६ भदौ (२०८३), विराटनगर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र गुटबन्दी र विवाद नरहेको बताउँदै पार्टी एकताबद्ध रुपमा अगाडि बढ्ने बताउनुभएको छ ।
नेकपा (एमाले) विराटनगर महानगर कमिटीले आयोजना गरेको ‘मुलुकको राष्ट्रिय राजनीति र अबको कार्यदिशा’ विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सचिवालयले गरेको पार्टी पुनर्गठनको निर्णयलाई कार्यान्वयन गरिने बताउनुभयो ।
अहिलेको राजनीतिमा पपुलिजम, अनार्किजम र अपर्चुनिजम हाबी भएको र यो लामो समय नटिक्ने बताउँदै महासचिव पोखरेलले यसले समाजमा घृणा र अविश्वास मात्र पैदा गर्ने धारणाा राख्नुभयो ।
उहाँले प्रधानमन्त्री बालेन शाह र रास्वपा जस्ता शक्तिहरूले जनतामा भ्रम छरेर छिटो परिणाम खोज्न खोजेको तर उनीहरूको पतन पनि उत्तिकै छिटो हुने आफ्नो विश्लेषण सुनाउनुभयो ।
महासचिव पोखरेलले नेपालको बामपन्थी आन्दोलन पछिल्लो समय रक्षात्मक अवस्थामा पुग्नुको गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो । कुनै समय ६० प्रतिशतसम्म जनमत रहेको बामपन्थी शक्ति अहिले २२–२३ प्रतिशतमा खुम्चिनु चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।
नेकपा (एमाले)ले नाकाबन्दीको सामना गरेको, नयाँ नक्सा जारी गरेको र ठुला पूर्वाधारका कामहरू गरेको भए पनि जनताको मन पढ्न नसकेका कारणा चुनावी परिणाम सोचेजस्तो नआएको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा आउने फेक न्युज र भाइरल कन्टेन्टले हाम्रो योगदानलाई ओझेलमा पारेको विश्लेषण महासचिव पोखरेलले सुनाउनुभयो ।
महासचिव पोखरेलले जनतासँगको सम्बन्ध औपचारिक मात्र भएको बताउँदै पार्टीका नेताकार्यकर्ताको कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले पार्टीमा ‘जेन–जी’ पुस्तालाई जोड्न नसकिएको यथार्थ स्वीकार गर्दै कम्तीमा ३३ प्रतिशत युवालाई कमिटीमा प्रतिनिधित्व गराएर पार्टीमा जोड्नुपर्नेमा जोड दिनुभयो ।
महासचिव पोखरेलले २०८४ मा हुने स्थानीय तह र प्रदेश सभाको निर्वाचनमा एमालेलाई पहिलो शक्तिका रूपमा स्थापित गर्न छ बुँदे कार्यदिशा अघि सार्दै पुनर्जागरण अभियान सुरु गरिएको बताउँदै अब घरदैलो र टोल–टोलमा पुगेर जनतासँग जोडिने, आफ्ना कुरा सुनाउनुअघि जनताको गुनासो र सुझाव सुन्ने, संवादका माध्यमबाट जनताको विश्वास जित्ने, पार्टीमा रहेका इमानदार तर रुष्ट कार्यकर्तालाई फकाउने र जिम्मेवारी दिने, टोलदेखि प्रदेशसम्मका कमिटीहरूलाई सक्रिय र उत्तरदायी बनाउने, जनसंगठनहरूलाई सक्रिय बनाउने काममा पार्टी लाग्नुपर्नेमा जोड दिनुभयो ।
‘मिसन पार्टी जागरण’ अभियानलाई गम्भीरताका साथ लिन आग्रह गर्दै महासचिव पोखरेलले भन्नुभयो– हारले हामी समाप्त भएका होइनौँ, पराजित सिपाहीको मनोबल उच्च बनाएर फेरि विजयी बन्ने सङ्कल्पका साथ अघि बढ्नुपर्छ ।अबको लडाइँ सडकबाट सरकार बदल्ने होइन, जनताको मन जितेर बहुमतको सरकार बनाउने हुनुपर्छ ।
हामी अहिले नेतृत्व परिवर्तनको पक्षमा छैनौं
यसैगरी, विराटनगरमा प्रेस चौतारी नेपाल मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अहिले आफूहरु पार्टीलाई पुरानै अवस्थामा फर्काउन पुनर्संरचना र पुनर्गठनको प्रक्रियामा रहेको बताउँदै अहिले आफूहरु नेतृत्व परिवर्तनको पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ । महासचिव पोखरेलले पार्टी नेतृत्व परिवर्तन सामाजिक सञ्जालको बहस, सार्वजनिक टिकाटिप्पणी वा बाहिरी छलफलबाट नहुने बताउनुभयो ।
पार्टीमा रूपान्तरण आवश्यक रहेको स्वीकार गर्दै उहाँले जनतासँगको सम्बन्ध पुनः जोड्न र कार्यकर्ताको मनोबल बढाउन पार्टीभित्र छलफल भइरहेको तथा यसका लागि कार्यदल गठन गरिएको बताउनुभयो ।
महासचिव पोखरेलले लोकतन्त्र र संविधानको रक्षाका निम्ति संसद्भित्र तथा बाहिर रहेका संविधान निर्माता दलहरूसँग सहकार्यको प्रयास भइरहेको बताउनुभयो ।
प्रधानमन्त्री बालने साहको स्वेच्छाचारी र अधिनायकवादी कार्यशैलीलाई रोकी लोकतन्त्रलाई सही मार्गमा ल्याउन राष्ट्रपतिसँग पनि संवाद गरिने उहाँले बताउनुभयो । प्रधानमन्त्री साहले संसदीय लोकतन्त्रका आधारभूत स्तम्भहरूको उपेक्षा गरेको र संसद्प्रति उत्तरदायी नबनेको महासचिव पोखरेलको आरोप छ ।
एमाले एकताबद्धरुपमा अगाडि बढ्ने छः महासचिव पोखरेल
सेयर गर्नुहोस्
