१६ कात्तिक (२०८३), काठमाडौं । नेकपा (एमाले)को आगामी मङ्सिर २ र ३ गते हुने राष्ट्रिय भेलालाई भव्यरूपमा सम्पन्न गर्न आवश्यक तयारीको काम जारी रहेको छ ।
यस क्रममा आज नेकपा (एमाले) का सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकले प्रदेशस्तरमा सम्पर्क र समन्वय गर्ने गरी व्यवस्थापन टिम बनाएको छ ।
बैठकले कोशी प्रदेशमा समन्वय गर्न केन्द्रीय कमिटीका सदस्यहरु सुनिता बराल, क्षितिज थेवे र मनोज ताम्लीलाई जिम्मा दिएको छ भने मधेश प्रदेशको समन्वय केन्द्रीय सदस्य विशाल भट्टराई, नरेन्द्र न्यौपाने र समिमबाबु खानले गर्नुहुने छ ।
त्यसैगरी बाग्मती प्रदेशमा केन्द्रीय सदस्य समीक बडाल, महाराज गुरुङ र रमेश आचार्यले गर्नुहुने छ भने राजधानी प्रदेशको जिम्मेवारी केन्द्रीय सदस्य भोला पोखरेल, सञ्जिव धिताल र सुदर्शन सिवाकोटीको रहेको छ ।
गण्डकी प्रदेशमा केन्द्रीय सदस्य रश्मी आचार्य, विनिता काफ्ले र रामजी सापकोटा, लुम्बिनी प्रदेशमा केन्द्रीय सदस्य धर्म गिरी, सुमन पुरी र संगम अर्यालले समन्वय गर्नुहुने छ । त्यसैगरी, बैठकले कर्णाली प्रदेशमा समन्वयको जिम्मेवारी केन्द्रीय सदस्यद्वय निरज आचार्य, नारायण घर्ती र वीरेन्द्र रावल तथा सुदूरपश्चिम प्रदेशमा केन्द्रीय सदस्य गोविन्द गिरी, मोती विक र दीपक धामीलाई दिएको छ ।
राष्ट्रिय भेलामा केन्द्रीय कमिटीदेखि पार्टीको पालिका कमिटीसम्म र संघीय संसददेखि पालिका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षसम्मका जनप्रतिनिधि गरी तीनहजारभन्दा बढीको सहभागिता हुने छ । राष्ट्रिय भेलामा सहभागिताका लागि जिल्लामा समन्वय गर्न पार्टीका जिल्ला अध्यक्ष लागि तोकिएको छ भने त्यसको अनुगमन गर्न प्रदेश अध्यक्षलाई जिम्मेवारी तोकेर पार्टीकेन्द्रबाट परिपत्रमार्फत निर्देशन भइसकेको छ ।
