१८ भदौ (२०८३), काठमाडौं । नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको प्रथम बैठक भोटेकोशी÷ त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापनामा महासंघको टोली पठाउने निर्णय गर्दै बुधबार सम्पन्न भएको छ ।
नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको उपस्थितिमा महासंघका अध्यक्ष दीपेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले पार्टीले गठन गरेको उद्धार, राहत तथा पुनर्स्थापना समिति अन्तर्गत रहेर नुवाकोटमा टोली परिचालन गरी उद्धार, राहत तथा पुनर्स्थापनाको कार्यमा प्रभावकारी रूपमा सहभागी हुने निर्णय गरेको छ ।
नुवाकोटमा उद्धार, राहत र पुनर्स्थापनाको काममा परिचालन हुने टोली आज त्यसतर्फ जाने महासंघका अध्यक्ष दाहालले बताउनुभयो ।
बैठकमा महासंघका पदाधिकारी, स्थायी कमिटी सदस्य, प्रदेश कमिटी अध्यक्ष, सचिवालय सदस्य, केन्द्रीय कमिटी सदस्य, विभिन्न खेल संघका अध्यक्ष तथा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।
बैठकमा बाढीबाट प्रभावित नागरिकलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने, आवश्यक सहयोग सामग्री सङ्कलन गर्ने तथा प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गरी पुनर्स्थापनाका काममा सहयोग गर्ने विषयमा विस्तृत छलफल भएको थियो ।
बैठकले महासंघको प्रथम पदाधिकारी बैठकबाट यसअघि गरिएका निर्णयहरूलाई अनुमोदन गरेको छ ।
बैठकमा नेकपा (एमाले)का सचिव विश्वकर्माले बाढी प्रभावित क्षेत्रमा खटिने टोलीलाई उच्च संवेदनशीलता, मानवीय भावना र अनुशासनका साथ उद्धार तथा राहत कार्यमा जुट्न निर्देशन दिनुभयो ।
उहाँले विपद्को समयमा राजनीतिक तथा सामाजिक जिम्मेवारीलाई व्यवहारमै देखाउनुपर्ने भन्दै प्रभावित नागरिकको दुःखमा साथ दिन सबैलाई आह्वान गर्नुभयो ।
बैठकले बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुर्याउँदै आगामी दिनमा पुनर्स्थापनाका कार्यमा समेत सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
बैठकमा महासंघका अध्यक्ष दाहालले खेलकुद क्षेत्रलाई सामाजिक सेवासँग जोड्दै विपद्का समयमा राष्ट्रिय जिम्मेवारी पूरा गर्नेपर्नेमा जोड दिनुभयो । महासंघका महासचिव धरम लामाले सञ्चालन गर्नुभएको बैठकमा महासंघका उपाध्यक्ष धर्मकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नु गर्नुभएको थियो ।
