एमाले आज

पार्टीमा अराजकता र मनपरितन्त्र चल्दैनः अध्यक्ष ओली

सेयर गर्नुहोस्

-अध्यक्ष हटाउने प्रयास हुनु दुर्भाग्यपूर्ण
-नागरिकले सहज र सुविधाजनक जीवन बाँच्न पाउनुपर्छ
-वर्तमान सरकारबाट देश सञ्चालन हुन सक्दैन 


३० साउन (२०८३), इलाम । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालेन शाह नेतृत्वको वर्तमान सरकारबाट देश सञ्चालन हुन नसक्ने बताउनुभएको छ । 
इलामको फिक्कलमा आजदेखि शुरु भएको लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दुईदिने बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । 
सरकारले देश र जनताको हितमा काम गर्न नसकेको बताउँदै नागरिकले सहज र सुविधाजनक जीवन बाँच्न पाउनुपर्ने धारणा उहाँले राख्नुभयो  । सरकारका कामको चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– जान्नेलाई छान्ने भन्यो, भएका जान्नेहरू सबै निकाल्यो अनि आफ्नालाई नियुक्ति गर्यो ।
सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले छानिछानी मुद्दा लगाउने उद्देश्य राखेको आरोप लगाउँदै आफूहरूमाथि मात्रै लक्षित गरेर छानबिन गर्न खोजिएको उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– उनीहरूलाई मुद्दा नै नलाग्ने कानुन बनाएको छ । आफ्ना नातागोतालाई पनि मुद्दा नलाग्ने ! १९० तोला सुनको पनि खोजबिन गर्न नपाइने ! हाम्रो चाहिँ यो लगाएको कपडा कुन पैसाले किनेको छ भनेर सोध्ने ? यो स्टकोट कहाँबाट आयो ? कुन टेलरले सिलाएको ? धागो कहाँबाट ल्याइयो ? मेसिनले सिलाइसक्यो कि हातले सिलाइसक्यो ? भनेर खोज्ने !
अध्यक्ष ओलीले सुनसरीमा सरकारले नै साम्प्रदायिक विद्वेष र हिंसा भड्काएको बताउनुभयो । आफ्ना कार्यकर्ता भेला गरेर विवाद सिर्जना गर्ने र पछि सम्झौता गरेर आन्दोलन साम्य पार्ने काम सरकारबाटै भएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्तिप्रति उहाँले आपत्ति जनाउनुभयो । 

नेपाललाई समृद्ध बनाउने नीति एमालेको रहेको दोहोर्याउँदै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएका बेला गरिबी घटेको र चरम गरिबी अन्त्य गर्ने दिशामा काम भएको स्मरण गर्नुभयो । 
उहाँले भन्नुभयो– हामी विचलित हुनुपर्ने कुनै आवश्यकता छैन । यो देश तपाईं–हाम्रो हो । तपाईं–हामीले यो देशको माया गर्नुपर्छ, यो देश बनाउनुपर्छ ।
अध्यक्ष ओलीले सरकारले प्रतिशोधका आधारमा आफू, रमेश लेखक लगायतका नेताहरूलाई पक्राउ गरेको बताउनुभयो । सरकारले प्रतिबन्ध लगाउने, नेताहरूलाई गिरफ्तार गर्ने र झुटा मुद्दा लगाउने प्रयास गरेको उहाँले बताउनुभयो । 
यतिबेला पार्टी अफ्ठ्यारो परिस्थिति र चुनौतीहरुको सामना गर्दै अगाडि बढ्नुपरेको बताउँदै अध्यक्ष ओलीले यस्तो बेला आफूले नेतृत्व नछाड्ने स्पष्ट पार्नुभयो ।  
आफूलाई हटाउने भन्दै हस्ताक्षर अभियान सञ्चालन गर्ने र पार्टी कार्यालयमै बसेर नेतृत्व परिवर्तनको चर्चा गर्नेहरूप्रति उहाँले आक्रोश व्यक्त गर्नुभयो ।
‘अहिले अलिकति अनुशासनहीनता देखापरेको छ । पार्टी कार्यालयको क्यान्टिनमा बसेर केहीले अध्यक्षलाई हटाउने हल्ला चलाएका छन्, कसले हटाउने ? के मजाक हो यो ? यस्तो अराजकता हुन्छ ? कोही हस्ताक्षर गर्दै हिँडेका छन्’ अध्यक्ष ओलीले ओलीले भन्नुभयो ।
पार्टीमा अराजकता र मनपरितन्त्र नचल्ने उहाँले बताउनुभयो । पार्टीमा रहेर सामाजिक सञ्जालमार्फत अनुशासनहीन गतिविधि गर्ने छुट कसैलाई नभएको बताउँदै अध्यक्ष ओलीले पार्टीमा बस्ने हो भने विधि, नीति, नियम र अनुशासन पालना गर्नुपर्ने बताउनुभयो । 
उहाँले भन्नुभयो– पार्टीको विरोध गरेर हिँड्ने, सामाजिक सञ्जालमा जे पायो त्यही लेख्ने कुरा हुँदैन । पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ । 
अध्यक्ष ओलीले बाह्य राजनीतिक शक्तिको प्रहार सामना गर्नुपर्ने समयमा पार्टीभित्रैबाट अध्यक्ष हटाउने प्रयास हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । आफू कार्यकर्ताको अत्यधिक मतबाट अर्को महाधिवेशनसम्मका लागि नेतृत्वमा निर्वाचित भएको उहाँले सुनाउनुभयो । 
‘विरोधीले तीब्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइरहेको छ । त्यो प्रहारलाई एकताबद्ध पार्टीले सामना गर्नुपर्ने बेलामा अध्यक्ष हटाउँछौँ भनिएको छ, यो केही हुनेवाला छैन’, अध्यक्ष ओलीले भन्नुभयो ।
आगामी केन्द्रीय कमिटी बैठकपछि पार्टीलाई थप अनुशासित र एकताबद्ध बनाएर अघि बढाउने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले पार्टीको विधान र विधिविपरीत गतिविधिमा संलग्न हुनेहरूमाथि संगठनात्मक कारबाही गरिने बताउनुभयो । 
सम्बोधन क्रममा संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकारको सवालमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो–  आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनका लागि एमाले सधैँ प्रतिबद्ध छ ।
सबैको सहअस्तित्वलाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 
एमालेले विगतदेखि समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको वकालत गर्दै आएको स्मरण गराउँदै अध्यक्ष ओलीले विभिन्न जातजातिका नाममा विभाजन र द्वन्द्व सिर्जना गर्नेभन्दा सबै समुदायलाई सहअस्तित्वका आधारमा अधिकार र अवसर प्रदान गर्दै राष्ट्रिय हितमा लाग्नुपर्ने बताउनुभयो । 
लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा बसेको बैठकको उद्घाटन सत्रमा पार्टीका सचिवहरु भानुभक्त ढकाल, शेरधन राई, केन्द्रीय सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक विशाल भट्टराई, केन्द्रीय सदस्यहरु सुजिता शाक्य, निरु पाल, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायत नेताहरुको अतिथिका रुपमा उपस्थिति रहेको थियो ।  
बैठकमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको साङ्गठनिक अवस्था, आगामी कार्ययोजना, आदिवासी जनजातिको सवाल एवं समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

हामीसँग जोडिनुहोस्