एमाले आज

एमालेको पहिलो कामः गुमेको जनमत फर्काउन जनतामा पुगौँ 

सेयर गर्नुहोस्

काठमाडौं । स्थानीय तहमा जनतासँग प्रत्यक्ष सम्बन्धमा पकड रहेको नेकपा (एमाले) आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित भएको छ । तेस्रो केन्द्रीय कमिटी बैठकले पारित गरेको दुई कार्यभार अन्तर्गतका १५ कामलाई पूरा गर्ने उद्देश्यसहित बिहीबार बसेको पहिलो स्थायी कमिटी बैठकले स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रम अघि सारेको छ ।
निर्वाचन आयोगले फागुनको अन्तिम साता वा चैतको पहिलो साता स्थानीय तहको चुनावको तयारी तीब्र पारिरहेको छ । एमालेले मङ्सिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका कमिटीको अधिवेशन मिति तय गरेको छ । मुलुकलाई सुरक्षित राख्न र लोकतन्त्र वापसीका लागि एमाले सबल र सुदृढ बन्नका लागि पार्टी स्थानीय तहको निर्वाचन केन्द्रित भएको छ । 
स्थानीय चुनावको आधारभूत जरा मानिने वडा र पालिका तहको अधिवेशनद्वारा नेतृत्व पुनर्गठनसँगै प्रदेश–जिल्ला नेतृत्व तथा जनप्रतिनिधिलाई राष्ट्रिय भेलामा जोडेर संगठन चलायमान बनाउने उद्देश्य एमालेले राखेको छ । 
तल्लो तहलाई चलायमान बनाउन मङ्सिर पहिलो साता प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने गरी राष्ट्रिय भेलाको आयोजना गरिएको छ  ।
तल्लो तहमा सांगठनिक सञ्जालको पकड रहेको एमालेले यसअघिका स्थानीय तहको चुनावमा नतिजा राम्रो निकाल्दै आएको छ । पछिल्लो पटक पार्टी र आन्दोलन सामु उत्पन्न सङ्कट र चुनौतीलाई सामना गर्दै पार्टीलाई पुनजागृत गर्नका  लागि पार्टीले यसअघि जागरण अभियान जारी राखेको थियो । २०७९ बैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा एमालेले ७५३ मध्ये २०७ वटा स्थानीय तहका प्रमुख÷अध्यक्ष र २४३ तहका उपप्रमुख÷उपाध्यक्ष पदमा जित निकालेको थियो ।
अहिले पार्टीको पहिलो काम सत्यलाई जनतासम्म पुर्याउनु हो ।  सत्यलाई बोकेर जनताको घरदैलोमा जानुपर्छ । गत वर्षको भदौका घटनाको सत्य, लोकतान्त्रिक प्रक्रियामा परेको चोटको सत्य, चुनावी वातावरणको सत्य, पार्टीमाथि लगाइएका आरोपहरूको तथ्य, आफ्नै कमजोरीको स्वीकारोक्ति र आगामी सुधारको सङ्कल्प  सबै कुरा स्पष्ट भाषामा जनतासम्म पुर्याउनु  अनिवार्य छ ।
यी सबै कामहरु प्रत्येक वडामा घरदैलो र खुला छलफल हुनुपर्छ । प्रत्येक जनवर्गीय संगठनले आफ्नो क्षेत्रका मुद्दामा तथ्य र समाधानसहित जनतासँग बस्नुपर्छ । हाम्रो सत्य भाषणमा होइन, प्रत्यक्ष संवादमा पुग्नुपर्छ । पछिल्लो समय  राष्ट्रका समस्या र जनजीविकाका सवाल र आवाज निकै कमजोर देखिएका छन् । जनताले प्रकट गरेको जनमत बमोजिम जनताको समस्यामा केन्द्रित प्रतिपक्ष बन्ने हो । प्रतिपक्ष केवल संसदमा बोल्ने संस्था होइन । प्रतिपक्ष जनताको असन्तोषलाई नीति, प्रश्न र सङ्घर्षमा बदल्ने राजनीतिक शक्ति हो ।
चाडपर्व नजिकिएको छ । महँगी, बेरोजगारी, किसानको मूल्य, मजदुरको श्रम, साना उद्यमीको कर, विद्यार्थीको भविष्य, शिक्षकको कक्षा, स्वास्थ्य खर्च, महिला सुरक्षा, सुकुम्बासीको आवास, सीमावर्ती नागरिकको सम्मान, प्रवासी नेपालीको पीडा, यी सबै एमालेको दैनिक राजनीति बन्नुपर्छ ।
संगठनलाई नतिजामुखी बनाउन पार्टीको शक्ति सदस्य सङ्ख्या मात्र होइन । सदस्य सक्रिय छन् कि छैनन्, जनतासँग जोडिएका छन् कि छैनन्, समस्या समाधानमा छन् कि छैनन्, यही मुख्य कुरा हो । यि सबै कार्यको कडाइका साथ पालना र कार्यान्वयन वडा तहबाटै लागू हुन जरुरी छ । 
पार्टीले गुमाएको जनमत फर्काउन जनतामा अनिवार्य जाऔँ,  जनताका कुरा प्रत्यक्ष सुनौँ र जनताबीच, लोकप्रिय बनौँ, जनसंगठन परिचालन गरौँ, जबज (जनताको बहुदलीय जनवाद)लाई अध्ययन र आत्मसात गरौँ र जनमत सर्वेक्षण समेतका आधारमा हरेक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्नसक्ने योग्य र सक्षम नेतृत्व तयार गरौँ । यही मान्यतालाई बोकेर वडा तहको जरासम्म पुगेर गुमेको मत फर्काउन आउँदै गरेको चाडपर्वमा पार्टीको अभियान जनतामा जोडौं ।

 

हामीसँग जोडिनुहोस्