ ।
सो बैठकपछि जेठ १० गते पार्टी स्थापना दिवसको अवसरमा गोदावरीमै बिशेष कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा आफ्नो संगठनको तर्फबाट बिशेष रूपमा उपस्थिति गराउन बैठकले सवै जनसंगठनलाई निर्देशन दिएको छ ।
यसैगरी बैठकले जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा जेठ र असार महिनाभर बिशेष कार्यक्रमको आयोजना गरी मनाउन सबै जनसंगठनहरुलाई निर्देशन दिएको एमाले केन्द्रीय सदस्य रचना  खड्काले जानकारी दिनुभयो ।