एमाले आज

नेपालको परराष्ट्र नीति स्वतन्त्र, सन्तुलित र राष्ट्रिय हितमा आधारित हुनुपर्नेः नेता ज्ञवाली

सेयर गर्नुहोस्

-बदलिँदो विश्व भूराजनीतिक परिस्थितिमा कुनै पनि शक्तिराष्ट्रको प्रभावमा नपरी नेपालले आफ्नो स्वतन्त्र परराष्ट्र नीति कायम राख्नुपर्ने

-नेपाल र चीनबीच भएका कतिपय सम्झौता कार्यान्वयन हुन नसक्दा विकास निर्माणका काम प्रभावित भए

-भारत र चीन दुवै छिमेकी मुलुकसँग कनेक्टिभिटीका क्षेत्रमा सहकार्यबाट नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने

१६ कात्तिक (२०८३), काठमाडौं ।  नेकपा (एमाले)का परराष्ट्र मामिला विभाग प्रमुख प्रदीप ज्ञवालीले नेपालको परराष्ट्र नीति स्वतन्त्र, सन्तुलित र राष्ट्रिय हितमा आधारित हुनुपर्ने बताउनुभएको छ । पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले बदलिँदो विश्व भूराजनीतिक परिस्थितिमा कुनै पनि शक्तिराष्ट्रको प्रभावमा नपरी नेपालले आफ्नो स्वतन्त्र परराष्ट्र नीति कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

सोमबार काठमाडौँमा आयोजित ‘चीनको शासन सञ्चालनका प्राथमिकता र नेपाल–चीन सम्बन्धमा त्यसको प्रभाव’ विषयक गोष्ठीमा बोल्दै नेता ज्ञवालीले नेपालको भौगोलिक तथा भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर सन्तुलित परराष्ट्र नीति अपनाउनुपर्ने धारणा राख्नुभयो ।

चीनको कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकसम्बन्धी गोष्ठीमा उहाँले चीनले विश्व राजनीतिमा आफ्नो प्रभाव र भूमिका विस्तार गर्ने पृष्ठभूमि तयार गरिसकेको उल्लेख गर्दै त्यसलाई कसैले पनि नजरअन्दाज गर्न नसक्ने बताउनुभयो । नेपालले चीनबाट धेरै कुरा सिक्न सक्ने उहाँको भनाइ थियो ।

नेता ज्ञवालीले गौतम बुद्धको शान्ति र सहअस्तित्वको मार्गले समेत नेपालको परराष्ट्र नीतिलाई प्रभावित पारेको धारणा राख्नुभयो । अहिले नेपालले कस्तो सन्तुलित परराष्ट्र नीति अपनाइरहेको छ भन्ने कुरा सबैसामु स्पष्ट रहेको भन्दै उहाँले सन्तुलित नीति नहुँदा मुलुकले गम्भीर चुनौती सामना गर्नुपर्ने भन्दै चिन्ता प्रकट गर्नुभयो ।

नेपाल र चीनबीच भएका कतिपय सम्झौता कार्यान्वयन हुन नसक्दा विकास निर्माणका काम प्रभावित भएको पनि उहाँले बताउनुभयो । भारत र चीन दुवै छिमेकी मुलुकसँग कनेक्टिभिटीका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिँदै नेता ज्ञवालीले यसबाट नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

विश्वमा बढ्दै गएको द्वन्द्वले विभिन्न क्षेत्रमा चुनौती थपिरहेको उल्लेख गर्दै उहाँले गरिबी न्यूनीकरण र विकासमा चीनले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सत्ताधारी पार्टीको छवि स्वच्छ र विश्वसनीय भए विकासका कामलाई प्रभावकारी रूपमा अघि बढाउन सहज हुने नेता ज्ञवालीको भनाइ थियो । फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल–चाइना फ्रेन्डसीप फोरमले संयुक्त रूपमा गोष्ठी आयोजना गरेका हुन् । 

हामीसँग जोडिनुहोस्