एमाले आज

  एमाले भन्छ–उद्धार, राहत तथा पुनःस्थापनाका लागि एमालेका पाँचसय कार्यकर्ता फिल्डमा

सेयर गर्नुहोस्

काठमाडौं । नेकपा (एमाले)ले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनःस्थापनाका लागि बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति गठन गरी जनसंगठनका पाँचसय स्वयंसेवक परिचालन गरेको छ । 
प्रभावित क्षेत्रका नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका कार्यलाई तीब्रता दिन एमालेले एक करोड बीस लाख रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरेको छ । सहयोग समिति पार्टी सचिव  तथा बाग्मती प्रदेश ईन्चार्ज महेश बस्नेतको संयोजकत्वमा गठन गरिएको हो ।
रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा बाढी पीडितहरुलाई सहयोग गर्न पार्टीले कार्य विभाजन गरी जिम्मेवारी बाँडफाँट समेत गरेको छ ।
कार्यविभाजनः
रसुवा जिल्ला–संयोजकः विनोद श्रेष्ठ 
( परिचालनः जिफन्ट, युवा सङ्घ, अनेरास्ववियु, जनजाति महासङ्घ, पार्टीको रसुवा जिल्ला कमिटी, गणेश पाण्डे तथा भक्तकुमारी लामा लगायतको टोली परिचालन गरी उद्धार तथा राहत कार्यमा खटिरहेको छ ।
नुवाकोट जिल्ला– संयोजकः रूपनारायण श्रेष्ठ 
परिचालनः युथ भोलेन्टियर्स फोर्स, खेलकुद महासङ्घ, पार्टीको नुवाकोट जिल्ला कमिटी, गणेश बस्नेत, देवराज राई तथा विष्णु तारुके लगायतको टोली उद्धार तथा राहत कार्यमा खटिरहेको छ ।
धादिङ र चितवन जिल्ला–संयोजकः रमेश आचार्य
परिचालनः भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन, अखिल नेपाल महिला सङ्घ, रिटर्नी फेडेरेसन, सम्बन्धित जिल्ला कमिटी तथा बाग्मती प्रदेशका जनसङ्गठन संयन्त्र समेतको टोली उद्धार तथा राहत कार्यमा खटिरहेको छ ।
केन्द्रीय जिम्मेवारी संयोजनः
–सङ्घीय सरकारसँग समन्वयः पार्टी सचिव डा. राजन भट्टराई 
–प्रचारप्रसार संयोजनः निरज आचार्य 
–आर्थिक व्यवस्थापन संयोजनः डा. भीष्म अधिकारी 
–स्वयंसेवक परिचालनः विनोद श्रेष्ठ 
–कार्यालय व्यवस्थापन संयोजनः नारायण सिलवाल 
–राहत सङ्कलन संयोजनः कैलाश ढुङ्गेल
कार्ययोजना 
–प्रभावित क्षेत्रमा तत्काल आवश्यकताको पहिचान गरी राहत सामग्री सङ्कलन, ढुवानी, वितरण र पीडित परिवारको पुनर्स्थापनाका लागि सरकारी निकाय, स्थानीय तह तथा पार्टीका सबै तहका कमिटीहरूसँग समन्वयका साथ काम अघि बढिरहेको छ । 
–प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिहरू र प्रदेशसभा सदस्यहरू सम्बन्धित जिल्लाको आवश्यकताअनुसार प्रत्यक्ष रूपमा राहत र उद्धार कार्यमा जोडिएर काममा खटिनुभएको छ ।
–विपद्मा परेका नागरिकको जीवनरक्षा र राहतलाई पहिलो प्राथमिकतामा राख्दै रसुवा‚ नुवाकोट र धादिङतर्फ राहत सामग्रीसहित नेकपा (एमाले)को केन्द्रीय उद्धार तथा राहत टोली प्रस्थान गरिसकेको छ । 
विपद्को यस कठिन घडीमा सम्पूर्ण पार्टीपङ्क्ति, जनसङ्गठन, जनप्रतिनिधि, नागरिक समाज तथा सहयोगी हातहरूलाई उद्धार र राहत अभियानमा एकजुट भई जुट्न नेकपा (एमाले)ले आह्वान समेत गरेको छ ।
 

 

हामीसँग जोडिनुहोस्