एमाले आज

लोकतान्त्रिक उत्तरदायित्वबाट कसैले पनि उन्मुक्ति पाउँदैनः महासचिव पोखरेल

सेयर गर्नुहोस्

२० कात्तिक (२०८३), काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आन्दोलनको नाममा सत्ता प्राप्त गरे पनि लोकतान्त्रिक उत्तरदायित्वबाट कसैले पनि उन्मुक्ति नपाउने बताउनुभएको छ । 
लमजुङको बेसीशहरमा विहीबार अनेरास्ववियु जिल्ला कमिटी, लमजुङ र राष्ट्रिय युवा संघ जिल्ला कमिटी लमजुङ द्वारा आयोजित ूदेश निर्माणमा युवाको चासोू विषयक एमाले महासचिव शंकर पोखरेलसंग लमजुङको युवा र विधार्थीहरूको अन्तरसंवाद कार्यक्रममा उहाँले सरकार जनताप्रति, प्रधानमन्त्री संसद्प्रति तथा राज्यका निकाय संविधान र कानुनप्रति जवाफदेही हुनुपर्ने बताउनुभयो । 
महासचिव पोखरेलले जेनजी आन्दोलनको वास्तविक नेतृत्व, त्यसका उपलब्धिको स्वामित्व र वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै आन्दोलनका घटनाक्रमको निष्पक्ष समीक्षा गर्नुपर्ने बताउनुभएको छ । 
जेनजी पुस्ताले स्थगित गरेको आन्दोलन त्यसपछि टीओबी समूहले कब्जा गरेको यथार्थ प्रस्तुत गर्दै उहाँले आन्दोलनको नेतृत्व कसले गरेको थियो र त्यसका उपलब्धिको राजनीतिक स्वामित्व कसले लिएको हो भन्ने विषय स्पष्ट हुनुपर्ने बताउनुभयो । 
आन्दोलनका क्रममा प्रयोग भएका रासायनिक पदार्थको स्रोत, प्रयोगको उद्देश्य र त्यसमा संलग्न पक्षबारे प्रश्न उठाउँदै महासचिव पोखरेलले  जेनजी युवाको नाममा भएको आन्दोलनका क्रममा भएका गतिविधि र त्यसको राजनीतिक लाभ कसले लियो भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने धारणा राख्नुभयो । 
जेनजी आन्दोलनले उठाएका सुशासन, पारदर्शिता र जवाफदेहिताका मुद्दा वर्तमान सरकारले सम्बोधन गरे वा नगरेको विषयमा पनि गम्भीर समीक्षा आवश्यक रहेको धारणा महासचिव पोखरेलले राख्नुभयो । 
उहाँले प्रधानमन्त्रीको कार्यशैली र सरकारको लोकतान्त्रिक जवाफदेहितामाथि समेत प्रश्न गर्नुभयो । लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै महासचिव पोखरेलले सरकार र राजनीतिक दलहरूबीच संवाद तथा सहकार्य आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्रीको संवादहीनताप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । 
त्यस्तै, इनम सापकोटाको मोबाइल फोन प्रधानमन्त्री कार्यालयमा रहेको र त्यसमा भएका प्रमाण नष्ट गरिएको भन्ने चर्चाबारे महासचिव पोखरेलले भन्नुभयो– उक्त मोबाइल प्रधानमन्त्री कार्यालयसम्म कसरी पुग्यो, त्यसमा रहेका प्रमाणको अवस्था के छ ? प्रमाण नष्ट गरिएको भए त्यसमा को जिम्मेवार छ ? भन्ने विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्छ । 


एकताका लागि बलियो वैचारिक एवं सैद्धान्तिक आधार निर्माण हुनुपर्ने

यसैबीच महासचिव शंकर पोखरेलले लमजुङमा शुक्रबार आयोजित विजय दशमी तथा  दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममाुकम्युनिष्ट पार्टीहरूबीच एकता नेताहरूबीचको समझदारीबाट मात्र नभई स्थानीय तहदेखि नै नेता तथा कार्यकर्ताबीच सैद्धान्तिक सहमति र बलियो वैचारिक आधार निर्माण गरेर हुनुपर्ने बताउनुभएको छ । 
महासचिव पोखरेलले कम्युनिष्ट पार्टीहरूबीच वास्तविक र वस्तुनिष्ठ एकताका लागि सैद्धान्तिक सहमति र बलियो वैचारिक आधार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । 
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरूसँग आपसी शुभकामना आदानप्रदानसँगै नेपाली कम्युनिस्ट आन्दोलनको संरक्षण र कम्युनिस्ट शक्तिहरूबीचको एकताका विषयमा समेत छलफल भएको छ ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज रामबाबु अधिकारीले नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा र सुदृढीकरणका लागि सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभयो ।
यसैगरी, नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं लमजुङ जिल्ला इन्चार्ज जमिन्द्रमान घलेले स्थानीय स्तरमा नेता तथा कार्यकर्ताहरूको चाहना र मागअनुसार जिल्लामा कम्युनिस्ट शक्तिहरूबीच समन्वय, सहकार्य र एकताका लागि पहल भइरहेको बताउनुभयो ।

हामीसँग जोडिनुहोस्